लावण्य/साँखु । साँखु सडक विस्तार पिडित संघर्ष समितिले एक पे्रस विज्ञप्ती जारी गरी सरोकारवालाहरुसँग सम्पर्क नै नगरी सडक विस्तार गर्ने विषयमा सरोकार समिति बनाइएकोमा विरोध गरेको छ ।
यस अघि यही भाद्र २० गते एलपी श्रेष्ठको संयोजकत्वमा शंखरापुर पोलिटेक्निक इन्स्टिच्यूट गेटदेखि साँखुको पुरानो बसपार्क भौध्वाखासम्मको सडक विस्तार गर्नको लागि समन्वय समिति गठन गरेको थियो ।
संघर्ष समितिका एक सदस्यका अनुसार नगर परिषद्बाट उचित मूआब्जाका लागि सम्बन्धित निकायमा माग गर्ने निर्णय भएको छ । तर सो निर्णय अनुसार नगरपालिकाले लिखितरुपमा निर्णय गरी माग गर्नुपर्ने कार्य भने अहिलेसम्म भएको छैन ।
संघर्ष समितिको विज्ञप्ती यस्तो रहेको छ–
मिति २०७७।०५।२२ गतेको साप्ताहिक लावण्य सन्देशमा शंखरापुर नगरपालिकाको वडा नं. ६ स्थित शंखरापुर पोलिटेक्निक ईन्स्टिच्यूट देखि साँखुको पुरानो बसपार्क सम्मको सडक विस्तार गर्ने प्रयोजनार्थ सरोकारवालाहरुको भेलाले लक्ष्मी प्रसाद श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सरोकार समिति गठन भई सो समितिले उक्त सडक खण्ड विस्तार गर्न समन्वय गर्ने समाचार प्रकाशित भएको हुँदा यस साँखु सडक विस्तार पीडित संघर्ष समितिको ध्यानाकर्षण भएको छ ।
निश्चित रुपमा यस संघर्ष समिति विकास विरोधी होईन । कानुनी प्रक्रिया पूरा गरी न्यायोचित विकासलाई यस समिति हर हमेसा स्विकार गर्दछ । विधिको शासन कानुनको सर्वोच्चता र अदालतको आदेश पालना गर्नु हरेक नागरिक तथा संघ–संस्था एवं सरोकारवालाहरुको कर्तव्य हो ।
जहाँसम्म सडक विस्तार गर्न समन्वय गर्न भनी प्रकाशन भएको समाचारमा उल्लेखित क्षेत्रका जग्गा तथा घरधनीले सर्वोच्च अदालतमा निवेदन गरी सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासबाट मिति २०७४।०६।०२ रोज २ मा उक्त घर जग्गा धनिहरुलाई उचित मूआब्जा दिई कानुनी प्रक्रिया पूरा गरी सडक विस्तार गर्नु भनि आदेश जारी भएको छ र सोही बमोजिम २०७४÷०७५ को शंखरापुर नगरपालिकाको नगर परिषद्को निर्णय नं. ३८ मा घर र जग्गाको उचित मूआब्जा दिएर सडक निर्माण गर्न सम्बन्धित निकायमा माग गर्ने निर्णय भएको छ ।
सम्बन्धित घर र जग्गाधनि तथा वडा प्रतिनिधि बिना गठन गरिएको कथित सरोकार समितिले उक्त सडक खण्डको घर र जग्गाधनीहरुले नेपालको संविधान, ऐन कानुन तथा सर्वोच्च अदालतको आदेशले प्राप्त भएको उपलब्धि माथि बन्देज गर्ने कुनै पनि काम कार्वाही गरेमा यस समितिलाई स्विकार हुने छैन । साथै उक्त उपलब्धिलाई संरक्षण गर्न कठोर कदम उठाउन यस संघर्ष समिति तयार रहेको ब्यहोरा यसै विज्ञप्ती मार्फत् जानकारी गराईन्छ ।
हरिराम श्रेष्ठ
अध्यक्ष

0 Comments
Thanks for your concerns