गाई गोरु फालेको विषयमा गृहले छानवीन समिति बनायो


लावण्य÷साँखु । नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा भदौ १४ गते चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ ।
समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ । गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।
दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोला र कटुकुवामा गरि ३४ वटा गाईगोरु मृत भेटिए । १४४ वटा त्यही छाडिएका थिए । अलपत्र गाईहरुलाई पुनः नेपालगञ्ज फिर्ता पठाइएको थियो ।
गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाई मारेर राप्रपाले पाखण्ड देखायोः बाबुराम
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गर्नुभएको छ ।
समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भन्नुभयो, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड !’
पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको उहाँको कथन थियो । ‘सत्तरी वर्षभन्दा पुरानो कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ’ उनले भने, ‘त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’
‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’
उहाँले २१औं शताब्दीको विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पाटी विकल्पका रुपमा आएको दाबी गर्नुभयो ।
समाजवादी पार्टीको प्रदेश ३ नेतृत्वमा सोनामसिं स्याङ्तान छानिएका छन् भने मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् । यसैगरी नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्य, ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घ्लान र मुख्यसचिवमा वीरबहादुर तामाङ चयन भएका छन् ।
त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पा चयन भएका छन् । शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव चयन भएका छन् भने समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।

Post a Comment

0 Comments