कृष्ण सायमी
देशमा नेकपा (नेकपा)को दुई तिहाईको सरकार आएपछि शोषित पीडित बेरोजगार सबै जनताहरु ले नारायण गोपालले गाउनुभएको पुरानो गीत “पर्खिबसेँ तिमी आउला भनी मेरो उठ्ने पालो” भनेजस्तै नेकपाको सरकारमा सबै जनताहरुको समानरुपमा उठ्ने पालो आउला भनी कति आशा र भरोसा गरेको थियो तर त्यसको ठीक विपरित भ्रष्टाचारी शोषक दलाल पूँजीपति एवं घुसखोरियाहरुको मात्र पो पालो आएकोले जनता निरास हुनु स्वाभाविकै हो ।
३३ किलो सुनकाण्ड, वाइडबडी काण्ड, एनसेल कर काण्ड, ठेकेदारहरुले कामै नगरिकन योजना अलपत्र पारेको काण्ड यस्तै यस्तै काण्डले भ्रष्ट फटाहाहरु मोटाउँदै गएका छन् । सर्वसाधारणलाई रासनको जोहो गर्न धौ धौ भइरहेतापनि दुई तिहाई सरकारको भाषण सुनेर चित्त बुझाउनु परिरहेको छ ।यस्तै बेथितिको आवाज उठाउन खोज्नेहरुलाई जाली फटाहाहरुले अनेक षडयन्त्र रचेर मुख थुन्ने कोशिस गरिरहेका छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या काण्डमा न्यूज २४ का “सिधा कुरा जनतासँग” कार्यक्रमका वरिष्ठ पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की (रुकु) लाई पक्राउ गरेका छन् । आवाजविहिनहरुको आवाज बोलिदिने, लुच्चा फटाहाहरुले अनेक किसिमको लोभलालच देखाएर विदेशी भूमिमा अलपत्र पारिदिने नेपाली दाजुभाई दिदीबहिनीहरुको विषयमा आवाज उठाएर उद्धार गरिदिने लूट हत्या बलात्कारको शिकार हुने निर्दोष जनताहरुको बोली बोलिदिने, भ्रष्टाचारीहरुको भण्डाफोर गरिदिने । अन्यायमा परेकाहरुलाई राज्यले दिन नसकेको न्याय दिलाई दिने । दुबै पक्षसँगै राखेर दूधको दूध पानीको पानी छुट्याई दिने यस्ता व्यक्तिहरु त सिधा साधा जनताहरुको लागि त भगवान समान नै हो नि ! त्यसैले त होला नि वहाँहरुलाई पक्राउ गरेको थाहा पाउनासाथ आम सर्वसाधारणहरु वहाँहरुको रिहाईको लागि स्वतः स्फूर्तरुपमा सडकमा निस्किएर चर्को घामको गर्मीको परवाह नगरिकन चितवनको तातेको सडकलाई झन तताई दिए । “हाम्रो रवी हाम्रो देश प्राणभन्दा प्यारो छ ।” भन्ने नारा समेत लगाए । जसले गर्दा संसदमा समेत हंगामा मच्चिए ।
भुसको आगो सल्किए झैँ चितवन मात्र नभै काठमाडौँको माइतिघर मण्डलामा समेत वहाँहरुको रिहाइको लागि जनसागरको आवाज बुलन्द भयो । यति मात्र होइन गाउँ घर सहर देशको कुना काप्चाबाट समेत वहाँहरुको पक्षमा सशक्त आवाज बुलन्द भयो । हाम्रै साँखु बजारमा पनि शंखरापुर जनचेतना तथा भ्रष्टाचार मुक्त समाजको आयोजनामा वृहत ¥याली सहित बजार परिक्रमा गरियो ।
वहाँहरुको पक्षमा सडकमा ओर्लिएका सारा जनताहरुले अनेक किसिमको षडयन्त्र रचेर जालि फटाहाहरुले वहाँहरुलाई फसाएको विचार अभिव्यक्त गरे । यही घटनाले सामािजक सञ्जाल भरियो । देश र देशवासीको हक हितको लागि समर्पित भएका व्यक्तिहरुलाई अनेक लाञ्छना लगाएर आत्मबल गिराउन खोजेको आरोप लगाए । कलाकार, साहित्यकार, बुद्धिजीवी सबैले उहाँहरुलाई साथ दिए । कलाकार हरिवंशले भन्नुभयो– कसैले बालुवाटारमा झुण्डिएर मरेर ठूलै मान्छेको नाउँ लेखेर गयो भने ठूलो मान्छेलाई समात्ने कि नसमात्ने । सिंहदरवारमा झुण्डिएर आत्महत्या गरेर कोटको खल्तिमा ठूलै मान्छेको नाउँ सुसाइड नोटमा लेखेर गयो भने ठूलो मान्छेलाई समाउने कि नसमाउने ?”
सत्य र न्यायको लागि आवाज बुलन्द पार्नेहरुको पछाडि जनताहरु अरिंगालको गोलो भएर निस्कन्छन् भन्ने कुरा यही घटनाबाट सावित भएको छ । रवी लामिछानेहरुको विरुद्धमा जनसागर ओर्लिनको लागि कसैले आव्हान गरेको थिएन । स्वतःस्फूर्त रुपमा जनताहरु सडकमा निस्किए । यति नै जनसागर ओराल्नको लागि कुनै राजनैतिक पार्टीहरुले गर्नुप¥यो भने करोडौँ रुपैयाँ खर्च गर्नुपर्छ जुन हामीहरुले देखेर आईरहेका छौँ, गाउँ गाउँमा गाडि पठाएर मान्छे ओसार्ने गरिन्थ्यो । उनीअहरुलाई खाना खाजा ख्वाउने जिम्मा समेत कार्यकर्ताहरुलाई दिनुपथ्र्यो ।
वर्तमान नेकपाको सरकारलाई दुई तिहाइ मत दिने जनताहरु पनि यिनै हुन् जुन जनताहरु आज रवी लामिछानेको पक्षमा जन लहर ल्याईरहेका छन् । सिधा सादा जनता अन्याय अत्याचारको विरुद्ध लड्नेहरुलाई साथ दिन्छन् न्यायको पक्षमा आवाज बुलन्द पार्छन् भन्ने कुरा सरकारको नेतृत्व गर्नेहरुले समयमै बुझ्नु आवश्यक छ । रवीले छवि बनाए जस्तै देश हाँक्नेहरुले पनि आफ्नो छवी राम्रो बनाउनु जरुरी छ ।
रवी लामिछानेलाई ५ लाख, युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गरिएको छ भने अस्मिता कार्की रुकुलाई बिना धरौटी रिहा गरिएको छ । मुद्दाको किनारा नलागेसम्मको लागि अदालतले उक्त विषयमा बोल्न रोक लगाएको छ भने लामिछाने पक्षका वकिल सुशिल पन्तले फैसला राम्रै भएतापनि चित्त बुझ्दो नभएकोले उच्च अदालत जाने धारणा राखेका छन् । यसले गर्दा मुद्दा झन लम्बिएर निर्मला पन्तको काण्ड जस्तै धिसमिस पार्न खोजिएको त होइन भन्ने जनमानसले प्रश्न चिन्ह पनि उठाइरहेका छन् । हुनतः उहाँहरु रिहाई भएपछिको चितवनको विशाल धन्यवाद सभालाई सम्बोधन गर्दै जनताको आशा र भरोसालाई अझ सशक्त ढंगले आवाज उठाउँदै जाने कुरा रवी लामिछानेज्यूले बोल्नुभएको छ । जनताहरुको हकहीतको लागि उहाँहरु सशक्त ढंगले अगाडि बढ्नु होस् उहाँहरुको पछाडि २ तिहाई भन्दा जनताहरुले साथ दिनेछ ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns