नेवाः स्वायत्त प्रदेशको पक्षमा नेवारहरुले आन्दोलन छेड्ने थरुहटद्वारा एक मधेश एक प्रदेश अस्वीकार !

साँखु÷गत केही दिन अगाडिदेखि चलिरहेको थारु समुदायको गोलमेच सम्मेलनले तराईको भूभागलाई एक मधेश एक प्रदेशको रुपमा माग गरिएकोमा विरोध गर्दै पूर्व देखि पश्चिमसम्मको तराईलाई तीन टुक्रा गर्ने र एक प्रदशेलाई थरुहट नामाकरण गर्ने समेत प्रष्ट पारेका छन् । यो निर्णयसँग सँगै थरुहट र मधेशी मोर्चाबीच तालमेल नभएमा अबको संविधानमा एक मधेश एक प्रदेश हुनेगरी राज्य टुक्रा नहुने सुनिश्चित भएको छ । यो आम नेपालीको लागि सुखद कुरा हुनसक्छ । तर पनि थारु समुदायले पनि संकुचित विचार र्नै राखेको देखिन्छ । उनीहरुले पनि उत्तर दक्षिणको सिमाना नलिईकन पूर्व पश्चिम नै सिमाना लिन थालेकाले नेपालको भारतसँगको सबै सिमाना उनीहरुर्कै कब्जामा पारेर मुलुकलाई बर्बाद पार्न र दोहन गर्न तम्सेको देखिन्छ ।
जस्तै अहिले मधेशी मोर्चाको नाउँमा सरकारमा राज गरेकाहरुले एक मधेश एक प्रदेशको नाममा वार्गेनिङ्ग गरी सत्ता राजनीतिमा आफ्नो संख्याको बलले सदैव ंलुट्न पाउने मन्त्रालयहरुमा कब्जा जमाएर बसेका छन् । कुनै पनि मन्त्रालय ठूलो वा सानो हुँदैन तर नेपालमा गृह, रक्षा, अर्थ, सामान्य प्रशासन, सञ्चार, जलस्रोत, आपूर्ति, स्वास्थ्य लगायतका मन्त्रालयलाई कमाउ मन्त्रालयको रुपमा लिने गरिन्छ भने अन्य मन्त्रालयलाई कमाउ नहुने मन्त्रालयको रुपमा लिईन्छ ।
आखिर यस्तो विभेद किन ? प्रश्न उठ्नु स्वाभाविकै हो । तर यसको उत्तर प्रष्ट छ जहाँ कमाई हुन्छ उही मन्त्रालय ठूलो यसैले नै गृह, अर्थ, स्वास्थ्य, सञ्चार आदि मन्त्रालयका लागि पार्टीहरुले लडाइँ नै गरेजस्तै गरि आफ्नो कब्जामा राख्ने षडयन्त्र सदैव गर्दछन् । यसैले सत्तारुढ मधेशी मोर्चाले मुलुककै दोहन गरेका छन् । उनीहरुले मुलुकलाई बर्बादीको खाडलतिर ढकेलेका छन् । तर राष्ट्रिय राजनीतिमा संख्याको महत्व हुने हुँदा उनीहरुको उपस्थितीलाई बेवास्ता गरेर हिँड्ने स्थिति विद्यमान छैन । त्यसैले यिनीहरुका जायज नाजायज माग पूरा गर्नुको विकल्प कुनैपनि सरकारसँग छैन । वर्तमान बाबुरामको सरकार पनि मधेशी मोर्चाको अगाडि विचरा भएका छन् ।
अर्कोतिर नेवार समुदायले पनि आफ्नो हक हितको लागि नेवाः स्वायत्त राज्यको माग गर्दै आईरहेका छन् । उनीहरुले गत आईतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री दिलिप महर्जनले नेवारहरुले अब अन्तिम संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । साथै उनले नेकपा एमाओवादीभित्र दुई पक्ष बीच विवाद भएतापनि नेवाः स्वायत्त राज्यको लागि एक मत भएको विचार समेत व्यक्त गरेका थिए । कार्यक्रममा मंगलसिद्धी मानन्धर, मल्ल के सुन्दर, पञ्चलाल महर्जन, मङ्गल महर्जन, ज्यापु महागुठीका अनुप सिं सुवाल, नेवा देय दबुका नरेश ताम्राकार, त्रिरत्न शाक्य, कृष्णलाल गोजा लगायतका नेवार समुदायका नेताहरुले विगतमा गरिएका प्रतिवद्धतालाई हुबहु लागू गराउन पर्ने विषयमा जोड दिँदै नेवार समुदायले अब जेष्ठ १४ सम्म नै दबावमूलक कार्यक्रम गरिरहने र आवश्यक परे जेष्ठ १४ अगाडि नै कडा कार्यक्रम ल्याउन पर्ने विषयमा समेत छलफल भएको थियो । यदि जेष्ठ १४ भित्र नेवाः स्वायत्त राज्य विरुद्ध कुनै पनि पार्टीले षडयन्त्र गरे उक्त पार्टीकै विरुद्ध नेवार समुदाय एकत्रित भएर लड्ने, सरकारीस्तरबाट षडयन्त्र भए सरकारविरुद्ध आन्दोलन छेड्ने पनि सो कार्यक्रममा प्रष्ट पारिएको थियो । नेवार समुदाय निर्णायक आन्दोलनको तयारीमा जुट्नको लागि यस्तो कार्यक्रमहरु उपत्यकाका विभिन्न ठाउँहरुमा गरिएको छ । जसको प्रमुख लक्ष्य नेवाः स्वायत्त राज्य प्राप्त गर्नु नै हो ।

Post a Comment

0 Comments