लावण्य/साँखु । साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यही चैत्र १४ गते नेतृत्व चयनका लागि हुने चुनावमा भाग लिनको लागि यही चैत्र २ गते दुई प्यानलले उम्मेदवारी दर्ता गरेकोछ ।
निवर्तमान अध्यक्ष दिनेश लाल श्रेष्ठको नेतृत्वमा उम्मेदवारी दिनेहरुमा उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा रामकृष्ण माली, कोषाध्यक्षमा जयराम श्रेष्ठ र सदस्यहरुमा शान्ता श्रेष्ठ, रम्बिका श्रेष्ठ, आशिष श्रेष्ठ, गंगालाल डंगोल, चन्द्र नारायण श्रेष्ठ, गंगा देवी श्रेष्ठ र राज्यलक्ष्मी मानन्धर रहेका छन् ।
त्यसैगरी अर्को प्यानलबाट अध्यक्षमा द्वारिकानाथ श्रेष्ठ, उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष शंकरमान श्रेष्ठ, सचिवमा सूर्जनारायण श्रेष्ठ, कोषाध्यक्षमा भिन्तुना मल्ल श्रेष्ठ, सदस्यहरुमा निवर्तमान सदस्य विजयकृष्ण भाष्कर, एसबन्त लाल श्रेष्ठ, दिपेन्द्र लाल सिं, जनक नारायण श्रेष्ठ, सम्झना कपाली, प्रविन लाल श्रेष्ठ र भीमसेन श्रेष्ठ रहेका छन् ।
खानेपानीको नेतृत्व लिनको लागि यस अघि २ वर्ष ९ महिना अगाडि चुनाव हुँदा पनि यस्तै दृश्य देखिएको थियो ।
सो चुनावमा दानबहादुर श्रेष्ठ र निवर्तमान अध्यक्ष दिनेशलाल श्रेष्ठबीच प्यानलै बनाएर चुनावी भीडन्त भएको थियो ।
अहिले पनि विभिन्न कोणबाट सर्वसम्मतिको प्रयास गरिएपनि सफल हुन सकेन र चुनावी भीडन्त सुनिश्चित भएको छ ।
दुवै पक्ष मनोनयन दर्ता सँगै आन्तरिक चुनावी तयारीमा जुटेको छ ।
चुनावी कार्यक्रम अनुसार चैत्र ३ गते दावी विरोध र उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन अन्तिम नामावली प्रकाशन पछि मतपत्रको ढाँचा समेत सार्वजनिक हुनेछ ।
त्यसपछि चैत्र १४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।


0 Comments
Thanks for your concerns