बुङ्मतीका भूकम्प पीडितले अनुदान सम्झौता गर्न मानेनन्

साँखु÷साउनको सुरुदेखि नै अनुदान सम्झौताको लागि बुङमतीको भूकम्प पीडितलाई घर बनाउन अनुदान सम्झौता गर्न कार्य विनायक नगरपालिकाले खबर गरेतापनि स्थानीयले अनुदान सम्झौता गरेका छैनन् । अहिले सम्म बुङ्मतीमा ३ जनाले मात्रै अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेपछि सरकारले तोकिए अनुसार मापदण्ड पूरा गरेर नक्सा पास गरि घर बनाउनुपर्ने हुन्छ । सरकारी मापदण्ड अनुसार घर बनाउन सो स्थानमा नमिल्ने भएकोले समस्या परेको हो । सोही कारण वडा नं. १०, ११, १२ र १३ का लाभग्राही भूकम्प पीडितहरु अनुदान सम्झौता गर्न मानेका छैनन् । अनुदान सम्झौता गर्ने ३ जना पनि सहर बजारको बाहिरी भागका हुन् । बुङ्मतीमा करिब ८३५ घर क्षति भएका छन् । ऐतिहासिक नेवारी बस्तीको परम्परागत कला र संस्कृतिको संरक्षण गर्दै नमूना बस्तीका रुपमा पुनःनिर्माण गर्नको लागि माघमा नै अभियान थालिएको थियो । बुङ्मतीमा यूएन ह्याविटाटको प्राविधिक सहयोगमा एकीकृत बस्ती विकासका लागि योजना बनिरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ का प्रावधान कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएपछि भने सहरी क्षेत्रका भूकम्प पीडितहरुको बिल्लीबाठ हुने भएको छ । यस्तै समस्या शंखरापुर नगरपालिकाको वडा नं. ८, ९, १० र ११ मा पनि देखिने भएको छ । हुनतः शंखरापुर नगरपालिकाको वडा नं. ८, ९, १० र ११ भित्र रहेको साँखु बजारको चारढोकाभित्र रहेका घरहरुलाई सरकारी मापदण्ड लागू नगर्ने सहमती सर्वदलीय प्रतिनिधीहरुले यस अघि नै गरिसकेका छन् । सर्वदलीय प्रतिनिधीको निर्णय जे–जस्तो भएतापनि मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्न सक्दैनन् । यो अवस्थामा निकट भविष्यमा साँखु बजारमा के–कसरी घर बनाउन दिने र के–कसरी अनुदान सम्झौता गर्न दिने हो त्यस विषयमा तत्कालै नगरपालिकाका कार्यकारी अधिकृत, सम्बन्धित विभागका इञ्जिनियर र सर्वदलीय एवं सर्वपक्षीय टोलीले विशेष अनुसन्धान गरि समयमै यस विषयमा सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आवश्यक निर्णय गराउनु वाञ्छनीय हुन आउँछ ।

Post a Comment

0 Comments