सन्दर्भ ः प्रमको हावादारी गफ - कृष्ण सायमी

हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूले नेपाललाई १ वर्षभित्रमा लोडसेडिङबाट मुक्त गराउने घरको चुल्हो–चुल्होमा ग्याँसको पाइप लाइन जडान गरिदिने, भूकम्प पीडित जनताहरुलाई प्रत्येक जिल्ला जिल्लामा ५०÷५० वटा आवासगृह बनाईदिने, सडकमा विद्युतीय बस एवं विद्युतीय रेल सञ्चालन गर्ने आदि घोषणा गर्नुभएको छ । तर वहाँका यी कुरारुलाई धेरैजसो मानिसहरुले हावादारी गफ भनेर आलोचना गरे । जसले गर्दा वहाँको धेरै चित्त दुःखेको रहेछ, त्यसैले होला वहाँले हरेक कार्यक्रममा आफूले देशलाई उन्नती उन्मुख पथमा लौन खोज्दा हावादारी गफको संज्ञा दिएकोमा वहाँलाई धेरै चित्त दुःखेको रहेछ । त्यत्तिले मात्र होइन वहाँकै आफ्नै पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल जस्ता नेताहरुले समेत बोल्दा होस् पु¥याएर बोल्नु भनेर उहाँलाई सुझाव दिनुभएको छ । तर मानिसहरुले किन बुझ्दैनन् होला देशका प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेको कुरा “ओलीको बोली बन्दूकको गोली” भन्दा कम हुँदैनन् भन्ने कुरा । आजभोलि लोडसेडिङको तालिकामा दिनमा १३ घण्टा लोडसेडिङ हुने तालिका छ । लाइन आउने समयमा प्रत्येक घर घरमा हाम्रा प्रधानमन्त्रीज्यू ङिच्च दाँत देखाएर हाँस्नुभएको जस्तो पिलिक्क बत्ति बलेकै छ । तर २÷४ मिनेटपछि हराइहालेको छ । त्यसको मतलब प्रधानमन्त्रीज्यूको चित्त दुःखेको छ– वहाँलाई हावादारी भनेकोमा । चित्तै दुःखेपछिको बसिरहन्छ र स्थिरले । जसले गर्दा १३ घण्टाको कार्यतालिकामा १८÷२० घण्टा लोडसेडिङ भइरहेको छ । वहाँलाई हावादारीको संज्ञा दिइएकोमा । यसैगरी वहाँको चित्त दुःखाइरहेको खण्डमा अझ १ वर्ष यस्तै चलिरहन्छ । १ वर्ष पछि मात्र कार्यतालिका अनुसार विद्युत नियमित हुन्छ । अनि बल्ल वहाँको अठोट अनुसार १ वर्ष त्रिमा कार्यतालिका अनुसार विद्युत सप्लाई नियमित हुन्छ । कार्यतालिका अनुसार नियमित हुनु भनेकै लोडसेडिङ मुक्त हुनु हो । वहाँ खरो मान्छे हुनुहुन्छ खरो कुरा बोल्नु हुन्छ । बोलेको कुरा पु¥याई दिइ हाल्नु हुन्छ । अलिकति दायाँ बायाँ भएको खण्डमा उखान टुक्काबाट मिलाई हाल्नु हुन्छ । यो त वहाँको खुबी हो । देश चलाउनुलाई खुबी हुनुपर्दछ । त्यो खुबी उहाँसँग पर्याप्त मात्रामा छ । उहाँले बोल्नु भए अनुसार घर घरको चुल्हो चुल्होमा ग्याँसको पाइप लाइन पनि जडा गरिदिनुहुन्छ । तर सबभन्दा पहिले घर बनाउनु प¥यो नि ! भूकम्प पीडितहरुलाई घर बनाउन भनेर २÷२ लाख रुपैयाँ ३ किस्तामा दिन्छु भनेर घोषणा गर्नुभएकै छ । आउँदो बैशाख १२ गते देखि यो काम सुरु गर्ने नै छ । तर सरकारी मापदण्ड अनुसार घर बनाउनु पर्ने छ । प्रत्येक घरमा सोलार फीट गर्नुपर्नेछ । बनाउन सक्ने नसक्ने सरकारको सरोकारको विषय रहेन । २ लाख लिन ५० हजारले घरको जग पूरा गर्नुपर्नेछ । त्यसपछि बल्ल अर्को किस्ता पाउनेछ । घर बनिसकेपछि ग्याँसको पाइप चुल्हो चुल्होमा फिट हुनेछ । बनाउन सक्ने नसक्ने पुग्ने नपुग्ने यो वहाँको सरोकारको विषय होइन । वहाँको सरोकार भनेको त केवल चुल्हो चुल्होमा ग्याँसको पाइप फिट गर्नुसँग छ । त्यसको लागि पहिले घर बनाएर देखाउनु प¥यो । हाम्रा प्रधानमन्त्रीज्यूलाई राम्रो सँग थाहा भएकै कुरा हो गत बैशाख १२ गतेको महाभूकम्पले सबभन्दा बढी क्षति पु¥याएको काठमाडौँ उपत्यका र त्यसको आसपासको ठाउँ हो । कामको सुरुवात काठमाडौँ उपत्यकाबाटै हुनुपर्छ । किनकी काठमाडौँ देशको राजधानी हो । त्यसमाथि काठमाडौँ वरपरका जिल्लाहरु धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोक, नुवाकोट आदि ठाउँमा भूकम्प पीडितहरु चिसोले कठ्याँग्रिएर मर्ने क्रम जारी नै छ । यस्तो बेलामा यिनीहरुलाई ग्याँसको पाइप लाइन भन्दा पनि न्यानो कपडाको खाँचो छ । जुन चीजको पहिला आवश्यक छ त्यही कुराको पहिला आवाज उठाउँछ । उनीहरुले ग्याँसको पाइप लाइनको आवाज उठाउने बेलामा हाम्रा प्रधानमन्त्रीको पदावधी सकिहाल्छ । विद्युतीय बस, विद्युतीय रेल भनेको कुरा सुत्ने बेलामा हाम्रा प्रधानमन्त्रीज्यूलाई सम्झेर सुत्ने, विपनामा नभएपनि सपनामा सर्ररर्रर बस चढेको रेल चढेको हामी देख्न सक्छौँ । किनकी दिउँसो विजुलीको लाइन नआएपनि राति त प्रायः आइरहेकै छ । विजुली आएपछि मधेशी मोर्चाको आन्दोलनले गर्दा बन्द भइरहेको तराइको २००० उद्योग कल–कारखानाहरु पनि चलिरहेको देख्न सक्छौँ । ५ महिना देखिको आन्दोलनले बाँझो बनिरहेको तराईका फाँट हरिया देख्न सक्छौँ । महाभूकम्पले गर्दा कुलो– कुलेसो थुनिएर सिंचाई गर्न नपाएर बाँझो बनिरहेको खेतको फाँट पनि हराभरा देख्नसक्छौँ । यस्तो महान कार्य गरेकोमा प्रधामन्त्रीज्यूलाई धन्यवाद दिइरहेको पनि देख्न सक्छौँ । मात्र सुत्ने बेलामा प्रधानमन्त्रीज्यूलाई सम्झेर सुत्नु चाहिँ प¥यो ।

Post a Comment

0 Comments