यौन चर्चा – प्रस्तुति– नविना राई

यौनबारे टिनएजरहरुको आकर्षण किन हुन्छ ? सपना, महत्वाकांक्षा र जीवनको योजना नबनाइने बाल्यकाल अभिभावकको निगरानीमा बितेको हुन्छ, तर जव किशोर उमेर शुरु हुन्छ सुनौलो सपना पनि मन मस्तिष्कमा आउन थाल्छ । त्यसबेला किशोर–किशोरीहरुमा सामान्य बानी, रुची, हिड्डुल गर्ने शैली, खानपान, विचार, प्रस्तुति सबैमा परिवर्तन देखा पर्न थाल्छ । किशोर उमेरमा उनीहरुले सामान्यतः निम्न माध्यमिक र माध्यमिक तहको ज्ञान पाएका हुन्छन् र सुनौलो भविष्यसँगै प्रेम, क्यारियर तथा पहिचानको खोजी पनि यसैबेला शुरु हुन्छ । केही लजाउने, केही डराउने, तर उत्सुकता धेरै भएको अवस्था हो यो । विपरीत लिङ्गीप्रति आकर्षित हुने उर्वर समय पनि पनि हो । मानव रुचीमध्ये प्रेमपछि यौन सम्बन्ध सबैभन्दा बढी कौतुहताको विषय मानिन्छ । यो विषय पनि उनीहरुले रहश्य र रोमाञ्चकताको तहमा राखेर जिज्ञासु नजर र मन दौडाउँछन् । यौनलाई बुझ्न मानसिक, शारीरिक, भावनात्मक रुपमै लालायित बन्ने उमेर हो, किशोर उमेर । हिजोआज यौन छाताछुल्लन । अव्यवस्थित छ, अर्थात् यौन अराजकता बढेको छ । किशोर(किशोरीहरु यौनप्रति उत्सुक र सचेत बन्न सामाजिक एवं पारिवारिक, शहरिया वातावरणले प्रेरित भैरहेका छन्, तर सही जानकारी पाउन सकिरहेका छैनन् । उनीहरुको यौन जिज्ञासा मेट्ने गरी विद्यालयमा यौन शिक्षा दिने कुनै पाठ्यक्रम तयार पारिएका छैनन् । किशोर(किशोरीको यौनप्रतिको जिज्ञासा, कौतुहलताजस्ता प्रश्नको जवाफ न अभिभावकले दिने गरेका छन् न त शिक्षकले । सामाजिक एवं पारिवारिक संस्कार अनुसार यौनका बारेमा अभिभावकहरुसँग खुलेर सोध्ने हिम्मत कमै कुनै किशोर(किशोरीमा होला । सरल ढंगले विज्ञानसम्मत व्याख्या गरेर किशोर(किशोरीको चित्त बुझाउन पनि कसैले सकेका छैनन् । कतैबाट पनि यौन सम्बन्धी जानकारी नपाएपछि विकल्पमा उनीहरु चलचित्र, यौन पत्रपत्रिका, उपन्यासका भरमा यौन जिज्ञासालाई थोरै भए पनि शान्त बनाउने प्रयास गरिन्छ । आधा गाग्रो पानी धेरै छचल्किन्छ भन्ने उखान जस्तै उनीहरु पनि यौनको अधुरो ज्ञान लिएर विकृतिमा लाग्न सक्ने सम्भावना धेरै हुन्छ । किशोर–किशोरीको मन, आँखा र सोचलाई यौन जिज्ञासा हासिल गर्ने कुराबाट टाढा राखिए उनीकरका यौन विकृति उत्पन्न हुन सक्ने भएकाले बेलैमा सोच्नु आवश्यक हुन्छ । मनोवैज्ञानिकहरुका अनुसार किशोर(किशोरीहरुलाई सरल शैलीमा यौन ज्ञान दिने उपाय धेरैे छन् । जस्तै शारीरिक अंग, तथा यौन प्रजनन स्वास्थ्यसम्बन्धी आधिरिक पुस्तक पढ्न दिएर पनि उनीहरुको यौन जिज्ञासा मेट्न सकिन्छ । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गोष्ठी, सेन्टिमिटर नारजस्ता कार्यक्रममा बराबर सहभागी गराए पनि उनीहरुले धेरै कुरा बुझ्न सक्छन् । यौन ज्ञान र शिक्षा दिने मन्दिरका टुडालमा खोपिएका मूर्ति, चित्र देखाएर पनि उनीहरुको यौन जिज्ञासालाई कम गर्न सकिन्छ । यौन शिक्षा दिनु अघि किशोर–किशोरीलाई सही परिभाषा बुझाउन बिर्सन नहुने यौन शिक्षाविद्हरुले बताउँदै आएका छन् । यौनको नाममा नैतिकताहीन, अश्लीलता प्रदर्शनतर्फ भने प्रेरित गर्नु हुँदैन । यौन शिक्षामार्फत यसको आवश्यकता, महत्वका बारेमा सही जानकारी दिन सके किशोर(किशोरीहरु यौन विचलनबाट मुक्त हुन सक्छन् । यौन शिक्षा दिनुको अर्थ केवल यौन समागमन वा सम्भोग कलाको ज्ञान दिन होइन, सही र्यौन शिक्षाको असर र विकृत यौन गतिविधिकाबारेमा जानकारी दिनु, शरीर र स्वास्थ्यका बारेमा बताउनु पनि हो । गलत संगतमा परेका किशोर किशोरीहरुमाथि निरन्तर निगरानी राख्नु आवश्यक छ । किशोर उमेरमा प्रवेश गरेका छोरा(छोरीले कस्ता टेलिभिजन कार्यक्रम हेर्दैछन् ? उनीहरुको संगत कस्तो छ ? वयस्क चलचित्र हेर्ने गरेका छन् ? कस्तो पुस्तक पढ्दैछन् ? फोन वा मोबाइलमा कोसँग कस्तो गफ कति लामो समय गर्दैछन् ? कोठा बन्द गरेर एक्लै वा विपरीत लिङ्गी साथीस्ँग लामो समयसम्म बसेका छन् कि छैनन् ? राति नसुती बस्ने गरेका छन् कि ? अंग प्रदर्शन हुने अति छोटा स्कर्ट, अगाडिका वक्षका अधिकांश भाग देखिने पहिरन, पेन्टी देखाउने र शालिन संवादको सट्टा सार्वजनिक स्थलमा, घरमा, छाडा शब्द बोल्ने गरेका छन् कि ? जस्ता बानी(बेहोरालाई अभिभावकले निरन्तर निगरानीमा राख्नु पर्छ । किशोर–किशोरीमा यस्ता असामान्य र अस्वाभाविक लाग्ने बानी–व्यहोरो देखिए तत्काल आमाले छोरीलाई र बाबुले छोरालाई नरम शैलीमा सम्झाए समाधानको उपाय चाँडै निस्कन सक्छ । गाली गरे वा हिंसात्मक उपाय अपनाए अभिभावक र छोरा(छोरीबीच संवादहीनता बढेर जान्छ । किशोर–किशोरीलाई स्पष्ट रुपमा यौन शिक्षा नदिएका कारण यौन विकृति बढेको छ । यौनाङ्गका बारेमा जानकारी नभएका किशोरीहरु पहिलो पटक रजस्वला भएको बेला रगत देखेर विरामी भएको भनेर आत्तिएका घटना धेरै छन् । त्यस्तै राति सुतेको बेला अचानक स्वप्न दोष हुँदा शारीरिक विकृति भएको मान्ने र कमजोर महसूस गर्ने किशोरहरु पनि थुप्रै छन् । शिक्षक वा अभिभावक किशोर(किशारीलाई विकृत यौनबाट मुक्त गर्न रजस्वला, स्वप्नदोष, किशोर उमेरमा हुने यौनाङ्गमा परिवर्तन, यौन प्रजनन स्वास्थ्य, सुरक्षित यौन सम्बन्ध, सुरक्षित गर्भपतन, हस्तमैथुन, असुरक्षित गर्भपतन, गर्भनिरोधक साधन आदिका बारेमा सही जानकारी दिनु आवश्यक छ । यस्ता विषयमा बेलैमा जानकारी दिए युवावस्थामा प्रवेश गर्ने बेलामा गरिने यौन सम्बन्धी गल्तीबाट बचाउन सकिने यौन शिक्षा पारमर्श दातृहरुको भनाई छ । सही यौन शिक्षाले किशोरी उमेरमा हुने असुरक्षित गर्भ बोक्ने स्थितिलाई पनि रोक्न सकिन्छ । मनोविज्ञहरु भन्छन्– यौन शिक्षाले किशोर–किशोरीहरु यौन सम्बन्धी गलत धारणालाई खारेज गर्दैै आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । for comment- lwsandesh@gmail.com

Post a Comment

0 Comments