प्रकाशमान श्रेष्ठ “सक्व”
प्रत्येक वर्षको जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धनका दिनभरि बिहान सबेरैदेखि ठूलो मेला लाग्ने तामाङ, नेवार, बाहुन लामा तथा बौद्धमार्गीहरुको श्रद्धाको उत्तरदिशास्थित मणिचुड दहस्थान अति रमणीय स्थान हो । यस महत्वपूर्ण मणिचुड कुण्डको ऐतिहासिक तथा धार्मिक महत्व छ ।
देवासुर संग्रामको बेलामा विष्णु भगवानले बज्रयोगिनी देवीसँग विजय वाहिनी मन्त्र वरदान पाउन कुण्डल स्नान गरेको मणिकुण्डल अति पवित्र स्थल मानिएको छ । त्यस्तै देव दानव मिलेर समुन्द्र मन्थन गर्दा निस्केको उल्णव कालकुट विष सेवन गरी शिवजीले विषको डाह शान्त पार्न सर्वप्रथम आफ्नो त्रिशुल पहाडमा धसेर तीनधारा जलप्रवाह गरी उक्त मणिकुण्डको निर्माण गरि त्यहाँ महादेव जलसमाधीमा बसेको प्रसंग विभिन्न पुराणहरुमा वर्णन गरिएको छ । त्यसैले यस कुण्डलाई अति नै पवित्ररुपमा हिन्दू धर्मावलम्बीहरुले लिने गर्दछन् । हालसम्म पनि कुण्डको बीचमा शिवलिङ्ग स्वरुपी शिवजीको प्राकृतिक प्रतिक चिन्ह पानीको बीचमा रहेको कुरा कुण्ड स्नान गर्ने पौडीबाजहरुबाट ज्ञात हुन आएको छ ।
त्यसरी नै बज्रयोगिनी माता कलिगत सम्वत् १८०१ सालतिर वनविहारको क्रममा चर्या गिती नृत्य कार्यक्रम गर्दा देवीको कुण्डल खसेर उक्त स्थानमा कुण्डलाकारको दह उत्पत्ति भएकोले उक्त स्थानको कुण्डलमा स्नान दान गर्दा अतुलनीय भाग्योदय हुने तथा मनोकांक्षा पूर्ण हुने तथा कार्यसिद्धि हुने कुरा ग्रन्थहरुमा लिपीबद्ध गरिएको पढ्न पाईन्छ ।
पौराणिक कथा अनुसार शांकेतु नगरका राजा मणिचुडले हस्तिनापुरका जनताहरुलाई महामारी रोगले दुःख दिएको कारण रोग शान्त गरि दुःख निवारण गर्न राजा मणिचुडले आफ्नो मणि निकालेर उक्त कुण्डलमा मणि पखालेर दान गरेको कारण उक्त मणि कुण्डलमा स्नान गर्दा महारोग, दीर्घरोग समेत निको हुने बिश्वासका साथ मणिचुड पर्वतस्थित मणिकुण्डलमा स्नान गर्न तीर्थयात्रीहरुको घुँइचो लाग्दछ । साथै नयाँ झाँक्री विद्या, झारफुक वैद्य विद्या तथा तान्त्रिक विद्या सिकेकाहरुले आफ्नो विद्या सिद्ध गर्न चौसठ्ठी लिंगेश्वरमध्ये कुनै एक लिंगेश्वरको दर्शन पूजन हवन गर्नुपर्ने अनिवार्यता भएकोले जनैपूर्णिमाका दिन मणिचुड मेला भर्न झाँक्री, वैद्य र तान्त्रिकहरुको भीड लाग्दछ ।
लिंगपुराण अनुसार एकतिसौँ लिंगेश्वर मणिचुडेश्वर शिवलिंग हिमवत् खण्ड महापुरणमा वर्णन गरिएको पाइन्छ । उक्त लिंग पुराण अनुसार धनुषाकार कुण्डलभित्र पानीमा मणिचुडेश्वर महादेवको लिंग उत्पत्त भई प्रत्यक्ष भए । त्यसबेला उक्त स्थानमा शिवको सेवा गरेका भक्तहरुको मनोकांक्षा पूर्ण हुने वरदान दिए र शिवशक्ति स्वरुप भईरहे । मणिचुडेश्वर महादेवको सेवा गर्न विरुपाक्षले फाल्गुण कृष्ण सप्तमी र श्रावण पूर्णिमाका दिन स्नान दान प्रदक्षिणा दर्शन पूजन गरेको कारण पूर्णिमाका दिन विशेष मेला लाग्दछ ।
आफ्नो आमासँगको संसर्गको कारण महापातक रोग निको पार्न तथा ब्रम्हहत्या पाप मुक्तिको लागि चौसठ्ठी लिंगेश्वर दर्शन गर्ने क्रममा विरुपाक्षद्वारा दर्शन पूजन गरेपछि अन्य मानव समुदायहरुको पनि दर्शन पूजन कार्य सुरु भएको कुरा बुझिन्छ ।
अनकन्टार घनाजङ्गलको बीचमा समुन्द्र सतहबाट २३७८ मिटरको उचाईमा अवस्थित बज्रयोगिनी गाविस वडा नं. ८ मा रहेको उक्त कुण्डलको पानी अति चिसो रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उपत्यकाको शिवपूरी जलाधार क्षेत्रमा पर्ने मणिचुड परिसरमा रहेका मन्दिर मूर्ति तथा पाटीपौवा संरक्षण, पूननिर्माण तथा बाटोघाटोको व्यवस्था गर्न सकेमा आन्तरिक एवं बाह्य पर्यटकहरुको जमघट हुन सक्ने ठाउँ हो मणिचुड क्षेत्र । यस क्षेत्रबाट काठमाडाँै उपत्यकाको मनमोहक दृश्य हेर्न सकिने र बिहानको सूर्योदय एवं साँझको सूर्यास्त समेत हेर्न सकिन्छ ।
मणिचुडमा ने.सं. ९४७ तथा ने.सं. १०५५ र बुद्ध सम्वत् २५१४ सालका अभिलेख शिलापत्रहरु पाईएका छन् । बुद्धमुर्ति, स्वयम्भू चैत्य, ढुंगेधारा रुति शिवलिंग जुन रुतिमहाराजाले स्थापना गरिएको भन्ने बिश्वास गरिन्छ । शिलामूर्ति, सिंहमूर्ति, मणिचुड राजाको मणि निकाल्दै गरेको करौँतीले चिर्दै गरेको िशलामूर्तिहरु स्थापना गरेको पाइएका छन् भने पोखरीको पारी पट्टि रहेको गंगामहारानीको कलात्मक पाटी तथा गणेशमन्दिर रहेका छन् ।
मणिचुड कुण्डलमा पूजा गरी होम एवं धार्मिक अनुष्ठान सम्पन्न गर्नुपर्ने गुठी जग्गाको व्यवस्था गरी राखेको अभिलेखहरु हाल हराएका छन् । साँखु, गागलफेदी, अधिकारी गाउँका व्यक्ति विशेषहरुको गुठी स्थापना गरी विभिन्न पर्वहरुमा भोजभतेर, दहीचिउरा बाँड्ने तथा पूर्णिमाको दिनमा मेलामा आएका जति भक्तजनहरुलाई खाना खुवाउनु पर्ने झण्डै एक दर्जन गुठीहरु हाल लोप भैसकेका छन् । उक्त गुठीका गुठीयारहरुका अनुसार मणिचुड मेला तथा समय–समयमा पूजा, बत्ति बाल्नुपर्ने, पोखरी सफा गर्नुपर्ने आदिका कार्यको लागि ८०÷९० मुरी धान आउने खेत छुट्याईएका छन् भने हाल आ–आफ्नो गुठी र पूजा लोप गरी व्यक्तिगत नाममा जग्गा दर्ता गरिसकेका छन् । मणिचुड संरक्षण, पूजा अर्चनाको लागि साँखुका जयशंकर भारो गुठी, आचार्य गुठी तथा अन्य बज्राचार्यहरुको एक महिने गुलाबाजं गुठी आदि थिए ।
बज्रयोगिनी देवीको हरेक मूलपूजा कार्य, रंगाधिवास कार्य, पुनश्चरण कार्य तथा होम पूजा जप तप एवम् महत्वपूर्ण कार्य गर्दा मणिचुड कुण्डको पवित्र जल आवश्यक पर्ने तथा घुमांगारी पूजा गर्नैपर्ने कारणले गर्दा मणिचुड कुण्डल र त्यस क्षेत्रमा बज्राचार्य पूजारी वर्ग तथा साँखुबासीहरुको पवित्र आस्थाको केन्द्र रही आएको कुरा बज्राचार्यहरुद्वारा लिखित पुराना दस्तावेजहरुबाट ज्ञात हुन आउँछ । शास्त्रमा वर्णन गरिए अनुसार मणिचुड पर्वतमा निम्न बमोजिम नौवटा योगले पूर्ण भएका कुरा छन् ।
१) मणियोगिनी – रत्न कुण्डल – अनन्त नागराजा
२) मणिचैत्य – धर्म कुण्डल – पद्म नागराजा
३) मणिकाल – मणि कुण्डल – बासुकी नागराजा
४) मणि धारा – मान कुण्डल – शंखपाल नागराजा
५) मणिलिङ्ग – गुणमान कुण्डल – तक्षक नागराजा
६) मणि कुण्ड – पुर्णेन्दु कुण्डल – कर्कोटक नागराजा
७) मणि पर्वत – शीतली कुण्डल – कुलरीक नागराजा
८) मणिनाग – तारा कुण्डल – महापद्म नागराजा र
९) मणिहार – योग कुण्डल – बरुण नागराजा ।
यसरी पौराणिकता, ऐतिहासिकता, धार्मिक र सौन्दर्यताले भरिपूर्ण प्राकृतिक, साँस्कृतिक धरोहरको रुपमा रहेको मणिचुड क्षेत्रको विकास तथा संरक्षण र सम्वद्र्धन गरिनु आवश्यकता भएको छ । परम्परागतरुपमा अत्यधिक महत्वपूर्ण धार्मिक क्षेत्र भएकोले पूर्खाहरुले धेरै गुठी पूजा र ध्यान केन्द्रको रुपमा रहेको मणिचुडेश्वर क्षेत्रको आधुनिकीकरण गर्न बाटोघाटो, बिजुली, आवास तथा होटल एवं लजको समेत पूर्वाधार तयार गर्न विशेष योजना बनाएर जान आवश्यक छ । साथै पुराना लोपोन्मुख कलाकृति एवं पाटीपौवा मर्मत सम्भार तथा वन्यजन्तुहरुको संरक्षणमा ध्यान पु¥याउन जरुरी छ । त्यस्तै जडिबुटीको भण्डार तथा लालीगुराँसको वन क्षेत्र मासिनबाट जोगाउन वृक्षारोपन तथा समय समयमा मणिचुड महोत्सवको रुपमा कार्यक्रम तय गरिएमा व्यापक प्रचार प्रसार भई त्यस क्षेत्रमा गुठी सञ्चालन गरेका व्यक्ति विशेषहरुको ध्यान आकृष्ट गर्न सकेमा आर्थिक स्रोतको पनि अभाव पूर्ति हुनेछ । मणिचुड क्षेत्र विकास सम्वद्र्धन तथा प्रवद्र्धन समितिलाई यस क्षेत्रको विकासका कार्यहरु गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना ।
0 Comments
Thanks for your concerns