पौराणिक पुखुलाछी पोखरीको चिनारी


 नारायण मेहेर श्रेष्ठ
प्राचिन कथा मणिशैल महावदनमा उल्लेख भए अनुसार काठमाडौँ उपत्यकाको पूर्व १७ किलोमिटर टाढा पौराणिक सहर साँखुको पौराणिक नाम शंखरापुर हो । आजभन्दा करिब ३३ सय वर्ष अगाडि श्रीश्रीश्री बज्रयोगिनी माईको आज्ञा अनुसार श्री जोगदेव बज्राचार्यको नेतृत्वमा कलिगत सम्वत् १८०१ सालमा शंखरापुर साँखु सहरको निर्माण गराई वरिपरि भित्र बाहिर धार्मिक, साँस्कृतिक महत्वका अष्टमातुृका देवी स्थान स्थापना गरि एक सहर तीन उत्तर बाहिनी, चार माईको पाहुना घर, पंच बुद्ध, सात गाउँ, आठ टोलहरु, आठ बाटो, नौवटा मुख्य ढोकाहरु, नौवटा मसानघाट सहित शहरको बीच भागमा राजधानी स्थापना गरि सहरभित्र साँस्कृति पक्षलाई दिगो र उन्नतशिल गराउने उद्देश्य राखि ठाउँ ठाउँमा पोखरीको निर्माण गराई, भौध्वाखामा कलश आकारको दायाँ बायाँ पोखरी, सहरबाट बाहिर जाँदा भित्र आउँदा शुभ साईतको रुपमा भौःध्वाखा पोखरी हालसम्म यथावत छ । पुखुलाछी पोखरी, पुखुलाछी टोल, महाद्यः पोखरी ज्योतिर्लिङ्गेश्वर, पलेश्वां पोखरी स्वाँला, बिजाहाँ पोखरी धलंक्व, क्वापाद्यः पोखरी दथुननी, बिजाहाँ पोखरी र क्वापाद्यः पोखरी हाल लोप भइसकेका छन् ।
आठ टोलहरुमध्ये एक टोलको नाउँ हो पुखुलाछी टोल ।  पुखुलाछी टोलमा शंख आकारको पोखरी निर्माण गराईएको थियो । उक्त धार्मिक साँंस्कृतिक, ऐतिहासिक, पौराणिक महत्वको पोखरी हालसम्म यथावत रहेको छ । हाल सो पोखरी समय–समयमा मर्मत गर्दा पोखरीको स्वरुपमा परिवर्तन भई अहिलेको अवस्थामा आएको हो । नेवारी भाषामा पुखु को अर्थ पोखरी र लाछीको अर्थ टोल हो । यस पोखरीबाट यस टोलको नाम पुखुलाछी नामाकरण भएको बुझिन्छ । हाल यो पोखरी चारपाते आकार भई अन्दाजी १ रोपनी भू–भागमा फिजिएको छ । दक्षिण भागको पर्खालको बीच भागमा भगवान श्री नारायणको मूर्ति स्थापना गरिएको छ । यसको गहिराइ यस टोलका समाजसेवी ८० वर्षका बेकुबहादुर रञ्जितको भनाई अनुसार नौ वटा खुड्किला सम्म भेटिइएको बीच भागमा श्री महादेवको मूर्ति रहेको थियो । अर्का यस टोलका ९५ वर्षका श्री रत्नबहादुर श्रेष्ठ यस पोखरीको गहिराई आफूहरुले अन्दाजी ६÷७ फीटमा पौडी खेलेको र पूर्व दक्षिण कुनाको प्वालबाट परेवा, भँगेराहरु तान्ने गरेको आफूले देखेको बताउनुहुन्छ ।
यस पोखरीमा घण्टाकर्ण (गठांमुग चहे्र) को दिन ठूलो मेला लाग्दछ । मेला लाग्नुभन्दा २–४ दिन अगाडि यस पुखुलाछी टोलबासीहरुले यस पोखरीलाई सरसफाई गरी १ दिन अगाडि राजकूलोबाट पानी भर्ने गर्दछन् । साउन महिनाको चतुर्दशी (गठांमुग चह्रे)का दिन यस पोखरीमा ठूलो मेला लाग्नुका साथै मध्यरातमा श्रीश्रीश्री बज्रयोगिनी माई गणहरु सहित यस पुखुलाछी पोखरीमा स्नान गर्न आउनुहुन्छ भन्ने किम्बदन्ती सुनिन्छ । सो समयमा प्रकाशले जजमान भई गर गहनाको आवाज सुनिन्छन् भन्ने कथन छ । यस समयमा झ्याल खोली हेर्न नहुने पोखरी वरिपरिका घरमा बस्ने बुढापाकाहरुले आफ्ना परिवारजनलाई सुनाउँदै आएका छन् । यस विषयमा कुनै खास प्रमाण भने भेट्टिएको छैन ।
यस शंखरापुर सहरका ८ टोलका देशवासीहरु यो पोखरीमा बिहान सबेरै आफ्ना परिवारजनसहित नुहाउन र मुख धुन, पूजा पाठ सकि यस पोखरीको जल लगि घरको सबै भागमा छर्केर शुद्ध गर्ने चलन छ । यसलाई सिनाज्याः ब्यंकेगु पनि भन्ने गर्दछन् । यस्तो गर्नाले धर्म आर्जन हुनुको साथै अदृश्य शक्तिहरु भुत, पे्रत, पिचासहरुले दुःख दिँदैनन् धन धान्य सुख शान्ति मिल्छ भन्ने जनबिश्वास रहेको पाइन्छ । १०÷१२ वर्ष सम्मका केटाहरु यस पोखरीमा बिहान देखि पौडी खेली नुहाईराखेको हालसम्म पनि प्रत्यक्ष देख्न सकिन्छ ।
यस पुखुलाछी पोखरीको महत्व यस प्रकार रहेको छ–
१. बच्चाहरुलाई नुहाउँदा रुञ्चेरोग निको हुने (अरिं चाईगु),
२. डराउने रोग निको हुने (सातु वनिगु),
३. लुतो रोगबाट निको हुने (चिलाउने रोग),
४. छोप्न आउने रोग र
५. आँखा लाग्ने रोग (मिखा वनिगु)
यस प्रकारका रोगबाट निको हुन्छ भन्ने लोक कथनहरु सुनिनमा आउँछ ।
यस पुखुलाछी पोखरी र गठांमुग चहे्र बीचको सम्बन्धको विषयमा प्रसंग राख्नु उपयुक्त देखिन्छ । साउन महिनाको चतुर्दशी (गठांमुग चहे्र) का दिन साँझ पख यस साँखु शंखरापुर महानगरिमा आफ्नो संस्कृति परम्परालाई जोगाई राखेको प्रत्यक्ष रुपमा देख्न पाईन्छ । उदाहरणको लागि टोल टोलका दोबाटोहरुमा भुत (भुद्यः) नामको राक्षस बनाउने चलन हालसम्म यथावत रुपले देख्न पाईन्छ । भुद्यः बनाउनलाई चाहिने सामग्रीहरु १. छ्वाली, २. नरकत, ३. बिजाहाँ, ४. पराल, ५. हाँडीको टाउको बनाई मुख्य रुपले चाहिने यति सामानले तयार पारिएको भुद्यःलाई कुनै ठाउँमा पुरुष बनाईन्छ भने कुनै ठाउँमा महिलाको रुप बनाई दोबाटोहरुमा ठड्याई अगाडि आगोको धुनी बाली राख्ने गर्छन् । घर घरबाट छ्वाली बाली लुतो फाल्न ल्याउने टोल बासीहरुको लुतो फाल्न सकिएपछि गठांमुगः नामको भुद्यः लाई तानेर बच्चाहरुले पिटी पिटी मरेतुल्य बनाई सहर बाहिर फालेर फर्किएपछि सबै टोलबासीहरु जल लिन नुहाउन पुखुलाछी पोखरीमा आउँछन् । केटाहरु अति हर्ष र आनन्दले पौडी खेली नुहाई जल छर्किरहेका हुन्छन् । खान्की द्वा¥याले एक ढकी नासपाती र एक ढकी आरु छर्कनु पर्ने चलन छ । हाल यो प्रचलन लोप भईसकेको छ । तापनि टोलबासी कुनै दाजुभाईहरुले चाहेमा यो कार्यलाई निरन्तरता दिन गाह्रो छैन । सो दिन यस पुखुलाछी टोलमा भव्य मेला लागिराखेको हुन्छ । यस पोखरीको जलले नुहाई, आँखा धोई जल लिई शुद्ध गर्ने चलन छ । यस्तो गर्नाले भुत, पे्रत, पिचासबाट मुक्त हुनुका साथै घरमा सुख, शान्ति, मनोकामना पूरा हुने जन बिश्वास छ ।
काठमाडौँ उपत्यकाको सर्बैभन्दा पुरानो शंखरापुर साँखु सहरको धार्मिक, पौराणिक, साँस्कृतिक धरोहरलाई बचाई राख्नु हामी सबैको कर्तव्य हुन आउँछ । नयाँ पुस्ताले बिस्तारै बिस्तारै हाम्रो संस्कृतिलाई बिर्सँर्दै गएको पाइन्छ । संस्कृतिलाई बिर्सनु भनेको आफूलाई नै बिर्सनु हो । संस्कृतिले नै राष्ट्रको पहिचान र हामीहरुको पहिचान र परिचय गराईरहेको हुन्छ । यस कारणले नयाँ पुस्ताको लागि हाम्रो संस्कृतिलाई बचाई राख्न नितान्त आवश्यक छ । केही समयपछि उनीहरुले पुराना संस्कृतिलाई पछ्याउने बेलामा संस्कृतिलाई बचाउन सकिएन भने हराएर जान्छ । त्यसैले पुराना पुस्ताले नयाँ पुस्तालाई यस सम्बन्धी जानकारी र आवश्यक सरसल्लाह दिएर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने परिपाटी बसाल्नु आवश्यक देखिन्छ । यस पौराणिक पुखुलाछी पोखरीमा हाल राजकुलोको पानीले भर्ने गरिन्छ । यसलाई सुधार गर्ने क्रममा र्इँट्टा सोलिङ्ग समेत भईसकेको र समय सापेक्ष सुधार गरी स्वच्छ र शुद्ध पानी राखी आफ्नो टोल छिमेकको संस्कृतिलाई जोगाई राख्नुपर्ने सबै टोल÷देशबासीको कर्तव्य हुन आउछ ।

Post a Comment

0 Comments