– जंगली राजकुमार प्रधान
पौराणिक नाम चिसापानी इलाका पालुङ सहर
जहाँ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व साँस्कृतिकरुपमा रहेको छ ।
भाग–२
यसरी इन्द्रायणी माइको साह्रै विश्वासिलो देउलाहरु मध्ये लाजिमान देउलाका पूजनीय बाजेहरुले सयौँ वर्ष अगाडिदेखि श्री इन्द्रायणी देवीको सेवा र सुसार गरी आएका पुस्ताहरुमध्ये हाल थाहा पाएसम्म लाजिमानका छोरा सानुकाले देउला, सानुकाले देउलाका छोरा चन्द्रमान देउला, चन्द्रमान देउलाका छोरा कृष्णमान देउला, कृष्णमान देउलाका छोरा बुद्धिलाल देउला हालसम्म पनि श्री इन्द्रायणी देवी माताको मुख्य हर्ताकर्ताको रुपमा जिम्मेवारी सम्हाल्दै श्रीदेवी इन्द्रायणीको सेवा सुसार कार्य सञ्चालन गर्दै आएको छ । यसरी श्री इन्द्रायणी माईको सेवा गर्ने कार्यमा द्यः नायः (देउता नाईके) द्यः पाला (देउताको पालो पर्ने) गाँ नायः (गाउँको नाईके) र अरु सबै गाउँले द्यःला भक्तजनहरुको ठूलो भूमिका रहँदै आएको छ ।
भाग–३
त्यस समयमा पालुङका आदिवासी नेवार बस्तीमा १६ घर मात्र रहेकोले श्री इन्द्रायणी देवीको जात्रा र महिमा सञ्चालन कार्य गर्न सो घरबाट जग्गादान गरेको मध्ये श्री इन्द्रायणी कालिकाको नाममा २१ रोपनी १४ आना, श्री अन्नपूर्ण भगवतीको नाममा ४४ रोपनी, श्री काला भैरवको नाममा १८ रोपनी । यसरी जम्मा जग्गा ८४ रोपनी जग्गादान गरी सोही जग्गाको आयस्ताबाट तीनवर्षे जात्रा सञ्चालन गर्ने र वार्षिक पर्व पूजा चलाउन सो जग्गा मुख्य रुपमा इन्द्रायणी जात्रा चलाउन नै रहेको गुठी लगतबाट देखिन्छ ।
यसरी पर्व विभिन्न कार्य चलाउन दान गरेको जग्गामध्ये सिन्दूर गुठी, भाद्र संक्रान्ति गुठी, धौ बजी गुठी, कार्तिक पूर्णे गुठी, आचार्य गुठी र अन्य धेरै गुठीहरु रैतान हुँदै लोप भएर गएता पनि श्री इन्द्रायणी देवीको तीन वर्षे जात्रा यथावत् सञ्चालन मै थियो । एवं रीतले श्री इन्द्रायणी देवीको जात्रा सञ्चालन गर्न र यस १६ घरबाट यसै नेवारी बस्तीमा विभिन्न चाडपर्व, भजनकिर्तन, धर्म संस्कृति, नाचगान, पाटीपौवा, मठ मन्दिर निर्माण मर्मत कार्य गर्नलाई र तीन वर्षे जात्रा व्यवस्थापन गर्न यसै पालुङ गाउँमा अन्य जे जति कामहरु संकटमा परेको अवस्थामा सबै कार्यको व्यवस्थापन मिलान गर्नको लागि १६ घर मध्येबाट चारजना काजी चुनेर राखेको र सो चार काजीलाई दुःखसुख गरी वार्षिक पर्व, हरेक चाडपर्व चलाई आएको हुनाले सो दुःख शान्ति उपहार मर्यादा स्वरुप कार्तिक शुक्ल पूर्णिमाको दिन श्री पाण्डुकेश्वर महादेव स्थानको पूर्वपट्टी कार्तिक पूर्णे गुठीकै जग्गामा चार काजीलाई भोज खुवाउने चलन हालसम्म यथावत छ ।
भाग–४
यसरी इन्द्रायणी माईको जात्रा चलाउन १६ घरबाट तीन÷तीन वर्षमा जात्रा चलाउने वचनवद्धता गरी तीन वर्षपछि नेवार १६ घरबाट मंसिर शुक्ल पूर्णिमाको दिन देउला गाउँमा बाजागाजा सहित इन्द्रायणी देवी लिन गएर देवी मातालाई विनम्र भावभक्ति गरी भने– हे माता देवी शक्ति पीठ, श्री इन्द्रायणी देवी हामीहरुले नजानेर नचिनेर ठूलो भूल गरेँ अब हामीबाट प्रसन्न हुनुहवस् । अब हाम्रो गाउँमा १२ घडि दिन मात्र भए पनि विराजमान हुनु हवस् । गाउँका सबै घरबाट पूजा सेवन गर्नुहोस् र त्यसपछि माइ स्थान सम्म पाँच दिन जात्रा मनाउनेछौँ । त्यसै समयबाट देउता नाइके, देउता पाले, गाउँ नाइके समेतले ढकीमा भरी देवीको श्रीबन्दी मुकुट र पाटाहा पालुङमा ल्याई सबै गाउँलेहरुको पूजा सकेपछि देवीलाई ढकीमै राखी जात्रा गरी इन्द्रायणी स्थानमा लगिन्छ । त्यसपछि श्रद्धालु भक्तजनहरुले देवी स्थानबाट बत्ति बाली आफ्नो छाप्रोमा लगिन्छ र दियो बालेर रातभरी जाग्राम गरी भोलिपल्ट होम बिसर्जन गरिन्छ ।
यसरी मनुष्यको भावभक्ति देखि देवी अति प्रसन्न भएर जुन कामनाबाट भाव भक्ति गरेको छ । सो कामना पूरा हुँदै गएको हुनाले प्रत्येक तीन वर्षमा श्रद्धालु भक्तजनहरुको लावालस्कर वृद्धि हुँदै गए र सोही कारणले इन्द्रायणी माइको वरिपरि रहेको समथर पाखा भू–भाग जम्मा ३४३३ हात चौर गुठी संस्थानको लगतमा दर्ता भएको उल्लेख गरेको पाइन्छ । यसरी सताप्दियौँ पहिले युगौँदेखि सञ्चालन हुँदै आएको तीन वर्षे जात्रा युग बेला समय परिवर्तनसँगै मानिसहरुमा देवीप्रति भावभक्ति वृद्धि हुँदै आयो । र १८ औँ शताव्दीको अन्त्य भई १९ औँ शताव्दीको सुरुवात अथवा वि.सं. १९११ सालको जात्रामा यसै चिसापानी इलाका पालुङ सहर बस्ने नापित परिवारले निम्न शिलालेखमा उल्लेख भए बमोजिम सामग्री बनाई चढाएको देखिन्छ ।
शिलालेखको ढा“चा ः
श्री सम्वत् १९११ साल मार्ग सुदिन ३ मा पालुङ ग्राम नापित परिवार बुद्धिनारायण, रामकृष्ण, भीम नारायण पुत्र धीर्ज नारायण स्व. पिता शंख नारायण व माता धनमैँ सकल परिवारको नामले
श्री इन्द्रायणी देवीको पित्तलको मूर्ति – १ थान
श्री कुमारी देवीको पित्तलको मूर्ति – १ थान
दं गाले चढायाको हो ।
पित्तलको चँदुवा १ धार्नीको – १ थान
घन मूर्तिक भएको आरती – १ थान
डमरु – १ थान
पित्तलको श्रेर भएको चवर – १ थान
धुपवर – १ थान
शंख – १ थान
घण्ट – १ थान
पाताहा – १ थान
जम्मा याना ११ प्रति गरी चढायाको हो । सा दत पर दत मचायव म्ह ति १ मुधंग पस्ती १ वर्ष संह आनी विरताया जायत कनिं भनी शिलालेखबाट थाहा हुन आएको छ ।
उपरोक्त सामग्रीहरु नापित परिवारले श्री इन्द्रायणी माइलाई चढाएको हुनाले प्रत्येक शनिवार इन्द्रायणी माइको नित्य पूजाको फुल प्रसाद हालसम्म पनि नापित परिवारमा दिन ल्याउने चलन यथावत छ ।
विक्रम संवत् १९११ सालमा चढाएको मूर्तिहरु ढकीमै राखेर जात्रा चलाएको र त्यसपछिको तीन वर्षपछि विक्रम सम्वत् १९१४ सालमा यसै चिसापानी इलाका पालुङ सहर साविक पालुङ गाविस वडा नं. ६ हाल थाहा नगरपालिका वडा नं. ३ बस्ने श्री अमृत लक्ष्मीको सानो पुत्र –
श्री देवीदास श्रेष्ठ – १
श्री नानीदास श्रेष्ठ – १
श्री लक्ष्मीदास श्रेष्ठ – १ समेत तीन भाइको नामबाट श्री इन्द्रायणी देवीको रथ बनाई चढाएको र सोही १९१४ सालबाट सर्व प्रथम इन्द्रायणी देवीको रथयात्रा चली आएको रथको ताम्रपत्रबाट देखिन्छ । यसरी इन्द्रायणीको रथ बनाई चढाएको हुनाले जात्राको अन्तिम दिन रथ उठाई गाउँमा ल्याई सकेपछि सर्वप्रथम अमृत लक्ष्मीको घरमा रथ रोकी पूजा थाप्ने चलन हालसम्म यथावत छ ।
यसरी श्री इन्द्रायणी देवीको रथ यात्रा तीन तीन वर्षमा चल्दै निरन्तर रुपमा तीन वर्ष ६ वर्ष र आधा शताव्दी पार गर्दै आउँदा उन्नाइसौँ शताव्दीको सेरोफेरोमा अथवा विक्रम सम्वत् १९७५ सालमा दोस्रो पटक श्री गणेशको रथ चढाउने यस पालुङ सहर बस्ने श्री हरि नारायण श्रेष्ठको छोरा श्री गणेश बहादुर श्रेष्ठले
श्री गणेशको रथ – १ चढाएको
श्री देउप्रितीले चढाएको घण्ट – १
श्री मायाले चढाएको पाता – १
रथको ध्वजा – १
बनाउने नेन बहादुर लोहार – १ आशाराम सुनार – १
विक्रम संवत १९७५ साल पौष १७ गते भन्ने लेख श्री गणेशको रथ भित्र पित्तलको पातामा लेखिएको छ ।
क्रमशः ........
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns