वडा अध्यक्षको मत जोडेर निस्कर्ष निकाल्नु हतारो हुनेछ – सुवर्ण श्रेष्ठ





(काठमाडौँ क्षेत्र नं. २ को प्रदेश सभा “ख” मा नेकपा एमाले बाट उम्मेदवारी दिनुभएका पूर्व मेयर सुवर्ण श्रेष्ठ शालिन नेताका रुपमा चिनिन्छ । पूर्वी भेगमा श्रेष्ठलाई तनावकै अवस्थामा समेत रिस थाम्न सक्ने व्यक्तिका रुपमा लिने गरिन्छ । काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगको ऐतिहासिक एवं साँस्कृतिक नगरीमा जन्मनुभएका  सुवर्ण श्रेष्ठ बुबा उत्तरबहादुर श्रेष्ठ र आमा दिलमाया श्रेष्ठको कोखबाट वि.सं. २०२१ सालमा सानागाउँमा जन्मिनुभएको हो ।

उहाँ २०३८ सालदेखि राजनैतिक रुपमा सक्रिय हुनुभएको हो । उहाँले कानुन विषय लिई प्रमाणपत्र तह उत्तिर्ण गर्नुभएको छ । उहाँले नेकपा एमालेको होल टाईमर कार्यकर्ताका रुपमा १० वर्ष लगातार काम गर्नुभएको थियो ।

२०५४ को स्थानीय निर्वाचनमा ईन्द्रायणी गाविसमा अध्यक्ष पदमा विजयी हुनुभएको थियो भने २०७४ को स्थानीय निर्वाचनमा शंखरापुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएका श्रेष्ठसँग काठमाडौँ २ को प्रदेश “ख” को चुनावकै विषयमा केन्द्रित रही गरिएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)

पहिलोपटक प्रदेशसभाको चुनाव लड्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?

- म एक पटक गाविस अध्यक्ष र यस अघि पनि शंखरापुर नगरपालिकाको मेयरको चुनावमा होमिएर जितिसकेको व्यक्ति भएकोले त्यस्तो कुनै नौलो अनुभव छैन । मात्र हिजोको भन्दा फरक पदमा चुनाव लड्दैछु भन्ने अनुभूति चाहिँ भएको छ ।

काठमाडौँ जिल्लामा कसैसँग तालेमल भएको छ कि ?

- काठमाडौँमा कुनै पनि पार्टीसँग तालमेल भएको छैन ।

भर्खरै सम्पन्न स्थानीय निकायको चुनावमा नेकपा एमालेले कागेश्वरी मनोहरा र शंखरापुर दुवै नगरपालिकामा पराजय भोग्नु परेको छ । अहिले गठबन्धनको मत तपाइँको क्षेत्रमा करीब १६ हजार भन्दा बढी छ तपाइँहरुसँग यो प्रदेशमा जम्मा साढे ८ हजार जति मात्रै मत छ अनि तपाइँको जीत कसरी हुन्छ ? 

-ं स्थानीय तहको चुनाव र यो चुनावमा धेरै अन्तर छ । त्यत्तिबेलाको गठबन्धन र अहिलेको गठबन्धनको प्रारुप पनि फरक छ । स्थानीय चुनावमा हाम्रो उम्मेदवार पनि नयाँ भएको र उहाँलाई पार्टीको उम्मेदवारको रुपमा अगाडि सार्न पनि केही ढीलो भएकोले पनि केही फरक नतिजा आएको हो नभए नेकपा एमालेले दुवै नगरपालिकामा जित्न सक्ने थियो । अहिले हामी घरदैलोमा जाँदा र जनतासँगको प्रत्यक्ष भेटघाटमा आम जनताले हामीलाई मत दिने प्रतिवद्धता व्यक्त गरिरहेको हुनाले हामी जित्छौँ भन्नेमा विश्वस्त छौँ । वडा अध्यक्षहरुको मत जोडेर निस्कर्ष निकाल्नु हतारो मात्रै हुनेछ ।

अन्य पार्टीका उम्मेदवारहरुमध्ये तपाइँको निकटतम प्रतिस्पर्धी को होला ?

-ं चुनावमा कोही पनि हार्छु भनेर त उठ्दैन । ठ्याक्कै यसै भन्न सकिने स्थिति चाहिँ छैन । तर राप्रपाका राजु विष्ट र नेकपा एकीकृत समाजवादीका मित्र भरत फुयालमध्ये कुनै एकसँग निकटतम प्रतिस्पर्धी हुन्छ होला । साथै अहिले स्वतन्त्र भन्नेहरु र नयाँ पार्टीहरुले पनि केही ठाउँमा चुनौति दिनेछ भन्ने बिश्वास गरेको छु ।

तपाइँलाई व्यक्तिगतरुपमा समेत विपक्षीले सामाजिक सञ्जाल मार्फत् आक्रमण गरेको देखिन्छ । तपाइँ के भन्नुहुन्छ ?

- यो अनावश्यक कुरा हो । मैले त यस विषयमा कुनै प्रतिक्रिया पनि दिएको छैन । त्यस खाले आक्रमण गर्ने को र कस्ता व्यक्तिहरु हुन् भन्ने सबैलाई थाहा नै छ । त्यसैले त्यसको खासै असर पर्दैन । त्यो पोष्टमा लाईक शेयर पनि खासै देखिन्न । जहाँसम्म उनीहरुले उठाउन खोजेको विषय छ त्यो कानुनीरुपमा जायज थिएन भने मैले कार्वाही भोग्नु पर्ला नि ! अरु थप केही भन्नु जरुरी लागेन ।

तपाइँ र तपाइँको पार्टी नेकपा एमालेबाट यस प्रदेशका जनताले के आशा गर्न सक्छ ?

- हामीले स्थानीय तहमा बसेर काम गरिसकेको अनुभव भएकोले पनि हामीबाट आम जनताले आशा गरेका हुन्छन् । आम जनताको एउटै कुरा छ स्थानीय तहका जनप्रतिनिधिहरु जस्तै संघ र प्रदेशका जनप्रतिनिधिहरुको काम देखिएन भन्ने । यो विषय कानुनी पाटो पनि हो । संघ र प्रदेशले कानुन बनाए अनुसार नै स्थानीय तहले पनि कानुन बनाउनुपर्ने हुन्छ । मैले नै कतिपय विषयमा कानुन बनाउन सकिन । किनकी संघ र प्रदेशसँग बाझिने गरी कानुन बनाउन नमिल्ने भएकोले त्यस्तो भएको हो । म प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि मैले यो कानुनी पाटोको विषयमा लविङ गरी संघ र प्रदेशमा जनप्रतिनिधिको पनि काम कारवाहीहरु देखिने गरी ऐन संशोधन गर्नेतर्फ पहल गर्नेछु ।

तपाइँले शंखरापुर नगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा जुन जुन घोषणा गर्नुभएको थियो ती के कति पूरा गर्नुभयो ?

-ं नगरपालिकाको चुनावमा जे जे प्रतिवद्धता गरेको थिएँ । धेरैजसो पूरा गरेको छु । तर पनि मैले जत्तिखेर नगरपालिकाको नेतृत्व लिएँ । त्यत्तिबेला शुन्यबाट सुरु गर्नुपर्ने स्थिति थियो । अहिले जस्तो बनिबनाऊ संरचना थिएन । तर पनि पूर्वाधार निर्माणका काम मैले पूरा गरिसकेको छु । त्यसैले अहिलेका मेयरलाई यस विषयमा सजिलो हुनेछ । थप केही गर्न बाँकी कुराहरु अब प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि स्थानीय तहसँग मिलेर विकास निर्माणका कार्यहरु गर्नेछु ।

तपाइँ प्रदेश सभा सदस्य बन्दा खेरि गत आम निर्वाचनमा तपाइँकै पार्टीबाट निर्वाचित व्यक्तित्व मणिराम फुयालले भन्दा के कति उत्कृष्ट काम गर्न सक्नुहुन्छ जस्तो लाग्छ ?

-ं निश्चितै रुपमा व्यक्ति फेरिँदैमा खासै त्यस्तो फरक त हुँदैन तर पनि मसँग भएको स्थानीय तहको अनुभव र उहाँसँगको प्रदेश सभाको अनुभव शेयर गरेर आवश्यक कानुनहरु संशोधनमा र विकास निर्माणको लागि गर्नुपर्ने विषयमा पहिले भन्दा काम गर्न सजिलो हुने र राम्रो परिणाम दिन सकिनेमा म विश्वस्त छु । किनकी उहाँलाई मलाई जस्तै नै पहिलो प्रदेश सभा भएको हुँदा केही काम गर्न अप्ठेरो परेको होला । साथै अहिलेको संरचनामा प्रदेश सभा देखिने गरी अगाडि नआएको अवस्था छ । त्यो संरचना परिवर्तन गर्न संघीय सरकारसँग जे जे विषयमा अप्ठेरो छ त्यो त्यो विषयमा ऐन कानुन र नियमहरु संशोधन गर्दै जाँदा पहिलेभन्दा छिटो छरितो र राम्रो काम हुन्छ जस्तो लाग्छ । आम जनताले केही फरक महसुस गर्न सकिने गरी काम गर्छु भन्ने बिश्वास छ ।

तपाइँको प्रमुख चुनावी मुद्दा के हो ?

-ं मैले स्थानीय तहमा काम गरिसकेको अनुभव भएकोले सबैभन्दा पहिले प्रदेश र स्थानीय तहबीचको समस्या समाधानको लागि पहल गर्नेछु । प्रदेशबाट बनाउन पर्ने कानुन बनाउन पहल गर्नेछु । विकास निर्माणको विषयमा समेत प्रदेशबाट जे जस्तो ढंगले काम हुनुपर्ने हो त्यो नभईरहेको अवस्थालाई सुधार गर्ने प्रयत्न गर्नेछु । म नगर प्रमुख हुँदा पनि नगरपालिकाको बजेटले त केही पनि भईरहेको थिएन । थोरै बजेट थियो । संघ र प्रदेशबाट बजेट माग गरी लविङ गरेरै राष्ट्रिय योजनाहरु ल्याउनुका साथै बजेट विनियोजन गराएकै हो । त्यसैले आम जनतालाई प्रदेशबाट काम गराउन सक्छु भन्ने बिश्वास दिलाउन चाहन्छु ।

काठमाडौँ क्षेत्र नं. २ का दुईवटै नगरपालिकामा सञ्चार क्षेत्रको विकास खासै भएको छैन न त एउटा रेडियो छ न त टेलिभिजन यसको लागि के कस्तो पहल गर्नुहुन्छ ?

-ं हो मैले म नगर प्रमुख हुँदा पनि सो विषयमा काम गर्नको लागि पहल गरेको थिएँ । तर प्रदेशमै सो सम्बन्धी काम नभएकोले मैले त्यत्तिखेर काम गर्न सकिनँ । यो विषय मलाई पनि खट्किरहेको छ । अहिले प्रदेश स्तरमा सञ्चार सम्बन्धी अफीस खडा भईसकेको छ । केही कानुन र कार्यविधि नभएकोले त्यत्तिखेर काम गर्न नसकिए पनि अब भने मैले कम्तीमा प्रदेश स्तरीय एफ एम सञ्चालनमा पहल गर्नेछु ।

अन्त्यमा यस प्रदेशका मतदाता एवं हाम्रा पाठकहरुलाई केही भन्न चाहनुहुन्छ कि !

-ं मैेले त्यस्तो धेरै भन्नुपर्ने विषय त छैन । तर पनि सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्रहत्या गर्ने खालका पोष्टहरु नगर्न अनुरोध गर्न चाहन्छु । मैले कानुनभन्दा तलमाथि काम गरेको छैन । नगरपालिकाको हीत विपरीत केही काम गरेको छैन । त्यसैले मलाई पहिले जस्तै नै अत्यधिक बहुमतले जिताउन आम जनतासमक्ष अपिल गर्न चाहन्छु ।

बक्समा 


मैले जत्तिखेर नगरपालिकाको नेतृत्व लिएँ । त्यत्तिबेला शुन्यबाट सुरु गर्नुपर्ने स्थिति थियो । अहिले जस्तो बनिबनाऊ संरचना थिएन । तर पनि पूर्वाधार निर्माणका काम मैले पूरा गरिसकेको छु ।
सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्रहत्या गर्ने खालका पोष्टहरु नगर्न अनुरोध गर्न चाहन्छु । मैले कानुनभन्दा तलमाथि काम गरेको छैन । नगरपालिकाको हीत विपरीत केही काम गरेको छैन ।





Post a Comment

0 Comments