रोचक जानकारी
पूर्खाले डायनोसरसँग युद्ध गरेको कथा बोक्ने ल्होमी जाति
विविध जातिको अनेकतामा एकता रहेको नेपालमा अनेकौं जातिहरु रहेका छन् । ती सबै जातिका आआफ्नै कला संस्कृति र इतिहास रहेका छन् । त्यसमा कुनै न कुनै रोचक विषय त पाइन्छ नै । त्यही एउटा रोचक इतिहास बोकेको ल्होमी जाति आफ्नै मौलिक संस्कृतिका कारण अरुभन्दा भिन्न छ ।
कोशी प्रदेश क्षेत्रमा पर्ने संखुवासभाको उत्तरी भेगमा रहेको अरुण नदीको उद्गम स्थलमा बसोबास गर्ने जाति हो, ल्होमी । माथिल्लो अरुण उपत्यकामा पर्ने तत्कालीन थाङमुक्षी चेपुवा गाविसमा अरुण खोलाको वारिपारि बस्ने यो जाति सीमान्तकृत समूहमा पर्ने जाति हो ।
यसको इतिहासका बारेमा यकिन प्रमाण भेट्न गाह्रो छ । यो जातिको नाम ल्होमी भनेर पहिलोपटक इस्वीको १९५० तिर मानवशास्त्री डोरबहादुर विष्टले प्रयोगमा ल्याएका हुन् । यो जाति नेपालका अलावा भारतको दार्जिलिङ क्षेत्रमा पनि भेट्ने गरिन्छ ।
ल्होमी जातिसँग एउटा लामो इतिहास बोकेका केही किंवदन्तीहरु छन् । जसमध्ये एउटा किंवदन्तीले ल्होमी जातिलाई डायनोसरको पुस्तासँग युद्ध गरेको भन्ने देखाउँछ । त्यो किंवदन्ती आफैँमा रोचक खालको छ ।
अर्काेतर्फ योजातिले आफ्नो विवाह संस्कारमा चीनका राजा स्रङचङ गम्पोले भृकुटीलाई विवाह गरेको स्मरण आफ्नो विवार संस्कारमा देखाउने गर्छन् । यसबाट यसको इतिहास चिनियाँ इतिहाससँग पनि जोडिएको देख्न सकिन्छ ।
झण्डै २३ करोड वर्ष पहिले उत्पत्ति भएर अहिले संसारबाट लोप भइसकेको डाइनोसरसँग आफ्ना पुर्खाहरुले युद्ध गर्ने गरेको किंवदन्ती यो जातिमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका लागि साङबु नुप्पा ल्होमीले तयार पारेको पहिचानको सेरोफेरोमा ल्होमी जाति भन्ने अनुसन्धानमूलक पुस्तकमा उल्लेख छ ।
उक्त पुस्तकका अनुसार डायनोसरलाई उनीहरु नागम भनेर चिन्ने गर्छन् । ल्होमीहरु आफू बस्ने क्षेत्रमा रहेको भूमि तथा खोलाहरूमा पनि नागमको बसोबास रहेको उनीहरु बताउँछन् । उक्त तथ्यलाई पुष्टि गर्नको लागि उनीहरुसँग एउटा लोक कथा छ । जसमा चन्ज्युङ लुक्म भन्ने कुनै बलिया पुरुष पात्रकी श्रीमतीलाई नागम (डाइनोसर) ले यिनै खोलामा निलेको भन्ने जनविश्वास पाइन्छ ।
त्यहाँ एउटा भोम्बोम्म नामक झर्ना रहेको पाइन्छ । जुन झरना ऐतिहासिक महत्वको क्षेत्र भएपनि अहिले त्यसको नामनिशाना भेटिँदैन । यसको ऐतिहासिकता केवल ल्होमी जातिको इतिहाससँग मात्रै जोडिएकोले पनि अन्य सम्प्रदायको उपेक्षामा सो झरना परेको हुन सक्ने स्थानीय बताउँछन्।
स्थानीय ल्होमीहरुका अनुसार चिन्ज्युङलुक्मको समयमा यो झर्नामा एउटा ढुंगे धारो थियो । जुन अरूण नदीको बिचमा झर्ने÷खस्ने गर्दथ्र्यो । झर्नाको तल फेदमा अरूण नदी बग्छ । यो झरनाको माथि एउटा ठूलो ढुंगे दह छ । त्यही ढुंगे दहमा एक पटक चिन्ज्युङलुक्मको जहान पौडी खेल्न गएकी थिइन् । त्यहाँ पौडी खेल्दा नागम (डाइनोसर) ले उनलाई खाइदियो ।
आफ्नी श्रीमतीमाथि डायनोसरले आक्रमण गरेको भेटेपछि चिन्ज्युङलुक्मले आफ्नो बहादुरी देखाएर डायोनसरलाई मार्ने योजना बनाए । चिन्ज्युङलुक्मले नागम (डाइनोसर) लाई मार्नको लागि थाङमुछ्यीको गोक्पच्योक्स भन्ने डाँडामा बसेर नागम (डाइनोसर)लाई कुरिरहे । एकदिन नागम (डाइनोसर) निस्केर ढुंगे धारोमाथि बसिरहेको थियो । यही मौका पारेर चिन्ज्युङलुक्मले गोक्पच्योक्स भन्ने ठाउँबाट हुर्दो (घुँयत्रो) मा ढुंगा राखी नागम माथि आक्रमण गर्यो ।
पहिलो ढुंगा छाछापुकतिर गयो, दोश्रो क्षुदामा र तेस्रो दोरिरिमा झ¥यो । चौथो पटकको निशाना नागम (डाइनोसर) लाई लाग्यो र त्यो ठहरै भयो । यही आक्रमणमा उक्त ढुंगे धारो पनि भाँचिएको बताइन्छ ।
यसरी धारो भाँचिएपछि पानी जमिनमा नै खस्न गयो र हालको भोम्बोम झर्ना बन्न पुग्यो भन्ने जनविश्वास छ । चिन्ज्युङलुक्मले हानेको हुर्दो (घुँयत्रो) को ढुंगा अहिले पनि देख्न सकिने स्थानीय विश्वास छ। अन्तिम पटकको ढुंगा झर्नाको बायाँतर्फ (मनिटरको दृष्टिले) माथि अहिले पनि छ जुन ढुंगामाथि एउटा सुकेको स्युक्प (धुपी)को बोट छ । त्यही ढुंगालाई डायनोसर मारेको ढुंगाको रुपमा स्थानीयले आस्था राख्छन् भन्ने मान्यता छ ।
“जब रक्सी धोकेर बाख्राका बथान झुम्न थाले”
जँड्याहा मानिसहरु रक्सी खाएर मात्तिएको र होहल्ला गरेको त देखे सुनेकै कुरा हो । बाख्राले रक्सी पिएर हंगामा गरेको भने सुन्न पाइएको थिएन, अहिलेसम्म । तर छिमेकी मुलुक भारतका एक बथान बाख्राले अहिलेसम्म नसुनेको यो कुरालाई यथार्थमा परिणत गरिदिए ।
भारतको अहमदावादस्थित मेहसाणा जिल्लाका एक हुल बाख्रा हालै रक्सीको नशामा झूम भए । घटना जिल्लाको खेरालू सहरमा भएको हो । प्रहरीले छापा मारेर जफत गरेको रक्सी नष्ट गर्ने क्रममा यो घटना भएको रहेछ । प्रहरीले जफत गरेको अवैध मदिरा खुल्ला मैदानमा जम्मा पारेर नष्ट गरेको रहेछ । पोखिएको रक्सी जमिनका खाल्डाखुल्डीमा जम्मा भयो र चौरमा चर्न गएका बाख्राहरुले त्यो रक्सीको स्वाद निकै मन पराए र तनतनी ताने ।
यसरी तिर्खा मेटाउने गरी रक्सी खाने बाख्राहरु मध्ये अधिकांस बाख्रा स्थानीय रमेश पाटनी नामका किसानका परे । धेरै रक्सी पिएपछि बाख्राहरु बेहोस समेत भए र बेहोस नभएका बाख्राहरुले रक्सी खाएर मात्तिएको मान्छे झैँ वितण्डा गर्न थाले ।
रक्सीको नशाले झूम भएर बाख्राले वितण्डा गर्न थालेपछि र केही बाख्रा बेहोस समेत भएपछि किसान रमेश पाटनीले सबै बाख्रालाई घरमा ल्याएर बाँधे । १२–१४ घण्टापछि मात्र बाख्राहरुको होस खुल्यो र रक्सीले मात्तिएका बाख्रामा रक्सीको प्रभाव कम गर्न र होसमा ल्याउनका लागि उनले दुध तथा दही समेत खुवाएका थिए ।
उक्त घटनापछि स्थानीय किसानहरुले प्रहरीको आलोचना गरेका छन् र खूरालुका सरकारी अधिकारीले समेत मदिरा नष्ट गर्ने क्रममा प्रहरीले लापरवाही गरेको आरोप लगाए ।
श्रोत–इण्डिया टुडे

0 Comments
Thanks for your concerns