काठमाडौँ–२ मा ओनसरी र मणिराम बीच टक्कर हुने ! प्रदेश “ख” मा सुवर्ण श्रेष्ठ, राजु विष्ट र भरत फुयाँलबीच प्रतिस्पर्धा




काठमाडौँ–२ मा ओनसरी र मणिराम बीच टक्कर हुने ! प्रदेश “ख” मा सुवर्ण श्रेष्ठ, राजु विष्ट र भरत फुयाँलबीच प्रतिस्पर्धा

२३ असोज २०७९, आईतवार

लावण्य/साँखु । बहुचर्चित काठमाडौँ क्षेत्र नं. २ बाट यस पटक नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व सभामुख ओनसरी घर्ती गठबन्धनबाट उम्मेदवार हुनुभएको छ ।

उहाँलाई टक्कर दिँदै नेकपा एमालेका नेता पूर्व प्रदेश सभा सदस्य मणिराम फुयालले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी राप्रपाबाट कुन्ती पोखरेल सोही क्षेत्रबाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारी, विवेकशील साझाका उम्मेदवार धनेश थापा लगायत दर्जन भन्दा बढी स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा उत्रिएका छन् ।

प्रदेश सभा तर्फ प्रदेश “क” मा पूर्व प्रदेश सभा सभामुख सानु कुमार श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने उहाँलाई नेपाली काँगे्रसका प्रदेश सभापति धु्रब केसी पेन्टल र राप्रपाका सुनिल केसीले चुनौति दिएका छन् ।

त्यसैगरी प्रदेश सभा “ख” तर्फ नेकपा एमालेबाट शंखरापुर नगरपालिकाका पूर्व मेयर सुवर्ण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने उहाँलाई राप्रपाका राजु विष्ट र नेकपा एकीकृत समाजवादीका भरत फुयाँल र स्वतन्त्र उम्मेदवार युधिष्ठिर बानियाँले चुनौति दिएका छन् ।

विगतमा यस क्षेत्रमा २०४८ यता नेकपा एमालेले ७ पटक, नेकपा माओवादी केन्द्रले १ पटक र नेपाली काँगे्रसले १ पटक चुनाव जितेका छन् । यो क्षेत्र बहुचर्चित हुनुको कारण ४८ को चुनावमा तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई नेकपा एमालेका नेता स्व. मदन कुमार भण्डारीले चुनावमा हराएको थियो ।

यसपटक गठबन्धनको तर्फबाट ओनसरी घर्ती उम्मेदवार हुँदा पनि नेकपा एमालेका मणिराम फुयाल ढुक्क देखिन्छन् भने प्रदेश क र ख का उम्मेदवारहरु सानु कुमार श्रेष्ठ र सुवर्ण श्रेष्ठ पनि आत्तिएका छैनन् । तर गठबन्धनको विगतको सफलता एवं अहिले पूर्व सभामुख नै यस क्षेत्रमा उम्मेदवार भएकोले कुनै पनि बेला यस क्षेत्रको राजनैतिक स्थिति उलटफेर हुन बेर लाउन्न । साथै यो क्षेत्र सदैव चुनौतिपूर्ण र रोमाञ्चक हुने गर्दछ । कृष्णप्रसाद भट्टराईदेखि माधवकुमार नेपाल सम्मलाई पराजित गर्ने यो क्षेत्र सबैको लागि फलामको च्यूरा हुनेमा दुईमत नहोला ।

Post a Comment

0 Comments