यस हप्ता पुनः निहारिका राजपुत (सोनालीकुमार सिंह) चर्चामा रहे । उनी चर्चामा रहनुको पछाडिको पिडा भने बयान गरिसाध्य छैन ।
उनले जनकपुरका शिवराज श्रेष्ठबाट आफू बलात्कृत भएको र आफू गर्भवती भई बच्चा समेत भईसकेको हुँदा डिएनए परीक्षण गरी पाउँ भनी उनले राज्य समक्ष माग गरेको देखियो ।
यो उनको व्यक्तिगत माग भएपनि यो समाजकै पिडाको विषय हो । कुनै पनि व्यक्ति कुमारी आमा बनिनु पर्दाको पिडा त हाम्रो समाजमा छँदैछ । त्यसमाथि बच्चा र बच्चाका पिता भनिएका श्रेष्ठको डिएनए परीक्षण गर्न राज्य पक्षले आनाकानी गर्नुपर्ने कारण देखिँदैन । झट्ट हेर्दा यसमा राज्य पक्षले निहारिकालाई वास्तै नगरेको हो कि जस्तो देखिन्छ । यसमाथि उनलाई खासै अधिकारकर्मी भन्नेहरुले पनि साथ दिएको देखिएन ।
फलस्वरुप यस हप्ता उनले राष्ट्रपति निवास अगाडि सडकमा आत्मदाह गर्ने प्रयास गरेका थिए जुन प्रयास प्रहरीले थाहा पाएर विफल भएको छ । अहिले उनी टिचिङ हस्पिटलमा उपचाररत छिन् ।
यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो व्यक्त गरेकी छिन् । उनले महान्यायाधिवक्ता मार्फत् यस विषयमा बुझेका छन् ।
निहारिकाको मुद्दा सुरुमै बलात्कारको विषयमा हुनुपर्नेमा मुद्दा कमजोर बनाउन जिल्लामा मुद्दा दर्ता गर्दा नाता कायम गर्ने विषय उठाइएको हुँदा मुद्दा कमजोर रहेको र उनले सो मुद्दा हार्नुपरेको विषय पनि अहिले चर्चामा रहेको छ । कुनै पनि मुद्दा हारेपछि सरकारले गर्ने कार्य पनि केही कमजोर हुने नै भयो । यो त भयो वस्तुस्थिति । तर पनि सरकारले चाह्यो भने मिटरव्याजीमाथिको कारवाही जस्तै गरी कुनै तरिकाले कारवाही गर्न सक्थ्यो होला भन्ने पनि अर्कोतिर कुरा उठेको छ ।
तर यस्तो गरेर मात्रै दीर्धकालिन समाधान भने हुँदैन । किनकी यदि दीर्धकालिन समाधान गर्ने नै हो भने विद्यमान कानुनी प्रक्रिया छोट्याउनु जरुरी छ । लामो समयसम्म मुद्दामामिलामा जानु परेपछि पीडित आफैले बयान फेर्ने र मुद्दा फिर्ता लिन रुचाउने आम विषय बनेको छ । यतातर्फ पनि सरकारको ध्यान जानु जरुरीछ । अर्कोतिर केटीपक्षले आरोप लगाउँदैमा कुनै पनि व्यक्ति दोषी नहुने र निर्दोष फस्न नहुने तर्फ पनि सचेत हुनु जरुरी छ । यस विषयमा आरोपित व्यक्तिको वैयक्तिक स्वतन्त्रता समेत हनन हुन नहुनेमा राज्यल पक्षले ध्यान पु¥याउनु जरुरी छ । निर्दोषलाई फसाउने ढंगले मुद्दा मामिला गर्नेहरुको पनि यो समाजमा कमी छैनन् । यसैले राज्यले बडो गौर गरेर यस विषयमा निर्णय लिनु उचित हुन्छ । सबैलाई चेतना भया !
0 Comments
Thanks for your concerns