काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर



यो बहुप्रचलित उखान हो । अधिकांश नेपालीले यो उखान सुनेकै होला । अहिले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको ताल बाल हेर्दा यो उखान ठ्याक्कै उनीहरुमा मिल्न जान्छ ।

त्यसरी नै प्रदेश सरकार र संघीय सरकारको कुरा गर्ने हो भने त झनै यो उखान उनीहरुलाई त नमिल्ने कुरै भएन भन्नुपर्ने स्थिति रहेको छ ।

अर्थात् मुलुकभर नै तीनै तहका सरकारहरु “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर”को उखान चरितार्थ हुने गरी काम गरिरहेका छन् ।

उदाहरणको रुपमा भर्खरै नव निर्वाचित काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहलाई लिन सकिन्छ ।

उनले चुनाव अगाडि स्मार्ट पार्किङको विषय देखि फुटपाथको पसलको बारेमा समेत आफ्नो स्पष्ट धारणा राखेका थिए । त्यसैगरी फोहोर मैलाको विषयमा त उनले आफु इञ्जिनियर भएकोले चुट्की भरमै त्यो विषय हल गर्ने जस्तो कुरा गरेका थिए ।

युवा नेताको यस्तो जोश र जाँगरका कुरा सुनेर युवाहरु त अगाडि बढे बढे, बुढापाकाहरुले समेत एक पटक हेरौँ न त भनेर बालेन शाहलाईमत दिए ।

तर चुनाव जितेर आएको आजका दिनसम्ममा १ महिना भन्दा बढी भईसकेको छ । अझ उल्टो केही दिन अगाडि सामाजिक सञ्जालमा काम गर्न देऊ भनेर स्टाटस राखेर केही समय पछि नै सो स्टाटस डिलिट गरे ।

यी माथिका कुनै पनि विषयमा उनले अध्ययन अनुसन्धान नै गरेको रहेनछ भन्ने प्रमाणित हुन्छ । अझ काम गर्न देउ भन्ने स्टाटस राखेर केही समयपछि नै निकाल्नुलाई त बचकाना हरकत भन्न सकिन्छ ।

कुनै पनि पदमा बस्न चाहने वा बसेका नेताहरुको भिजन हुनु जरुरी छ । तर यहाँ त भिजनको नाममा हाईभिजन भएकाहरुकै बाहुल्यता भएपछि के पो कुरा गर्ने हो र !

अर्कोतिर प्रदेश सरकारहरुको त कुरै नगरौँ । सरकारकै नाममा कलंक भने नि सुहाउँछ यिनीहरुको हर्कतलाई । केही आशा गरेका आम जनतालाई निराशा दिन प्रदेश सरकारले माखो मार्न सकेन भन्दा अत्युक्ति नहोला ।

मुलुककै सबैभन्दा ठूलो सरकार संघीय सरकारको हविगत झन् गज्जबको छ । सरकारमा बसेर प्रधानमन्त्री भएरै पनि आफ्नै पार्टीको बैठकमा समेत उनी निरिह भएका छन् । आफुले बोलेको पूरा नगर्दा यस्तो भएको हो ।

निर्णय गरेर लागू गर्नुपर्ने ठाउँमा भएका सभापतिले महामन्त्रीहरुको फोन नउठेको चर्चा बैठकमा गरिरहेका थिए । अबको चुनावमा कसरी जाने ? सरकारको न्यूनतम प्रतिवद्धता के हो ? त्यो पूरा भयो कि भएन भन्ने तर्फ उनको पटक्कै ध्यान गएको देखिँदैन । बरु उनी आफुले केही नगरिकन बसेर अरुले गर्नै दिएनन् भन्ने स्थितिमा पो पुगेछन् । यसैले विनाशकाले विपरीत बुद्धि भनेझैँ नहोस् भन्ना खातिर मुलुकभरका तीनै तहका सरकारहरुले आम जनताको अपेक्षा अनुरुप काम गर्नु जरुरी छ नभए भीरबाट लडेका गोरुलाई राम राम भन्न त सकिन्छ गएर काँधै थाप्न सकिँदैन भन्न थाल्नेछन् आम जनताले । सबैलाई चेतना भया !

Post a Comment

0 Comments