– रामेश्वर श्रेष्ठ “शैलेन्द्र”
के के तन्त्र आयो गयो केही भएन
आफ्नो भुँडी भर्ने मन्त्र जाँदै गएन
फेर्नलाई यहाँ धेरै तन्त्र फेरियो
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।१।।
सात सालमा एकतन्त्र नै गयो
प्रजातन्त्रको उदय पनि भयो
ठुलै आश थियो तर पूरा भएन
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।२।।
सत्र सालमा प्रजातन्त्र नै गुम्यो
निर्दलीय तन्त्र पञ्चतन्त्रले चुम्यो
पञ्च जति मोटाए अरू भोकाए
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।३।।
छत्तीसमा जनमत पनि गरायो
फेरि उही पञ्चायतलाई जितायो
एक छत्र गरी गरी राज चलायो
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।४।।
छयालीसमा जन आन्दोलन चल्यो
त्यहींबाट बहुदलको दीप नै बल्यो
दीप बले पनि अन्धकार हटेन
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।५।।
बयसठ्ठी त्रिसठ्ठीले राजतन्त्र भाग्यो
राजतन्त्र भागेर त लोकतन्त्र जाग्यो
अझै पनि त्यही गरिबीले घेरियो
तन्त्र फेरियो तर मन्न्त्र फेरिएन ।।६।।
धेरै तन्त्रपछि गणतन्त्र नि आयो
नाना तन्त्रहरू आयो अरू के पायो
जन्त्र फेरियो कति तन्त्र फेरियो
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।७।।
एक एक दिन गरी युग बद्लियो
मन पग्लिएन बरू पत्थर पग्लियो
यो देशमा कतिमात्र तन्त्र हेरियो
तन्त्र फेरियो तर मन्त्र फेरिएन ।।८।।
0 Comments
Thanks for your concerns