असार १५ को अवसर पारेर शंखरापुर जेष्ठ नागरिक समाजले जनप्रतिनिधिहरुलाई सम्मान गर्दै धान दिवस मनाएको छ ।
२०७९ असार १६ गते
लावण्य/साँखु । शंखरापुर जेष्ठ नागरिक समाजले कृष्ण प्रणामी आश्रम साँखु शालिनदीको हलमा असार १५ को अवसर पारेर नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ढीलै भएपनि सम्मान गर्दै धान दिवस मनाएको छ ।
सो कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले जेष्ठ नागरिकहरु र सुत्केरी महिलाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा र सुषमा मेमोरियल अस्पतालमा निशुल्क उपचार सेवा प्रदान गर्ने बताउनुभयो । यसको लागि नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट पास गरिसकेको बताउँदै जेष्ठ नागरिकहरुको लागि मासिक थप भत्ता र वार्षिक रुपमा दशैँमा पोषण भत्ताको समेत व्यवस्था गरिएको बताउनुभयो ।
उप मेयर समिता श्रेष्ठले जेष्ठ नागरिकहरुकोलागि कृष्ण प्रणामी आश्रमका कारण जमघट गर्न सजिलो र विभिन्न मठ मन्दिर घुम्ने व्यवस्था समेत मिलाइएकोमा प्रशंसा गर्दै सपना माता साँखुमै जन्मेका विदूषी भएकै कारण साँखुमा पनि कृष्ण प्रणामी आश्रम बनेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले कृष्ण प्रणामी आश्रममा आयुर्वेद हस्पिटल खोल्नको लागि नगरपालिकाले १५ लाख विनियोजन गरिसकेको हुँदा योग ध्यानका साथै यही जेष्ठ नागरिकहरुको लागि उपचारको समेत व्यवस्था हुने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै विदूषी सपना माताले शंखरापुर नगरपालिकालाई मायाको चिनो स्वरुप राधाकृष्णको सुन्दर मूर्ति प्रदान गर्नुभएको थियो ।
उहाँले जेष्ठ नागरिकहरुकोलागि असार ३१ मा पुनः यही भेटघाट गरिने र त्यसपछि लुभुमा हुने कार्यक्रममा एक दिन जेष्ठ नागरिकहरुलाई सहभागी गराईने बताउनुभयो ।




0 Comments
Thanks for your concerns