मणिचुडेश्वर शिवलिङ्ग



 केशव खड्का “साँखुले”
बज्रयोगिनी गाविसको उत्तरतर्फ माथिल्लो लेकमा पूर्व तर्फको पारिलो मोहडा भएको पाखोमा सानो फलेको आँपको आकारमा निर्मित पोखरीभित्र मणिचुडेश्वर शिवलिङ्ग र देवताहरुले स्नान गरेको तीर्थ छ ।
यस तीर्थको नामबाट यस ठाउँलाई मणिशैल पर्वत, मणिचुड डाँडा भनिने गरिन्छ । यहाँ श्रावण शुक्ल पूर्णिमाको दिन अर्थात् रक्षाबन्धन, जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।
साँखु बजारबाट उकालो चढेपछि बज्रयोगिनी मन्दिर, घुमारिचोक, वनदेवी प्राथमिक विद्यालयको प्राङ्गण हुँदै करिब एक घण्टा उकालो चढेपछि मणिचुडेश्वर शिवलिङ्ग भएको स्थानमा पुग्न सकिन्छ । यो ठाउँमा मोटरबाटो निर्माण भएको भएतापनि वर्षा यामले बाटो बगाएको हुँदा र उकालो भएकोले मोटर चल्न सक्ने स्थिति छैन । तरपनि सुन्दरिजलबाट आउने हो भने सम्भवतः जीपबाट मणिचुड डाँडाको छेवैमा पुग्न सकिन्छ । यो बाटोमा मोटरसाईकलबाट जान भने थोरै समस्या भएपनि सकिन्छ ।
एक दिन शिवजीलार्य जलक्रिडा गर्ने इच्छा भएछ र कोही मानिस नजाने वृक्ष र लहराहरुले शोभायमान भएको अति उच्च मणिचुड पर्वतको एकान्तस्थलभित्र निर्मल जलले भरिएको पोखरीमा डुबेर परम आनन्दमा मस्तसँग लीन हुनुभयो ।
त्यसपछि ब्रम्हादि देवताहरुले शिवजीलाई कैलाशमा नदेखेपछि नरमाइलो लागेछ र शिवजीको खोजी हुन थालेछ । यसक्रममा शिवजीलाई खोज्न मणिचुड पर्वतको फेदीमा पुगेर योगिनी माताको मन्त्र जपेर देवताहरु ध्यान गर्न थाले । उनीहरुले बज्रयोगिनीको ध्यान गर्दै भन्न थाले– हे जगत जननी माता तपाइँलाई कोटी कोटी नमस्कार, हे बुद्धिस्वरुपीणी, भिषण मूर्ति भएकी अष्ट भूजा भएकी, सिंह बाहिनी वनदेवी तपाइँलाई कोटी कोटी नमस्कार । हे जगतमाता प्राणी मात्रको चैतन्य स्वरुप लिएर विश्वप्रकाश गराउने जगत जननी तपाइँलाई कोटी कोटी नमस्कार । यस प्रकारले योगिनी माताको तपास्या गर्दा धेरैकाल पछि एक दिन बज्रपरेजस्तो आवाज गरेर सिंह बाहिनी अष्ट भूजाधारी भगवतीले ब्रम्हादी देवताहरुलाई दर्शन दिएर भन्नुभएछ– हे देवताहरु हो मेरो आराधना के कति कारणले गर्नुभयो ? भन्दा देवताहरुले भने– हे जगत जननी बज्र परेजस्तो आवाज गर्दै उत्पन्न हुनु भएकी हुँदा तपाइँलाई पनि हामी बज्रयोगिनी नामले सेवा गर्दछौँ । हे माता शिवजी कहाँ हुनुहुन्छ । भनि देवताहरुले प्रश्न गर्दा माता योगिनी भन्नुहुन्छ– हे देवता हो यहाँबाट आधा कोश उत्तरमा मणिचुड नाम भएको पर्वत छ । त्यस पर्वतमा ठूलो पोखरी छ त्यस पोखरीभित्र डुबेर शिवजी समाधिमा रहनुभएको छ । हे ब्रम्हाजी तपाइँहरु पोखरीको किनारमा गएर शिवजीको र शक्तिदेवी सहितको आराधना गर्नु शिवजीको दर्शन पाउनुहुनेछ । भन्ने वरदान दिई बज्रयोगिनी अन्धरध्यान हुनुभयो । बज्रयोगिनीको वचन अनुसार ब्रम्हादी देवताहरुले मणिचुड पर्वतमा रहेको पोखरीमा पुगेर पोखरीको वरिपरि बसी शिवजी र शक्ति देवीको आराधना गरे । यस आराधनाबाट खुशी भएकी शक्ति माताले पंक्षीको रुप लिएर अन्तरध्यान मग्न हुनुभएका शिवजीलाई चेतनामा प्रकाश गराउनुभयो । भगवान शिवले आफ्नो स्तुती गरेकोमा खुशी भई देवताहरुलाई ज्योती स्वरुपको दर्शन दिने क्रममा पोखरी वरिपरि देवगणहरु ध्यान गरी बसेका अवस्थामा पोखरीको मध्य भागबाट मणिजस्तो जाज्वल्यमान भै मणिस्वरुप ज्योती रुपमा शिवजी प्रकट हुनुभएको थियो । उहाँको चार हात तीन आँखा हातमा त्रिशुल डम्बरु लिनुभएको जटाको मुकुट बाँध्नुभएको सर्पका गहना र नरमुण्ड मालाले शोभायमान भएका बाघका छाला पहिरिनु भएका रौद्र मुर्तिको दर्शन दिनुर्भै शिवजी भन्नुहुन्छ– हे देवता हो अब देखि यस लिङ्गको नाम मणिचुडेश्वर भयो । यस तीर्थमा दर्शन गर्ने पूजा गर्ने भक्तजनहरु यस लोकमा सुख शान्ति पाई परलोकमा कैलाश बास होउन् । तपाइँहरुको इच्छासिद्धि होस् भनि शिवजी कैलास जानुभयो । देवताहरु आ–आफ्नो स्थानमा गए ।
“कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्यमुनी ! नेमुनीका वचन अनुसार विरुपाक्षले फाल्गुण कृष्ण सप्तमीका दिन मणिचुडेश्वर शिवलिङ्गको व्रत बसी दीपदान गरी भजनकिर्तन गरेर रात्रिमा जाग्राम बसी अष्टमी व्रत पूर्ण गरेछन् । यसले मणिचुडेश्वर शिव लिङ्गको दर्शन पूजन गरी शिव चरित्र पाठ गर्ने र सुन्ने र सुनाउने भक्तहरुको कैलाश बास हुने कुरा चतुरषष्ठि ज्योतिर्लिङ्ग अन्तरगतै मणिचुडेश्वर शिवलिङ्ग वर्णन श्री स्कन्द पुराण हिमवतखण्ड नेपाल महात्म्य कै एकतिसौ अध्यायमा वर्णन गरिएको छ । यो स्थान परिचय र यसको सन्दर्भ यहाँ प्रस्तुत गरियो अस्तु ।

Post a Comment

0 Comments