चौरीको आलो रगत पिउने मेला शुरु

मुस्ताङको कोवाङस्थित घट्टेखोलामा चौरीगाईको आलो रगत पिउने मेला शुरु भएको छ । वैशाखमा आयोजना हुने मेलामा हिमाली क्षेत्रमा जडिबुटीयुक्त घाँस खाएका चौरीगाईको आलो रगत औषधिको रुपमा प्रयोग हुने भएकोले यस मेलामा विक्री गर्ने गरिन्छ । चौरीको घाँटीमा विशेष प्रकारको चक्कुले प्वाल पारेर निकालिने रगत रोग प्रतिरोधात्मक हुने जनविश्वास रहेकोछ । यार्सागुम्बा, निरमसी, पाँचऔंले, जटामसीलगायत जडिबुटी पाइने बुकी क्षेत्रमा चरेका चौरीगाईको आलो रगतले शारीरिक स्फूर्ति दिने जनविश्वास रहेकोछ । चौरीगाईको रगत पिउँदा ग्याष्ट्रिक, गानोगोला लगायत चिसोका कारण हुने रोगका साथै यौन दुर्वलताको समस्या पनि समाधान हुने जनविश्वास छ । आयोजकहरुका अनुसार प्रतिगिलास रगत १ सय २० रुपैयांका दरले विक्री वितरणका लागि उपलब्ध गराईनेछ ।
चौरीको रगत पिउन म्याग्दी, वाग्लुङ्ग, पर्वत, कास्कीका साथै विदेशी पर्यटक समेत मेलास्थल पुगेको छ । चौरीको स्वास्थ्य परीक्षणपछि रगत निकाल्ने व्यवस्था मिलाइएको छ । यसले आलो रगतबाट सर्ने सरुवा रोगबाट मुक्त हुन्छ । मुस्ताङका विभिन्न गाउँमा रगत निकालेर विक्री गर्नको लागि करिव ५ सय चौरीहरु पालिएका छन् ।

Post a Comment

0 Comments