काठमाडौँ पूर्वी क्षेत्रका ३ वटा नगरपालिका प्रमुखलाई सम्मान गरियो



तीनै जना मेयरहरुद्वारा सहकार्य गर्ने प्रतिवद्धता !

२०७९ जेष्ठ २१ गते

लावण्य/साँखु । साँखु शालिनदी यातायात प्रा.लि.ले शनिवार काठमाडौँ जिल्लाको पूर्वी भेगका गोकर्णेश्वर, शंखरापुर र कागेश्वरी मनोहराका नव निर्वाचित मेयर उप–मेयर हरुलाई सम्मान गरेको छ ।

सो सम्मान कार्यक्रममा शंखरापुरका नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले आफूहरुले पहिले गरिएका गल्तीहरुलाई सच्याउने बताउनुभयो ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले पूर्वी भेगका ३ वटै नगरपालिकाको भूगोल उस्तै रहेको, जनजातिहरुको बसोबास पनि उस्तै रहेको तर विकासको कुरामा केही अघि पछि रहेकोमा यी तीनै वटा नगरपालिका मिलेर काम गर्न पाए सबैको भलो हुने बताउँदै आजको यो फोरम यातायात व्यवसायीले मिलाएको भएतापनि हामीले मिलेर काम गर्न सन्देश दिएको रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले धार्मिक तीर्थस्थल र पर्यटकीय स्थलमा सँगै काम गर्न सकिने बताउनुभयो । 

उहाँले न्यूनतम रुपमा पनि यी ३ वटा नगरपालिकाले नमूनाको रुपमा काम गर्नुपर्ने बताउँदै नगरपालिकाका प्रमुखलाई “मेयर साब” भन्ने चलन हटाएर जनताको सेवककै रुपमा दाई, भाई, अथवा प्रमुख मात्रै भन्नुपर्ने बताउनुभयो ।

त्यसैगरी गोकर्णेश्वरका मेयर दिपक रिसालले यस अघिको स्थानीय तहको नेतृत्वले पनि सहकार्य गरेको र अहिले पनि आफु सहकार्य गर्न तयार रहेको बताउँदै सबैभन्दा पहिले देखिने र तत्काल गर्नपर्ने ्र गर्नसकिने काम भनेको फोहोर मैलाको व्यवस्थापन हो । यसकोलागि जापानबाट ल्याएको इन्सिनेटर मेशिन गोकर्णेश्वर नगरपालिकासँग रहेको हुँदा हामी ३ वटै नगरपालिका मिलेर सिसडोलमा फोहोर पठाउनुको सट्टा यतै फोहोरमैलाको व्यवस्थापन गर्न सके ६ महिनाभित्र आम जनतालाई राहत दिन सकिने बताउनुभयो ।

कुनै पनि व्यक्ति वा पार्टीले जित्नासाथ “छु मन्तर” गरेर काम गर्न नसकिने बताउँदै उहाँले गोकर्णेश्वर, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका मिलेर यस विषयमा काम गरे अरु नगरपालिकाको लागि नमुना हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँगे्रसका क्षेत्रिय सभापति कविर फुयालले आफु बच्चैदेखि साँखुको बस चढेर त्रिचन्द्र कलेज पढ्दाको क्षण सम्झँदै यस भेगको पुरानो यातायात सेवार्ला अझ व्यवस्थित बनाउनु पर्ने बताउनुभयो । साथै उहाँले यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ वटै नगरपालिका मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

शंखरापुरका उप मेयर समिता श्रेष्ठले साँखु शालिनदी यातायातले माघ मेलामा समेत गुणस्तरीय सेवा दिनुभएकोले उहाँहरुको काम प्रशंसनीय रहेको बताउँदै शालिनदी यातायातको सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ, सहदेव श्रेष्ठ, पोत थिङ, रणबहादुर तामाङले यातायात सेवा विस्तार गर्नुपर्ने विषयमा आफ्नो कुरा राख्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य रामकृष्ण सिंले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन न्हुछेराज श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व शालिनदी यातायातका उपाध्यक्ष ओमबहादुर कार्कीले गर्नुभएको थियो ।

Post a Comment

0 Comments