वर्तमान अवस्थामा नेवाः पत्रकार कोषले गर्नुपर्ने काम



प्रस्तुत कर्ता – सिल्भिया श्रेष्ठ राजोपाध्याय

(यो आलेख २०७५ साल २८ गतेको अंकमा प्रकाशित लेख हो । २०७५ साल माघ २३ गते नेवार श्रमजीवी पत्रकारहरुद्वारा गठित नेवाः पत्रकार कोषमा कोषका पदाधिकारीहरुको तर्फबाट एक लाख रुपैयाँको कोष स्थापना भएको थियो । कोषको मूल नारा “पत्रकारको लागि पत्रकार नै” थियो ।


“१९ हजार ५ सय रुपियाँ” नेपालको पत्रकारिताका क्षेत्रमा अहिले चर्चाको अंक भैरहेको संख्या हो । त्यसो त गएको दशैंताका २४ हजार ३ सय ७५ पनि चर्चाकै विषय बनेको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश पछि अहिलेलाई यो सख्यामा पूर्णविराम लगाएको छ । त्यसैले हालको लागि “१९ हजार ५ सय” मा नै नेपालका श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिकको मुद्दा अड्किएको छ ।

यसअघि पनि “१३ सय ५ सय” पनि यस्तै बहसको विषय बनेको थियो र धेरै वर्षसम्म पत्रकारहरुको मुद्दा बनेको थियो । समग्र नेपालको मूल प्रवाह (मेन स्ट्रीम) भनिने सञ्चार माध्यममा कार्यरत् पत्रकारहरुको मुद्दा नै न्यूनतम पारिश्रमिकका रुपमा चर्चाको विषय बनिरहेको अहिलेको वास्तविकता हो । न्यूनतम पारिश्रमिकले नछोएका पत्रकारहरुको संख्या पनि छ नै, अझ नेपालभाषाको पत्रकारिता क्षेत्रमा यसको संख्या उल्लेख्य नै छ । तर समाजका विभिन्न वर्गका समस्यालाई उजागर गर्ने पत्रकारहरु आफ्नो मूल मुद्दा, न्यूनतम पारिश्रमिकको कार्यान्वयनका लागि आवाज उठाउने क्रममा नै दैनिक जीवन यापनका लागि हातमुख जोड्ने समस्यामा नै अल्झिरहेका छन् । यो नेपालको मूलधारमा काम गरिरहेका पत्रकारहरुको अहिलेको वास्तविकता हो ।

मूलधारमा कार्यरत पत्रकारहरुले न्यूनतम पारिश्रमिकको अवधारणाप्रति जानकार भएपनि विशुद्ध रुपमा नेपालभाषाको लागि भनेर सेवा गरिरहेका सञ्चार माध्यममा संलग्न पत्रकारहरुबीच न्यूनतम पारिश्रमिक भनेको के हो भन्ने विषयमा नै बहस हुन नै बाँकी छ, यो वर्तमान अवस्थाको कटु सत्यता हो । यसतर्फ हामी होमिन बाँकी नै छ । नेपालभाषाको क्षेत्रमा झन् अनौपचारिक रुपले पत्रकारिता गरेर जीवनको अमूल्य समय समर्पण गरिरहेकाहरु पनि उल्लेख्य संख्यामा छ ।

नेवार पत्रकारलाई परिभाषित गर्ने समयमा हामी ३ वटा विधामा जानकार हुनु अति आवश्यक छ । नेवार भएर नेपाली लगायत विभिन्न भाषाका लागि विभिन्न सञ्चार माध्यममा कार्यरत् पत्रकार, नेवार भएर नेपालभाषाका लागि विशुद्ध नेवार सञ्चार माध्यममा कार्यरत् पत्रकार र नेवार भएर नेपालभाषाका लागि विभिन्न सञ्चार माध्यममा कार्यरत् पत्रकार । यी ३ वर्गका नेवार पत्रकारहरुको आ–आफ्नै संघर्षका कथा छन् । संर्घषको मात्रा फरक हुन सक्छ, तर संघर्षको कथामा भने समानता छ । नेवारहरुको मुद्दालाई स्थापित गर्ने सन्दर्भमा होस् वा नेवार समुदायको पहिचान, समस्याको मुद्दालाई उजागर गर्ने अवस्थामा होस वा नेवार संस्कृति सम्पदाको विषयलाई जनमानसमा लैजाने विषयमा होस्, विभिन्न भाषाका सञ्चार माध्यममा कार्यरत् नेवार पत्रकार र विशुद्ध नेपालभाषाको सञ्चार माध्यममा कार्यरत् नेवार पत्रकारबीच काम गर्ने वातावरणको अवस्था सहजता र विषमताको दृष्टिकोणले फरक हुन सक्दछ, तर सामाजिक सुरक्षा र आर्थिक पक्षको यथार्थमा भने समानता छ ।

३ दशकअघि पत्रकारिताको माध्यम छापा र विद्युतीय सञ्चार माध्यममा सीमित थियो भने अहिले पत्रकारिताको माध्यममा व्यापक रुपमा विस्तार भइसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन हुँदै अहिले नयाँ प्रविधिको अनलाइनतिर पनि पत्रकारिताको विस्तार व्यापक भइसकेको छ । त्यसैले यस व्यापकताको प्रवाहसँगै समग्र नेपालको सञ्चार माध्यममा पत्रकारिता गर्नेहरुको संख्या बृद्धि भइरहेको छ । तर पत्रकारितालाई पेशाको रुपमा अपनाउने सन्दर्भमा नेवार समुदाय पछाडि नै परेको छ । उदाहरणको लागि ठूल्ठूला सञ्चार माध्यममा पदपूर्तिका लागि आवेदन आह्वान हुने बेला नेवारहरुको आवेदन नगण्य रुपमा मात्रै परिरहेको यर्थाथलाई हामीले बिर्सनु हुँदैन । पत्रकारिता क्षेत्रतर्फ नेवारहरुको अनाकर्षण अनुसन्धानकै विषय हुन सक्दछ । तर यसलाई हामीले सतही रुपमा नियाल्ने हो भने सामाजिक सुरक्षा पनि धेरै मध्ये एक कारक तत्वका रुपमा अगाडि रहेको देखिन्छ ।

नेवार पत्रकारिताका क्षेत्रमा सामाजिक सुरक्षाको विषय असारको खहरे झैँ भएको छ । छिनमा उर्लिएर आउने, छिनमा सुक्ने परम्परा कायमै छ । एकजना पत्रकारलाई स्वास्थ्य समस्या भयो भने सहयोगको लागि आवाज उठाइन्छ, पहुँच भएका ठाँउमा गएर पत्रकारका समूह आर्थिक संकलन गर्न पुग्दछन् । आर्थिक संकलन जुट्दा–जुट्दै समस्या गम्भीर हुन पुग्दछ । पीडितलाई समयमै सहयोग हुने वा नहुने विषय आफ्नै ठाँउमा छ । तर यसरी काम गर्दा यसको प्रभावकारिता र पारदर्शिताको विषयमा पटक–पटक आवाज सुनिने गरेको छ । यो कु्रा अहिले उठाइरहँदा दिवंगत पत्रकार नरेश कुमार शाक्यलाई आर्थिक सहयोग संकलन गर्दाको क्षण होस् वा कल्पना महर्जन अशक्त विरामी पर्दा, सहयोगका लागि चन्दा संकलन गर्नकै लागि एकजूट भएको क्षणलाई पनि हामीले स्मरण गर्नु पर्दछ । आपत पर्दा एक व्यक्ति विशेषलाई मात्र भनेर अल्पकालिन रुपमा, अर्काे शब्दमा भन्ने हो भने “हान्ड टु माउथ एप्रोच” मा चन्दा संकलन गर्न कति गार्हो छ भन्ने अनुभव हामीले बटुलिसकेका छौं । अझ यो कुरा उठाइरहँदा पारदर्शितालाई पनि यहाँनिर उल्लेख गर्नैपर्ने हुन्छ । अर्थात् कति आर्थिक संकलन भयो, कति सहयोग पीडितलाई दिइयो, त्यसको लेखाजोखामा पनि व्यावहारिक रुपमा समस्या भएको हामीले देखेका छौं ।

यस्तो परिस्थितिमा समस्याको दीर्घकालीन, व्यवस्थित र वैधानिक समाधानका रुपमा हामीले नेवार पत्रकार लक्षित यस “नेवाः पत्रकार कोष” गठन गरेका छौं । यसको कार्य्विधिमा काम गर्दै जाँदा नयाँ–नयाँ समस्यासँग सामना गर्दै जाने चुनौति बाँकी नै छ । अहिलेका लागि एउटा अक्षय कोष खडा गरेका छौं । यस कोषका पदाधिकारीहरुकातर्फबाटै एक लाख रुपैँया राखेर कोष खडा गरेका छौं । यसैक्रममा यस कोषका लागि हामीले समाजका विभिन्न क्षेत्रबाट आर्थिक, भौतिक वा बौद्धिक सहयोगको अपेक्षा पनि राखेका छौंं ।

अहिलेको लागि कोष गठन गरेर संस्थालाई विधिवत् रुपले दर्ता गरेर विधानतः अध्यक्ष, सचिव र कोषाध्यक्ष तीन जनाको नाममा बैंक खाता सञ्चालन गर्ने हाम्रो पहिलो काम हुनेछ भने देशभरीका नेवार पत्रकारहरुको अवस्थाको विषयमा अन्तक्रिया गरेर सदस्य विस्तार गर्ने हाम्रो दोश्रो काम हुनेछ । त्यस्तै बैंकमा जम्मा हुने कोषको ब्याजबाट आवश्यक क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने, आवश्यकता हरेर सम्बन्धित निकाय, संघ–संस्थासँग समन्वय गर्ने पनि हाम्रो कर्तव्य हुनेछ ।

पत्रकारहरुको जीवन बीमा, नियमित स्वास्थ्य परीक्षण, औषधी सेवन गरिरहेका पत्रकारहरुको सन्दर्भमा सम्बन्धित औषधि कम्पनी वा अधिकृत बिक्रेतासँगको सम्बन्ध बिस्तार लगायतका विषयमा पनि हामीले समन्वय गर्ने काम पनि गर्नेछौं । त्यस्तै बिरामी परेर अस्पतालमा स्वास्थ्य परीक्षणका समयमा आउने समस्याका लागि पनि हामीले समाधन गर्ने पहल गर्ने छौं ।

यसरी आपत–विपतका समयमा पत्रकारहरुलाई उनीहरुको अवस्था हेरेर आवश्यक सहयोग दिने, समस्यालाई सम्वन्धित निकायमा पुुरयाइदिने र कोषकातर्फबाट सहयोग गर्ने हाम्रो लक्ष्य छ । काम गर्दै जादाँ अनेकौं समस्या र चुनौति आएको खण्डमा आवश्यकता अनुसार छलफल गरेर अघि बढ्नेछौं ।

आशा छ, यस कोषलाई अघि बढाउनको लागि तपाईंहरुबाट आर्थिक, भौतिक वा बौद्धिक सहयोग उपलब्ध हुनेछ । धन्यवाद ।

(नेवाः पत्रकार कोषको अवधारणा पत्र नेपालभाषाबाट नेपालीमा अनुवाद गरिएको हो ।–सम्पादक)

(यो आलेख २०७५ साल २८ गतेको अंकमा प्रकाशित लेख हो । २०७५ साल माघ २३ गते नेवार श्रमजीवी पत्रकारहरुद्वारा गठित नेवाः पत्रकार कोषमा कोषका पदाधिकारीहरुको तर्फबाट एक लाख रुपैयाँको कोष स्थापना भएको थियो । कोषको मूल नारा “पत्रकारको लागि पत्रकार नै” थियो ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


Post a Comment

0 Comments