प्रतिपक्षमा काँथ्रेसको भूमिका



प्रमुख प्रतिपक्षीदल नेपाली काँगे्रस सदन र सडक दुवैतिर नदेखिएको गुनासो आम जनमानसमा व्याप्त थियो । यसैबीच यसवर्षको दशै तिहारको अवसरमा गरिएको चियापान कार्यक्रममा समेत नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समेत काँगे्रसलाई व्यंग्य गर्दै भनेका थिए– “प्रमुख प्रतिपक्षी दल कता हराए भनेको त यहाँ शानदार ढंगले चियापान गराउँदै रहेछ ।”

हुनतः यसबीच नेपाली काँगे्रसले सरकारविरुद्ध सशक्तरुपमा संसदमा पनि आवाज उठाएको थिएन भने सडकमा जनता तताउने काम पनि गरेको थिएन । त्यसैले होला पूर्वप्रधानमन्त्री खनाललाई प्रमुख प्रतिपक्षीको भूमिका दह्रो नलागेको ।

दशैँ तिहार र छठपछि गरिएको नेपाली काँगे्रसको महासमिति बैठकमा उठेका सवालहरु र त्यसपछिको काँगे्रसको सदनको भूमिकाले भने प्रमुख प्रतिपक्षी सदनमा खरो रुपमा उत्रने देखिएको छ । तर पनि प्रजातान्त्रिक पार्टी र मास बेस्ड पार्टी भएर होला कम्युनिष्ट पार्टीहरुले जस्तै सदनमा कुर्सी भाँच्ने, माईक तोड्ने र सडकमा रेलिङ भाँच्ने काम भने उनले गरेन ।

बरु लेखा समिति अन्तर्गतको उपसमितिमा दह्रो उपस्थिति जनाएर वाइड बडी घोटाला प्रकरणमा वर्तमान सरकार देखि पूर्ववर्ती सरकारका मन्त्रीहरुलाई दोषी भएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न लगाए ।

तर यहाँ निर पनि प्रमुख प्रतिपक्षी पार्टी काँगे्रसको आफ्नै आन्तरिक कमजोरीका कारण लेखा समितिका सभापतिले दह्रो गरि टेक्न नसक्दा यसको बाछिटाले काँगे्रसका सभापति शेरबहादुर देउवालाई समेत हान्न नेकपाले खोजेका छन् ।

सरकारविरुद्ध प्रतिपक्षी लाग्नु स्वाभाविकै हो भने प्रतिपक्षीको आरोपको जवाफ दिनु एवं आफ्नो बचावमा कदम चाल्नु सत्तापक्षको पनि धर्म नै हो । तर पनि यहाँनिर सरकारी पक्षले जुन ढंगले स्टन्ट गर्दै आफ्ना भ्रष्टाचारी मन्त्री र आफ्ना पक्षका सचिव लगायतका कर्मचारीहरुलाई जोगाउन विपक्षीमाथि असहिष्णु ढंगले शाब्दिक आक्रमण गर्नु भने सत्तारुढ दल र सरकारका प्रधानमन्त्रीलाई सुहाउने कुरा हैन ।

यस विषयमा केही अघि काँगे्रसका सांसद प्रदिप गिरीले भनेका पनि छन्– “हामी त प्रतिपक्षी अलि बढी नै बोल्दा पनि हुन्छ । तर सरकारमा बसेकाहरुले अहिले घमण्ड गर्ने र फूर्ति गर्ने बेला हैन काम गरेर जवाफ दिने बेला हो यो ।”

बास्तवमै गिरीले सही नै भनेका छन् । सत्तामा रहेकाहरुले जनताको लागि काम गरेर नै जनताको मन जितेर पुनः सत्ता प्राप्त गर्ने लक्ष्य लिनुपर्ने हो । तर यहाँ त विपक्षीमा हुँदा जस्तै असहिष्णु जवाफ दिएर पुनः सत्ता कब्जा गर्न सकिन्छ भन्ने भ्रममा सत्ता पक्ष लागेको जस्तो देखिन्छ । यस्तो हुनु प्रजातन्त्र, लोकतन्त्रको लागि किमार्थ राम्रो हैन । त्यसैले विनाशकाले विपरित बुद्धि भनेझैँ नभई सत्तापक्ष गम्भीर र जिम्मेवार हुने अपेक्षा गर्न सकिन्छ ।

लावण्य सन्देश वर्ष ८ अंक ३० को सम्पादकीयबाट

Post a Comment

0 Comments