शंखरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वरमा नेमकिपाको एमसीसी विरोधी प्रदर्शन




– कृस्टिना श्रेष्ठ –

२०७८ भाद्र २९ गते

लावण्य/साँखु । यही भाद्र २८ गते नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौताको विरोधमा शंखरापुर नगरपालिकाको साँखु बजारमा, कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा र गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा विरोध जुलुस तथा सभा गरेको छ ।

शंखरापुर नगरपालिकामा साँखुको साल्खा महादेवस्थानबाट सुरु भएको जुलुस सांखु बजार नगर परिक्रमा गरी पुनः साल्खा महादेवस्थानमै पुगी विरोध सभामा परिणत भएको थियो ।

विरोध सभामा समाजसेवी, बुद्धिजीवी वरिष्ठ ई.राजदास श्रेष्ठले अमेरिकी साम्राज्यवादले विभिन्न देशमा खर्बौँ डलर खर्चेर त्यहाँको राजनीतिक, आर्थिक, सांस्कृतिकरूपमा ध्वस्त गरेको स्मरण गर्दै नेपालमा पनि त्यही स्थितिमा ल्याउन एमसीसी सम्झौता अघि सारेको हो भन्नुभयो ।

नेपालमा विद्युत उत्पादन गरेर भारतमा लैजाने योजनामात्र होइन समाजवादी चीनविरुद्ध लड्न घेराबन्दी गर्ने लक्ष्य थियो, उहाँको कथन थियो ।

नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महनर्जनले देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरुङले एमसीसी सैन्य रणनीतिअनुरूप ल्याएकोले देशको सार्वभौमिकतामाथि आक्रमण गर्न सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा रमेश डंगोलले पनि बोल्नुभएको थियो ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा भएको विरोध जुलुस तथा सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष राजवीर डंगोलले एमसीसीका उपाध्यक्ष फातिमा सुनारले पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीहरुलाई भेटेर अलिकति गुलियो देखाएर अलिकति धम्क्याएर एमसीसीको पक्षमा ल्याउने प्रयास गरेको छ  भन्नुभयो । वहाँले पाँच पाँच पटक प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाले एमसीसी रोक्छ भन्ने आफुहरुलाई बिश्वास नलागेको बताउनुभयो । कार्यक्रममा नेक्राविसङ्घ अध्यक्ष प्रकाश गुरुङ र सह–अध्यक्ष सुरेश परियारले एमसीसी सम्झौता देशघाती भएकोले खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

गोकर्णेश्वर नगरमा भएको एमसीसीविरुद्धको जुलुस तथा सभामा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, नेक्राविसङ्घ अध्यक्ष प्रकाश गुरुङ र सह–अध्यक्ष सुरेश परियारले एमसीसी सम्झौता देशघाती भएकोले सबै नेपाली जनता सडकमा उर्लेर सरकारलाई दबाब दिनुपर्ने र खारेज नभएसम्म सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।



Post a Comment

0 Comments