मणिलिंगेश्वर वैतराग महात्म्य सहित शिवशक्तिको एक चर्चा





– प्रकाशमान श्रेष्ठ “सक्व”


मणिचुड क्षेत्र नौ “म” कारले संयुक्त भएको यस प्रकार छन्

१. मणियोगिनी, २. मणिचैत्य,

३. मणिकाल, ४. मणिधारा,

५. मणिलिंग, ६. मणिकुण्ड,

७. मणिपर्वत, ८. मणिनाग,

९. मणिविहार

शिव पञ्चतत्वको प्रतिक हो । पञ्चतत्वको महिमाले संसारका सम्पूर्ण चराचर प्राणीहरु प्राण चलायमान भैरहेका छन् । पञ्चतत्व प्रतिचिन्ह स्वरुप हरियो वर्ण पूर्व पहेँलो वर्ण दक्षिण नील वर्ण उत्तर रातो वर्ण र सेतो वर्णका शिव आकाश फर्केर विराजमान हुनुभएको छ । ती इशानदेव, अघोरदेव, वामदेव, तत्पुरुषदेव र सधोजात देव शिवमा पञ्चमुखी स्वरुपहरु हुन् । त्यस्तै आदिबुद्ध भनि बौद्ध मार्गीले चैत्य स्थापना गर्दा अभिताभ देव, अमोघसिद्धिदेव, अक्ष्योम्य देव, रत्नसम्भवदेव र वैरोचन देवका नामले पञ्चबुद्ध भनि सम्बोधन गर्दछन् । जुन पूर्व पश्चिम उत्तर दक्षिण र आकाशतिर फर्केका छन् ।

सनातन धर्मका यौटै रुखका हाँगाविंगाहरु शैव, वैष्णव, कृष्णप्रनामी, अघोरी, जैन, शिख, साईराम, ऊँ शान्ति भएजस्तै बौद्ध धर्मका हीनयान, महायान, बज्रयान, श्रावकयान, बोन, मिलेरेप्पा आदि धम्र्ममा वर्गिकरण भएका छन् । आखिर सबै धर्मको लक्ष परोपकार परमोधर्म नै हुन् । परोपकारकै लागि यस मणिचुड पर्वतमा यौटा राजाले आफ्नो शिरको मणि दान गर्ने क्रममा दुस्साहस गरी शिरोभाग चिर्न लगाएको पवित्र क्षेत्र मणिलिंगेश्वर क्षेत्र, मनमत्तानदी नामाकरण भएको हो । यसलाई कुनै कालमा मणिपर्वत भनि भन्ने गर्दथ्यो र यहाँ नव‘म’कारले संयुक्त भएको छ भनि लेखिएको साँखु बज्राचार्यको हस्तलिखित पुस्तकमा मणियोगिनी–१, मणिचैत्य–२, मणिकाल–३, मणिधारा–४, मणिलिंग–५, मणिकुण्ड–६, मणिपर्वत–७, मणिनाग–८, मणिविहार–९ ले संयुक्त गराईएको छ । यो छुट्टै महत्वका कुरा हुन् ।

स्वयम्भू पुराणको पाँचौँ अध्यायमा पनि मणिलिंग वैतराग तीर्थ महात्म्यको वर्णन गरिएको छ । त्यस अनुसार शांकेतु नगरका व्रह्मदत्त राजा र कान्तिमति रानीको गर्भबाट शिरमा मणि धारण गरेको बालक जन्म भएको कारण उसको नाम नै मणिचुड राखियो । त्यागी स्वभावको उक्त मणिचूड बाल्यकालदेखिनै तपस्वी, दानी स्वभाव भएको परोपकारी थियो । भवभूती ऋषीको आश्रममा विद्याआर्जन गरेका विद्वान मणिचूड राजा भएपछि आफ्नी रानी पद्मावती र राजकुमार पद्मोत्तर समेत दान गरेका थिए । त्यस्तै भोकाएका राक्षसलाई आफ्नै रगत मासु दान गरेको महिमा लेखिएका छन् ।

परापूर्वकालमा हालको यस शिवपुरी जंगल सहितको मेरुदण्डबाट निर्माण गरिएको बज्र अस्त्रलाई देवासुर स्रग्राममा असुरपक्षलाई पराजित गरिसकेपछि विधीविधानपूर्वक गाडिएको थियो । सोही बज्रशक्तिबाट भद्रकल्पको सत्ययुगमा पञ्चरश्मी अग्नी ज्वालामुखी उत्पन्न भई कालान्तरमा बज्रयोगिनीको शक्ति उत्पन्न भएको मानिएको छ । उक्त बज्रयोगिनी क्षेत्रमा योगेश्वर र योगिनी स्वरुपको शिवशक्तिरुपी धर्मधातु चैत्य र उग्रतारा आफ्ना सम्पूर्ण गणदेवी देवताहरुसहित गुप्तरुपमा विराजमान भएर रहेका छन् । त्यसैका प्रमाणस्वरुप शिवशक्ति जस्तै चैत्यहरु स्थापना गरिएकामा पञ्चबुद्ध स्वरुपी पञ्चमुखी शिवलिङ्ग र जलधारा समेत स्थापना गरिएका आजपनि हामी दर्शन पुजन गर्न सक्दछौँ । बज्रयोगिनी क्षेत्र वरपर देखि साँखु नगर भित्र त्यस्ता चैत्य लिंगहरु प्रशस्तै निर्माण गरि स्थापना गरि राखिएका छन् । साँखु नगर स्थापना गर्दा गागल, नागार्जुन, पालुवारी, गोल्मादेवी, च्ववही, गुदेख्वाः शासं नामका गाउँहरु समेटेर शंखको आकारको शंखरापुर बनाईएको कुरा मणिशैल महावदान पुस्तकमा यसरी श्लोकवद्ध गरिएका छन् । याते कलियुगे वर्षे शष्यकाश करीमही मासेच फाल्गुने चैव तिथौ गौरी शितै शुभै । सप्तग्राम समूहित्वा शंखपूरो भविष्यति ।। यस मणिलिंगेश्वर नदी मनमत्ता र शालिनदी त्यत्तिबेला शैलनदीको विभिन्न दोभानहरुमा वारह तीर्थहरु नौकुण्डल रहेको र यस शिवपुरी डाँडाबाट पनि बाह्रवटै नदी बगिरहेको कुरा स्वयम्भू पुराणमा वर्णन गरिएको पाइन्छ । त्यसमध्ये शैलनदी, मनमती, कागेश्वरी महादेव खोला, वागमती, विष्णुमती, भद्रमती, रद्रमती, इक्षुमती आदि नदीहरु हुन् । दुई नदी मिलेका घाटहरु शंखमूल, टेकु, गोकर्ण, हत्यामोचन, आर्यघाट, गौरीघाट आदि पवित्र र प्रख्यात छन् ।

त्यस्तै मणिलिंगेश्वर स्थानमा मणिझिकेर दहमा मणि पखालेको कारण मणिचुड दह प्रख्यात भई त्यस स्थानमा पनि मणिचुडेश्वर शिवलिंग प्रकट भएका थिए । मणिदान गरेको स्थानमा हाल पनि घुमारिचोकको क्षेत्रमा बज्राचार्य र अन्य बौद्धमार्गीहरुले अस्थिातु मृतक भष्म खरानी उडाउने कार्य गर्दै आईरहेका छन् । यसरी यस मणिलिंग, मणिचुड र मणिदान चैत्यमा श्रावण शुक्ल जनैपूर्णिमा ऋषीतर्पणीका दिन ठूलो मेला लाग्ने गर्दछ । यो अति प्रख्यात क्षेत्र हो ।

यसै मणिलिंगेश्वर नदी नै मनमत्ता नाम भई वग्दै गएर शालिनदीसँग मिसिएपछि मनोहरा नदीको नामले वागमतीसँग संगम हुन जान्छन् । मनोहरा नदीको नामाकरण पनि मणिचुड राजाकै मणिसँग सम्बन्ध रहेको बुझिन्छ । हालको टोखा सहर क्षेत्रलाई त्यत्तिबेला हस्तिनापुर नगर भनिन्थ्यो । त्यत्तिबेला त्यहाँ महामारी रोग फैलिएर हाहाकार भएको समयमा मणिचुड राजाले आफ्नो शीरको मणिदान गरी त्यसमणिको जल छर्केको प्रभावले महामारी रोग शान्त भएपछि मणि पुनः फर्काउन ल्याउँदा मनमत्ता र शालिनदीको दोभान हाल खुलालटारको खय्कुं तीर्थमा मणि पखाल्दा नदीमा मणि वगेर हराएको कारण त्यस ठाउँदेखि मणिहरण नदी भएको हो । हाल मणिहरण नदीको अपभ्रंश मनोहरा भएको बुझ्न सकिन्छ । त्यस खय्कुं तीर्थ स्थलको महात्म्य पनि रोचक रहेको यहाँ प्रस्तुत गर्न चाहन्छु ।

मञ्जुपतन नगरका प्रथम राजा धर्माकारले दैनिक खय्कुं तीर्थमा स्नान गरि उग्रतारा बज्रयोगिनी दर्शन गरी देश र जनताको लागि धन र आयु वरदान माग्ने गर्दथ्यो । उग्रतारा बज्रयोगिनीको प्रभावले मञ्जुपतन राज्यको वैभवशाली वर्णन सुनेर उज्जैनका राजा विक्रमादित्यले गुप्तरुपमा धर्माकर राजाको सेवा र चेवा गर्दै चियोचर्चोबाट बजयोगिनीबाट पारसमणी र मृत सञ्जिवनी प्राप्त गर्न सक्ने कुरो पत्ता लगाएपछि आफुले पनि धर्माकर राजाले भन्दा अगाडि नै खय्कसं तीर्थ स्नान गरी उग्रतारा बज्रयोगिनीको सेवा गरि खुसी तुल्याई पारसमणि र मृत सञ्जिवनी बुटी हात पारेर आफु उज्जैनबाट मञ्जुपतन आउँदा बाटामा बास बसेको घरको ब्राम्हणी बुहारी मारिएको दोष मुक्त गर्न सोही मृत सञ्जिवनी बुटीको रस खुवाएर ब्युँताई दिए । पारसमणिको सहायताले धेरै सुवर्ण उत्पादन हुने सुन खानी पत्ता लगाई दुनियाँको ऋण मुक्त गरि विक्रम सम्वत् सुरुवात गरि बज्रयोगिनीको सधैँभरी दर्शन गर्न आफ्नो प्रतिमा शीर राख्न लगाएको मिठो प्रसंग पनि जोडिएको स्थान यसै मणिलिंगेश्वरको महिमा सँग सम्बन्ध रही आएको छ ।

हालसम्म पनि बज्रयोगिनी देवीको बाह्रवर्षे न्यास विधी पूजा र मूर्ति स्थापना, जिर्णोद्धार कार्य गर्दा खुलालटारस्थित खय्कुं स्थानको पवित्र जल लैजानु पर्ने र कार्य सम्पन्न  पश्चात बज्रयोगिनीको फूलप्रसाद खय्कुं तीर्थमै बनाउनुपर्ने नियम चल्दै आईरहेको पाईन्छ । खय्कुं तीर्थ वरिपरि चैत्यहरु स्थापना गरिएको थिए भन्ने कुरा बुढापाकाहरुको भनाई छन् । नेवारी समाजमा चैत्यलाई ऊँ नमः चिभायः भनि सम्बोधन गर्दछन् । शिवलिंगलाई ऊँ नमः शिवायः । भनि सम्बोधन गर्दछन् । चैत्य र शिवलिंगलाई नेवारी समाजमा त्यत्तिकै श्रद्धा भक्तिले पूजा अर्चना धूपदीप पूजन कार्य गर्दछन् । उनीहरु दुवै चैत्य र शिवलिंगलाई लोकेश्वर भनि पूजा गर्दछन् । पशुपतिको शिवलिंगलाई कार्तिक शुक्ल अष्टमीका दिन मुख अष्टमी व्रत भनी पञ्चबुद्ध पगरी लगाई लोकेश्वर पूजा गर्दछन् । विरुपाक्षले आफ्नो गुरु नेमुनिको दर्शन माग्दा मृगस्वरुपी शिवलिंग दर्शन पाएको थियो । साँखुमा नेमुनिलाई मञ्जुश्री गुरु भनिन्छ ।

द्वापर युगमा पशुपति क्षेत्रलाई माहेश्वरपुर भनिएको कुरा महाभारतको वानप्रस्थान पर्वको पुलस्त्य यात्रा वर्णनको १२९ औँ स्लोकमा गरिएको छ । त्यसै सन्दर्भमा माहेश्वरपुरको शिवलिंग पशुपति देखि तीन योजन चारैतिर बाह्रकोश चारै दिशाकालाई कैलाश क्षेत्र भनिएकाले पाशुपत क्षेत्र भएको यो काठमाडौँ उपत्यकामा शिवलिंग नभएको कुनै स्थाननै छैन भनेपनि हुन्छ । त्यस्तो स्थानमा पनि मणिलिंगेश्वर क्षेत्रको नदी किनारामा मणिलिंगेश्वर महादेव मन्दिर नै स्थापना गरि मूर्ति स्थापना गरेको पावन क्षेत्र शिवशक्तिको दर्शन गर्न पाउनु हामीहरुको अहोभाग्य हो । श्रावण महिनाको पावन समयमा शिवदर्शन गर्न पाउनु ठूलो कुरा हो भने शिव दर्शन गरि आदि शक्तिमाताको पनि स्मरण गर्नु झन ठूलो पूण्य हो । त्यसकारण शास्त्रमा शिवसहित भवानी शंकरको दर्शन गर्न श्लोकवद्ध गरिएका छन् । कर्पुरगौरं करुणावतारं संसारसारं भूजगेन्द्र हारं ।। सदावसन्तं हृदयारविनदं भवं भवानी सहितं नमामी ।।

जहाँ शिव छन् त्यहाँ शक्ति हुन्छन् नै शिवशक्तिको संयुक्त नाम नै परमव्रह्म हो भनि वेद पुराण, उपनिषदले इंगित गरेका छन् । परमव्रह्म अनित्य, आदित्य, निरञ्जन निराकार, पुराण पुरुषोत्तममास नमो नमो भनि नमस्कार गर्ने त्यही व्रह्म हो जसलाई स्वयं व्रह्मा, वरुण, इन्द्र, रुद्र मरुत, वेद, वेदाङ्ग, उपनिषद्का श्लोक, ऋचाका पद् आदिले स्तुती गरेका छन् भनिएको त्यस्ता जाज्वल्यमान रश्मीले युक्त मणिबाट उत्पन्न लिंगेश्वरलाई वन्दना गरि हृदय फूलले हामी अर्पण गर्दछौँ । यस पावन भूमिमा शिव इच्छाले बनेको यस मन्दिरले कालान्तरमा यस क्षेत्रको ठूलो महिमा सहित यस मणिचुड डाँडाको मणिलिंगेश्वरको ज्योतिले समस्त कैलाशको इतिहास छर्लङ्ग पार्नेछन् भनि विश्वास गर्नेछन् । मन्दिर निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई साधुवाद टक्र्याउँदछौँ भवन्तु सव्व मगलम् । शिव सर्वदाकल्याण मस्तु ।।

जय श्री मणिलिंगेश्वर भगवानकी जय ।।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


Post a Comment

0 Comments