शंखरापुर नगरपालिकाले कोरोनाबाट नगरबासीलाई बचाउन १० हजार माक्स वितरण गर्ने !


लावण्य÷साँखु । छिमेकी मित्रराष्ट चीनको वुहानबाट सुरु भै संसारभर महामारीकोरूपमा फैलिएको कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न शंखरापुर नगरपालिकाले नगरवासीलाई १० हजार माक्स बाँड्ने निर्णय गरेको छ ।
सो निर्णयको लागि शंखरापुर नगरपालिकाको सभाहलमा आकस्मिकरुपमा सरोकारवालाहरुबीच छलफल गरिएको थियो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाईरसको उच्च जोखिमको क्षेत्रको रूपमा राखिएको र नेपाल सरकारले लकडाउनको तयारी गरेपछि  नगरपालिकाले यस्तो तयारी थालेको हो ।
सोही विषयमा मेयर श्रेष्ठको अध्यक्षतामा विपद् ब्यवस्थापन समितिको बैठक बसी नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा क्विक रेस्पोन्स टीम गठन गरेको छ । उक्त टीममा नौ वटै वडाका वडा अध्यक्षहरू, महिला विकास शाखाका प्रमुख, शिक्षा शाखाका प्रमुख, प्रहरीका प्रतिनिधि र संघ सस्था मध्येबाट नेपाल स्काउटका प्रतिनिधि सदस्य रहेका छन ।
बैठकले उप मेयर शुक्रलक्ष्मी श्रेष्ठको अध्यक्षतामा बजार अनुगमन समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरूमा वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र प्रहरीका प्रतिनिधि सदस्य रहेका छन ।
बैठकमा मेयर श्रेष्ठले १० हजार थान माक्स  नगर बासीहरूलाई वितरण गरिने जानकारी दिदै सेनिटाइजर र थर्माेमिटर समेत संघिय सरकार सँग माग गरिने बताउनुभएको थियो । वहाँले नगरपालिकामा हेल्पडेक्स स्थापना गर्नुका साथै प्रत्येक वडाहरूमा हेल्पडेक्स स्थापना गर्ने र पिपुल्स लाइफ केयर अस्पताल र सुषमा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा आईसोलेसन वार्डको ब्यवस्था गर्ने जानकारी दिनुभयो ।
नगरपालिकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्टाइन स्थलको रूपमा व्यवस्थापन गरिने र नगरपालिकाका  स्वास्थ्यकर्मीहरुलाई बिदा नबसी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको थियो ।
सरकारले दिएको निर्देशनलाई अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाई पनि बचाउँ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै कोरोना भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने बताउनुभयो ।
उक्त भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न सुझाब दिदै महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्थीले यसबारे घर–घरमा पुगी जानकारी दिनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।
वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले वडा स्तरमा पनि विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिदै सबै सचेत हुनु पर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका जिल्ला सदस्य जीवन श्रेष्ठले नगरपालिकाको नाका नाकामा हेल्पडेक्सको ब्यवस्था गर्न र तराईबाट कामको खोजीमा आउनेहरूलाई बिशेष निगरानी गर्न आग्रह गर्नु भयो । राप्रपा जिल्ला सदस्य रमेश नापितले सार्वजनिक यातायातका साधन मार्फत आउने यात्रुहरूलाई समेत चेक जाँच गरि सावधानी अपनाउनु पर्ने सुझाब दिनु भयो ।
बैठकमा नगरपालिकाका कार्यकारी प्रमुख भोजराज खतिवडा, ईलाका प्रशासन कार्यलय साँखुका प्रमुख खुमकान्त आर्चाय, महानगरिय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्थी, वडा अध्यक्षहरू हितमान तामाङ्ग,  राधाकृष्ण श्रेष्ठ, जीवन लामा र बुद्विबहादुर तामाङ्ग,  सुषमा कोइराला अस्पताल साँखुका वरिष्ठ प्रशासक हेम बिडारी, शंखरापुर स्वास्थ्य शाखाका प्रमुख विष्णु चापागाई, साँखु जेसिजका अध्यक्ष सरोज कुइकेल, लायन्स क्लब अफ साँखुका अध्यक्ष  भिन्तुना श्रेष्ठ, नेपाल स्काउटका धर्मभक्त मल्ल, शंखरापुर रेडक्रसका सभापति जगदिस श्रेष्ठ, सहकारी प्रतिनिधि राज्यलक्ष्मी श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरी पिपुल्स लाइफ केयर अस्पतालमा शंखरापुर नगर स्तरीय समन्वय समिति गठन गरेको थियो ।

Post a Comment

0 Comments