साँखु र पाटनमा नृसिंह जात्रा सम्पन्न




– कृशु श्रेष्ठ –

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

लावण्य÷साँखु । साँखुमा करीब ५० वर्ष अघिदेखि सुरु गरिएको नृसिंह (पूजा) जात्रा यस वर्ष कोभिड १९ को प्रकोपलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गरी यही भाद्र १२ गते शनिवार सम्पन्न गरिएको छ ।

गत वर्ष कोभिड १९ का कारण स्थगित गरिएको नृसिह पूजा यस वर्ष भने सञ्चालन गरिएको थियो ।

नृसिंह पूजामा भक्तजनहरुको न्यून उपस्थिति गराई पूजा औपचारिकतामा सीमित गरी सम्पन्न गराईएको थियो । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले साँखु बजार परिक्रमा गरेको थियो ।

साँखुको नृसिंह पूजा परम्परा भीष्म ज्वालानन्द राजोपाध्यायले सुरु गरेको जानकारहरु बताउँछन् । उहाँले दश अवतार नृत्य र अष्टमातृका नृत्य समेत समय समयमा प्रदर्शन गराउन अगुवाई गर्नुभएको सम्झन्छन् साँखुबासीहरु ।

यसैगरी ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भाद्र ११ गते शुक्रबार संम्पन्न गरिएको छ । ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ । यसपाली गाबहालका कोमलेशाननद राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको हो । 

नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।

तर यसपाली कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकोले जात्रा साधारण किसिमबाट सामाजिक दूरी कायम गरेर संचालन गरेको हो । कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ ।

नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

Post a Comment

0 Comments