परीक्षार्थीलाई कोभिड खोप दिईने








– क्रिस्टिना श्रेष्ठ –

२०७८ साउन २७ गते

लावण्य/साँखु । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. गौतमले बताएका छन् ।

मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।

साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले परीक्षार्थीलाई खोपको व्यवस्था गरेको प्रति सरकारलाई धन्यवाद दिँदै शैक्षिक सत्र अवरुद्ध नहुने गरी खोप लगाउन योग्य सबै विद्यार्थीलाई सरकारले खोपको व्यवस्था मिलाउन माग गरे ।

स्मरणरहोस् यही साउन २६ गते पद्मकन्या क्याम्पसमा परीक्षार्थीहरुले “नो भ्याक्सिन नो एग्जाम” भन्दै प्रदर्शन गरेका थिए ।

Post a Comment

0 Comments