![]() |
सुरेश बहादुर प्रधान |
–
– यव श्रेष्ठ – (writer)
कोरोना केही हैन, हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ, यसले केही हुँदैन । त्यसमाथि काठमाडौँको प्रदूष्णमा त कोरोना काठमाडौँ छिर्नासाथ निस्सासिएर मर्छ, भनेर साथिभाईहरुसँग ठट्टा गरेको थिएँ । नभन्दै १२(१३ महिनापछि आफ्नै सहर, गाउँ, छिमेकी र घर हुँदै, आज आफै यस भयानक रोगबाट प्रताडित भइरहेकी छु ।
यसले हालसम्म विश्वमा ३८ लाख ३८ हजार भन्दा बढी मृत्यु भएको र नेपालमा पनि ८ हजार ५ सय भन्दा बढीको ज्यान लिईसकेको छ । कोरोना कहरले अझै सताउन छाडेको छैन । आफ्ना चिनेजानेका देशका लागि महत्वपूर्ण व्यक्तित्वहरु समेत यसको सिकार भईसकेका छन् । सम्पूर्ण ज्ञात अज्ञात दिवंगतहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
ती होनहार र महत्वपूर्ण व्यक्तित्वहरुमध्ये साँखुका आदरणीय स्व. सुरेशबहादुर प्रधान पनि यो महामारीको चपेटामा परेर दिवंगत हुनुभयो भन्ने कुरा सुन्नमा आयो । यो समाचार झुठो भइदेओस् जस्तो लाग्थ्यो तर त्यसो भएन । जहिले पनि श्री सुरेशबहादुर प्रधान लेख्ने बानीमा अब स्वर्गिय लेख्न बाध्य हुनुप¥यो ।
सायद हामीलाई राम्रो लाग्ने कुरा भगवानलाई पनि राम्रो लाग्ने होला, त्यसैले सबैको प्यारो सुरेश दाईलाई पनि कालले यति छिट्टै लिन आयो ।
सुरेश दाई सँगको मेरो झण्डै ३ दशक देखिको संगतमा मैले कुराहरु जान्न र सिक्ने अवसर पाएँ । कुनै कुरा वहाँको सिकाई र कुनै कुरा वहाँको व्यवहारबाट सिकेँ र कुनै कुरा वहाँको जीवन संघर्षबाट देखेर सिकेँ ।
मलाई वहाँको मन पर्ने बानी सुखमा नमात्तिने र समस्यामा नआत्तिने, आफुले कुनै भाव व्यक्त नगरिकन शान्तसँग सामना गर्ने वहाँको बानी थियो । जस्तै रिसाहा मान्छे होस् वा वहाँलाई आक्रमण नै गर्न आउने मान्छेलाई पनि आवेगमा आएर नकारात्मक प्रतिक्रिया गर्नु हुन्नथ्यो ।
साह्रै रिस उठेको भए पनि मुख राता पारी चुपचाप बस्नुहुन्थ्यो । केही शान्त भए पनि आफ्नो तर्क सहित जवाफ दिनु हुन्थ्यो । कसैसँग वहाँलाई रिस उठ्यो वा चित्त दुखिरहेको भए पनि कहिल्यै नकारात्मक रुपमा देखाउने वा व्यक्त गर्ने गर्नु हुन्नथ्यो । हामीलाई पनि भन्ने गर्नुहुन्थ्यो कोही सँग पनि रिसा रिस गरेर काम छैन, शत्रुलाई जवाफ दिने भनेको कामले गरेरै देखाउने हो ।
साँखुमा कुनै पनि सामूहिक कार्यमा वहाँको चासो र सक्रियता हमेशा रहन्थ्यो । मिलेसम्म आफु प्रत्यक्ष सहभागी हुने नमिलेमा हौसला र प्रतिवद्धताले साथ दिने । वहाँको राम्रो बानी थियो । हामीलाई जहिले पनि भन्ने गर्नुहुन्थ्यो, युवाहरुले नै समाज र राष्टूमा परिवर्तन ल्याउने हो, तिमीहरु कुनै पनि बहानामा पछि पर्नु हुन्न, राम्रो कामको लागि पाइला अघि बढाउन जस्तो संघर्ष गर्न पनि तयार हुनु पर्छ ।
यो उमेरमा नगरे कहिले गर्ने, तिमीहरुले नगरे कस्ले गर्ने ? वहाँकै पे्ररणा र हौसलामा हामी केटीहरुमा एक किसिमको उत्साह र जाँगर मौलायो, हामीले पनि समाजको परम्परागत चलन र सिमा भन्दा एक पाईला अघि बढ्ने हिम्मत ग¥यौँ । जसको सुरुवात साँखु क्षेत्रमा वृहत आँखा शीविर र मोतियाविन्दु अपरेशन शीविर गर्ने र सो को लागि आर्थिक स्रोत जुटाउन शालिनदी मेलामा चन्दा संकलन गर्ने हिम्मत गरेर योजना बनायौँ ।
२०५२÷५३ सालतिर बाकस÷सल थापेर दिनमा १० हजार सम्म आर्थिक क्षत्रे संकलन गर्न सफल भयौँ । त्यो पहिलो दिनको सफलताले हामीलाई निकै हौसला दिएको थियो घरको गाली समाजको हेपाई र खिसी छँदै थियो । तर पनि हामीमा एक किसिमको बेग्लै जोश र जाँगर आएको थियो । पछि केटीहरु २० जनाभन्दा बढी साँखु बजार र सेरोफेरोबाट समावेश हुन थाल्यो ।
त्यही समूह नै स्वास्थ्य शीविर, आँखा शीविर, सडक नाटक जस्ता थुपै्र कामहरुमा लाग्यौँ । सायद साँखु भेगमा अहिलेसम्म त्यही समूह होला केटीहरु मात्र मिलेर सबै कार्य निर्देशन, कथा लेखन, अभिनय सबै आफै गर्ने । यसको पहिलो र प्रमुख श्रेय सुरेशदाईलाई नै जान्छ ।
सुरेश दाइ आफु र परिवार साँखुमा नबस्ने भए पनि साँखुको लागि जहिले पनि चिन्तशील र सक्रिय रहने वहाँको बानी मृत्यु अघिसम्म पनि रह्यो । पछिल्लो पटक गत बैशाख ७ गते सक्व दिवको दिन दिनभरी जस्तै सँगै सँगै थियौँ । धेरै विषयमा कुराकानी भयो । साँझको भोज सकेर छिट्टै भेट्ने भन्दै छुट्यौँ । त्यो वहाँको बाचा कहिल्यै पूरा नहेन गरी जानु भयो ।
यो क्रुर कोरोनाको कहरबाट आफै प्रताडित भई ओछ्यानमा थला परेको बेला देशभरीको समाचार, अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीहरुको बेहालको समाचारले छटपटी र बेचैन बनाउँथ्यो । आफुले सकेसम्म घरमै बसेर ज्वरोलाइ नियन्त्रण गर्न संघर्ष गरिरहेकी थिएँ । साँखुको समाचार त्यसमाथि चिनजान, आफन्तको समवेदनाको समाचार देख्दा र सुन्दा मनमा साह्रै औडाहा हुन्थ्यो । न त कसैलाई केही गर्न सक्थेँ न त कुरा गर्न नै । त्यो मेरो बसको कुरा थिएन । आफु छिट्टै कोरोनालाई जितेर निको भए अरुलाई बचाउन सकिन्छ भन्ने मनमा राखेर सकेसम्म शरीर दिमागलाई सक्रिय राख्न खोज्थेँ । निद्रा पटक्कै नलाग्ने, ओछ्यानबाट उठेर एकछिन बस्न नसक्ने यस्तो अवस्थामा सुरेश दाईको दिवंगतको अपुष्ट समाचार सुनेँ । झनै छटपटी भयो । कसलाई सोध्ने फोन गरेर सोधखोज गर्ने मसँग शक्ति थिएन । कतिलाई एसएमएस गरेर सोधेँ कसैले केही भन्दैन । खैर यो समाचार झुठ होस् भनि प्रार्थना गरेर बसेँ ।
यस बीचमा जेष्ठ ४ गते हाम्रो कलेजको साथी (सुरेश दाईका विद्यार्थी)ले फेसबुकमा फोटो सहित श्रद्धाञ्जली भनेर पोष्ट गरेको देखेँ । मनलाई थाम्नै सकिन । मैले समाचार झुठो होस् भनेर पुकारेको निरर्थक भयो । मैले त आफु बिरामी भएको पनि बिर्सेँ र रोएँ । एक्लै आईसोलेसनमा रहेको कारण, किन रोईस् भन्ने पनि थिएन, नरोऊ भन्ने पनि कोही थिएन । अस्तिसम्म कुनै न कुनै, केही न केहीको मात्र हाम्रा सुरेश दाई । हामीलाई आपतमा पनि खुशी पनि भेटेर कुराकानी गर्ने ढाडस दिने व्यक्ति । विशेष गरी आपत पर्दा समाधानको लागि भेट्थ्यौँ, फोन गथ्र्यौँ । तर आज अचानक बितेको समाचारले विगतमा वहाँको सबै आनी बानीहरु मेरो वरिपरी घुम्न थाल्यो । वहाँले गर्नु भएको सबै व्यवहारहरु कुराकानी, हामीलाई वहाँले जीवनका विविध परिस्थितिमा सघाउनु भएको अवस्थाहरु सम्झिन थालेँ ।
यो परिस्थितिमा मैले सम्झेर आँशु झार्न र दुई शव्द श्रद्धाञ्जली दिनु बाहेक केही गर्ने अवस्था थिएन र छैन । त्यही सम्झेर जेष्ठ ४ गते मैले फेसबुकमा श्रद्धाञ्जली पोष्ट गरेँ । आफैले आफैलाई सान्त्वना दिएँ । त्यसको भोलिपल्ट साँखुका साथिहरुले उल्टै मलाई सोध्यो, किन फेसबुकमा समवेदना राखेको, तिमीलाई थाहा छैन ? भनेर । म अचम्ममा परेँ । पे्ररक व्यक्तिको अकल्पनीय मृत्यु हुँदा, शोक र सम्मान पनि व्यक्त गर्न नपाउनु , यो त मेरो अधिकार र सामाजिक सञ्जालको सही उपयोग गरेँ जस्तो लाग्यो ।
तर पनि के रहेछ कारण सोध्न मन लाग्यो फेरि साथिहरुलाई सोधेँ किन र कसैले राखेका छैनन् ? मैले त फेसबुकबाटै थाहा पाएको हो भनी, अनि बल्ल साथिले भन्यो कि परिवार आफन्तको आग्रहमा कसैले नराखेको भन्यो । यो सुन्दा मलाई झनै नमन्जा लाग्यो । मैले त आफ्नो तर्फबाट मात्र सोचेछु अरुको इच्छा र अवस्था बारेमा त सोचेकै रहिन छु, जस्तो लाग्यो ।
फेरि अर्को मनले सोचेँ सुरेशदाईले पहिला पहिला विशेष अवसरहरुमा साँखुबाट मलाई क(कस्ले शुभकामना दिन्छ भनेर कुरिराखेको थिएँ, तिमीहरुले पठाएनौ भनेर गुनासो गर्नुहुन्थ्यो । त्यसबेला मैले वहाँलाई उल्टै घुक्र्याउँथेँ । तपाइँले पठाउनु भयो त ? राम्रो काम जस्ले अगाडि सुरु गरे नि हुन्छ । तपाइँले पहिला लेखेको भए धन्यवाद सहित तपाइँलाई शुभकामना फर्काउँथेँ नि !
नमस्कार आफुले गरे, सो जवाफमा नमस्कार फर्काई हाल्छ नि, यस्तो सानो कुरालाई लिएर गुनासो गर्नुहुन्छ तपाइँ भन्थेँ । यी कुराहरु सम्झेर होस जे गरेँ गरेँ सुरेश दाईकोलागि ठीकै गरेँ जस्तो लाग्यो मलाई ।
यत्तिकैमा जेष्ठ नौ गते कलेजबाट अनलाईन मै शोक सभा ग¥यो । अनलाईन सभामा सबै सहभागीहरु भावविह्वल अवस्थामा श्रद्धाञ्जली व्यक्त गर्दै थिए । वहाँले विगतमा कलेजका लागि गरेका राम्रा कामहरुको छोटकरी भिडियो पनि राखेका थिए र वहाँको छोराले सुरेशदाइको बच्चा बेला देखि हालसालैको ताजा फोटो सहितको छोटो प्रस्तुती सम्झनामा राखेका थिए, त्यसले सबैलाई रुवायो । मलाई लाग्छ सुरेश दाई यी सबै घटनाहरु कहिँ आकाशबाट हेरिरहेको छ र आफुलाई सम्झिनेहरुलाई भनिरहेको छ यिनीहरुले मलाई सम्झेछ ।
२०५३ साल तिरको कुरा हो, शर्मिला र मैले केटीहरु मात्र मिलेर साँखुमा मौलिक हक र महिला अधिकार विषयमा सडक नाटक गर्ने योजना बनायौँ । हाम्रो योजना सुरेशदाइ सहित सबैलाई सुनायौँ । सबैले ठिक छ भन्नुभयो । सुरेश दाईले खुशी हुँदै भन्नुभयो, यो त साह्रै राम्रो हुन्छ । यस्तो सृजनशील काममा तिमीहरुलाई म सकेको सहयोग गर्छु अघि बढ भनेर हामीलाई उर्जा थपिदिनु भयो ।
दुःखम् सुखम हामीले ६ जना केटीहरु मिलेर नाटकको कथा लेखन, निर्देशन, अभिनय अभ्यास गर्ने सबै काम साह्रै दुःखका साथ ग¥यौँ । तयार भएपछि पहिलो परीक्षण सो साथिहरुलाई देखायौँ । सबैको राम्रो प्रतिकृया आयो । तर पनि जनमानसमा जान हामी डराई रह्ेका थियौँ, सुरेश दाईले हौसला दिँदै हामी पनि बस्छौँ, गर भन्नुभयो । हामी पुलकित हुँदै नाटक देखाउन तयार भयौँ ।
नाटक चलाखु टोल, साँखु बजारमा देखाउने तय भयो । प्रचार पनि गरियो । माघ महिनामा दिन गते याद भएन २ बजे नाटक प्रदर्शन गरियो । सोचेभन्दा पनि निकै ठूलो जनसहभागिता÷दर्शकको उपस्थिति रह्यो । कार्यक्रम सकेपछि चिया खाँदै समिक्षा पनि गर्ने कुरा भयो । समिक्षामा सबै जसोले पहिलो प्रयास राम्रै छ तिमीहरुलाई बधाई छ अझ अगाडि बढ भन्नुभयो । बीचमा उठेर विश्वेश्वर दास श्रेष्ठ दाजृुले तिमीहरु नरिसाउने भए एउटा कुरा भन्छु भन्नुभयो । भन्नुस् न के कुरा हामी सबैले एकै स्वरमा भन्यौँ । वहाँले भन्नुभयो सडक नाटक भनेको के हो र यसको विशेषता के हो तिमीहरुलाई थाहा छ ? यति कुरा जानेर अघि बढेको भए सुनमा सुगन्ध हुन्थ्यो । आइन्दा सडक नाटक देखाउँदा यो यो कुरा याद राख्नु भन्नुभयो । बल्ल थाहा भयो । हामीलाई सघाउँछु नाटक गर भन्नेहरु किन दर्शक दिर्घाका पछि पछि बसेका थिए भनेर । हामी सबै रिसायौँ र भन्यौँ ( “लँय् खिफाय् कतः दुफ्वाय्” ।
सुरेश दाईले बिस्तारै उठेर हाँस्दै भन्नुभयो । तिमीहरुले जे ग¥यौ ठिकै ग¥यौ त्यसमा कुनै अपराध र गल्ती भएको हैन । यदि मैले यो मिलेन त्यो मिलने यसो गर उसो गर भनेर प्रत्येक कुरामा सुझाव र निर्णय दिन थाल्यो भने, तिमीहरुमा सृजनात्मक नयाँ कुराहरु आउँदैन र स्व(निर्णय गर्ने क्षमताको पनि विकास हुँदैन ।
यो पटकको कामले तिमीहरुमा जुन किसिमको आत्म बिश्वास अनि सन्तुष्टि आयो । त्यो अरुको निर्देशन, अरुको भरमा गरेको भए आउँदैनथ्यो । सबै कुरा “लर्निङ बाई डुईङ” गर्दै जाने सिक्दै जाने । आगामी दिनमा राम्रा र नयाँ काम गर्दै जानु, तिमीहरुलाई शुभकामना भन्नु भयो । हामी पनि वहाँको कुरा सुनेपछि रिस सबै खुशीमा परिणत भयो ।
त्यहि एक दिनको अनुभवबाट हामीले धेरै कुराहरु सिक्यौँ । पछि साँखुकै केटीहरु १०(१२ जना मिलेर साँखु तथा वरपरका गरी १० वटा भन्दा बढी गाविसहरुमा विभिन्न समसामयिक विषयमा सडक नाटक गरेका थियौँ । जुन कामका लागि सुरेश दाइको हौसला अनि उत्पे्ररणाले काम ग¥यो । त्यही नाटक समुहको सुरुवात देखि नै सृजनात्मक र सक्रिय साथी ज्ञानु महर्जनको पनि अति दूर्लभ किसिमको बाथरोगका कारण केही वर्ष अघि स्वर्गारोहण भयो, उनलाई हामी सबैको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
शिक्षा क्षेत्रको एउटा प्रसंग
सुरेशदाइका पेशागत क्षेत्रका साथिहरु मिलेर नेपालको मध्य पश्चिमाञ्चल विश्व विद्यालय र ईटलीको पाभिया युनिभर्सिटीको समन्वय र सम्बन्धनमा स्नातकोत्तर (एम.ए.) कक्षा सञ्चालन गर्दै आईरहेको छ । प्रमुख विषय अन्तर्राष्टिूय सम्बन्ध र विकास (मास्टर इन इन्टरनेसनल कोअपरेशन एण्ड डेभलपमेन्ट (ःक्ष्ऋम्) विषयमा पढाई हुन्छ । एक दिन मलाई फोन गरेर कलेजमा भेट्न बोलाउनु भयो । नजिकै भएकाले मलाई कुनै गाह्रो थिएन । म भेट्न भनेर गएँ । त्यहाँ त अरु पनि चिनेका सरहरु भेटेँ । जो मेरो पेशागत जीवनमा चिनेका र कोही सुरेशदाइको अफिसमा जाँदा चिनेका सरहरु हुनुहुँदो रहेछ । सबैसँग रमाईलो कुराकानी भयो । मलाई एमआईसिडी पढ्नलाई बोलाउनु भएको रहेछ । म त्यस कलेजको दोस्रो ब्याचको विद्यार्थी हुँ । नयाँ कलेज, नयाँ विषय र भर्ना प्रक्रिया पनि लामो रहेछ ।
त्यसैले पनि रहर भएर पनि जो पायो त्यसले पढ्न नपाउने । मलाई सबै सरहरुले ल तिमीले यो कोर्स मज्जाले पढ्न सक्छौ र यो तिम्रो लागि उपयुक्त छ । त्यसैले अगाडि बढाइ हाल्नु भन्नुभयो । अझ इच्छा छ भने ईटलीमा नै गएर पढ्न गए पनि हुन्छ हामी प्रक्रिया मिलाई दिन्छौँ भन्नुभयो । मलाई भने पढ्न रहरै थिएन, तर पनि केही निर्णय नगरिकन घरमा सल्लाह गर्छु भनेर फर्केँ । त्यही दिन ईमेलमा निर्देशिका, चिनारी र प्रवेश परीक्षा फाराम पठाई दिनु भयो । मैले अरु बेला भन्दा आजको भेटमा सुरेश दाई अझ बढी खुशी भएको पाएँ । अध्यापन क्षेत्रमा आएर वहाँ अझ सन्तुष्टि भएर होला, जस्तो लाग्यो मलाई ।
कामको सिलसिलामा म सिराहा गएँ । केही दिन पछि राति सुरेश दाईको फोन आयो, अहिलेसम्म पनि मेरो फाराम भरेर आएन भनेर त्यो रात वहाँले गाली पनि गर्नुभयो, अति लापरवाही ग¥यो भनेर, ती सबै मेरो साथिले सुनिराखेको थियो, पछि साथिले पनि गाली ग¥यो, त्यस्तो राम्रो विषय नेपाल मै पढ्न पाएको बेला नछोड । भोलि नै काठमाडौँ जाउ, यहाँको सबै काम म व्यवस्था गर्छु पछि काठमाडौँ आएर तिमीलाई अवगत गराउँछु भन्यो । भोलिपल्ट दिनभरीको काम सकाएर रात्रिबस चढेर काठमाडौँ आएँ र आवश्यक कागजात सहित कलेजमा सम्पर्क गर्न गएँ । मेरो पढाई अघि बढ्यो । कक्षाका सहपाठीहरु पनि पाको र पेशागत दख्खल हासिल गरिसकेकाहरु बढी भएकाले पढाई रमाईलो सँग अघि बढ्यो । बिच बिचमा जाँच हप्तेवारी समिक्षा पत्रहरुमा समय मिलाउनलाई कहिलेकाहिँ गाह्रो हुन्थ्यो । कहिले घरायसी व्यवहार, कहिले काहिँ पेशागत काम । तर पनि दुःखम् सुखम् गरी पढाई सकाएँ, सबै साथिहरुको पेशा, व्यवहार, कार्यक्षेत्र उस्तै उस्तै भए पनि कामको प्रकृति र उद्देश्य फरक भएकाले अनुभव आदानप्रदान गर्ने, सिकाई हस्तान्तरण गर्ने भएकाले पनि पूरै पढाई अवधि रमाईलोसँग सकियो ।
पढ्न जाँदा कसैको करले गएको लागे पनि सकेपछि राम्रो लाग्यो । एउटै विषयलाई पनि पहिले पहिले बुझ्ने अहिले विश्लेषण गर्नेमा म मा फरक पन आयो । आत्मबल पनि फरक किसिमले विकास भयो ।
सबै नयाँ भौतिक निर्माण मात्रै विकास हैन र पैसा धेरै हुनु, विदेशी सहयोग आउनु, राष्टिूय÷अन्तर्राष्टिूय संस्था धेरै हुनु मात्र विकास हैन भन्ने विश्लेषण र अध्ययन गर्न सिकेँ । आन्तरिक र बाह्य राष्टूमा सामाजिक, राजनैतिक र आर्थिक सम्बन्ध विकास र यसका चुनौतिहरु बारेमा थाहा पाउने र विश्लेषण गर्ने तरिकामा फरकपन म मा आयो ।
पहिला सुरेश दाइका कारण मात्र पढ्न गएको जस्तो लागेपनि पछि वहाँलाई खुशी भएर धन्यवाद दिएँ । र खुशी छु पनि । मान्छेलाई आर्थिक र भौतिक सहयोग भन्दा पनि हौसला र उत्पे्ररणा ठूलो रहेछ । जुन मैले सुरेश दाईबाट हमेशा पाइरहेँ । सुरेशदाई सेभ द चिल्डेङन युकेमा हुँदा सामुदायिक विकास क्षेत्रमा लाग्ने कर्मचारीहरुलाई दिने वहाँहरुको आन्तरिक तालिममा पनि मलाई सहभागी गर्न दिनुहुन्थ्यो । त्यही दौरानमा त्यहाँको थुप्रै तालिममध्ये त्यो समयमा मेरो लागि अति महत्वपूर्ण जस्तै, द्वन्द्व व्यवस्थापन, प्रशिक्षक प्रशिक्षण तालिम, संस्था व्यवस्थापन तालिम आदि लिने अवसर मिलाई दिनु भएको थियो । पछि मैले आफ्नो कामको दौरानमा कतिपय नयाँ काम गर्न नजानेको सिक्न र सन्दर्भ सामग्री लिनको लागि वहाँले आफ्नो अफिसमा बोलाउनु हुन्थ्यो विषयगत कर्मचारीलाई चिनाई दिनु हुन्थ्यो अनि सिकाउन सघाउने, आवश्यक विषयगत सामग्रीहरु दिनुहुन्थ्यो ।
ती सबै प्रत्यक्ष अप्रत्यक्ष सहयोगले मेरो जीवनमा महत्वपूर्ण भूमिका रहि रह्यो ।
ती सबै अमल्य सहयोग र गुणहरुका लागि सुरेश दाई प्रति आभार, श्रद्धा र सम्झना सधैँ रहिरहनेछ ।
अलविदा सुरेश दाइ !
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


0 Comments
Thanks for your concerns