थपिए भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना संक्रमित, नेपालमा झण्डै ६ हजार



लावण्य/साँखु । शनिवार भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।

कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक संक्रमितको संख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

सोही दिन नेपालमा नेपालमा एकै दिनमा अहिलेसम्मकै रेकर्ड कायम हुने गरी संक्रमित फेला परेका छन् । सो दिन थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

योसँगै अहिलेसम्म भारतमा कूल सङ्क्रमितको सङ्ख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरूको संख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

नेपालमा पनि नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् । प्रदेश १ को झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ को पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन् । कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित फेला परेका छन् ।

नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १०३ जना, संस्थागत आइसोलेशनमा ३ हजार ११० जना, आईसीयूमा ४०१ जना र भेन्टिलेटरमा ११० जना रहेका छन् । १२ वटा जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् जसमा काठमाडौँ उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । १७ वटा जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपाल र भारतको तथ्यांक हेर्दा नेपालमा पनि अझ संक्रमित थपिँदै जाने देखिन्छ । अहिलेनै सरकारले हात उठाईसकेको अवस्थामा संक्रमितको उपचार एवं रेखदेखको लागि स्थानीय स्तरमा स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुले मिलेर आईसोलेसन सेन्टर र आकस्मिक उपचार कक्षहरु तयारीरुपमा राख्नु जरुरी देखिन्छ ।

Post a Comment

0 Comments