कोभिडको संक्रमण दोहोरिन नदेऊ !



सरकारले केही दिन अगाडि सार्वजनिक सवारी साधनमा मास्क नलगाउनेलाई कारवाही गरिने सूचना जारी गरेको छ । साथै भीडभाडमा दूरी कायम गर्न एवं मास्क र स्यानिटाईजरको प्रयोग गर्न अपिल गरेको छ । साथै स्कूलहरुलाई पनि कोभिड १९ को मापदण्ड पूर्णरुपमा प्रयोगमा ल्याउन निर्देशन दिएको छ ।

भारतमा कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेको छ । गत महिना (फागुनको ३ गते) नयाँ संक्रमित भेटिने दर दैनिक लगभग ९ हजारमा झरेकोमा चैत १० का दिन ४४ हजारको आसपास पुगेको छ । केही राज्यहरूले फेरि बन्दाबन्दी (लकडाउन) लगायतका उपाय अपनाउन थालेको समाचार छ ।

भारतमा बढेपछि नेपालमा पनि संक्रमण फैलने जोखिम बढ्छ । खुला सीमा र निर्वाध आवागमनका कारण भारतबाट फर्केकाहरूबाट नेपालभित्र सङ्क्रमण फैलनु स्वाभाविकै पनि हो । संक्रमण फैलने जोखिमका कारण नै सरकारले भिडभाड हुने गतिविधि नगर्न उर्दी गरेको हुनुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै भौतिक दूरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई सजग गराइएको छ । साथै, सरकारले तत्काल बन्दाबन्दी (लकडाउन) नगर्ने आश्वासन पनि दिएको छ ।

नेपाल सरकार जनस्वास्थ्यप्रति खासै गम्भीर हुनेगरेको उदाहरण बिरलै पाइन्छ । अहिले पनि सरकारले विज्ञप्ति जारी गरेर जनतालाई सावधान गराएपछि आफ्नो दायित्व पूरा भएको ठानेको हुनसक्छ । उता समुदायमा पनि कोभिड–१९ को महाव्याधिलाई परास्तै गरेजस्तो ठानिएको देखिएको छ ।

सहरको अपेक्षाकृत शिक्षित भनिएको समुदायमा समेत अहिले चरम हेलचेक्य्राइँ भएको पाइन्छ । भौतिक दूरी त कतै कसैले पनि कायम राखेको देखिँदैन । मास्ककै प्रयोग पनि अधिकांशले झारा टार्ने शैलीमा गर्ने गरेका छन् । गाउँको अवस्था पनि यसभन्दा खासै फरक देखिँदैन ।

नेपालमा पनि भारतको अनुदानबाट प्राप्त खोपले जगाएको आशामा अहिले अनिश्चयको तुवाँलो लागेको छ । पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका अर्को मात्रा बेलैमा पाउनेमा ढुक्क हुन सकिएको छैन भने सरकारले बेलैमा निर्णय नगर्दा निजी क्षेत्रले छिटै खोप ल्याउन सक्ने अवस्था छैन ।

महाव्याधि कोभिड–१९ भने झम्टी झम्टी फर्किइरहेको छ । यसैले जनस्तरबाटै सावधानी अपनाएर महाव्याधिको प्रकोप साम्य बनाउनु आवश्यक छ । खोपको दोस्रो मात्रा समयैमा उपलब्ध गराउन सरकार पनि गम्भीर बनोस् ।  गत वर्ष सरकारको अकर्मण्यता, भ्रष्टाचार र हेलचेक्य्राइँका साथै जनताकै पनि असावधानीका कारण नेपालीले धेरै खती सहेका छन् । अब यस्तै क्षति फेरि सहन परे राज्य र समाज दुवैका लागि निकै महँगो पर्नेछ ।

Post a Comment

0 Comments