मेरो अमेरिका यात्रा –१९


ई. राजदास श्रेष्ठ
साँझ, बिहान, बेलुका जहिले नि त्यही, युग कविका “मेरो प्यारो ओखलढुङ्गा”को गीत गाउँदै आफ्नो मनलाई सान्त्वना दिँदै इण्डियन रेष्टुराँहरुमा कहिले कूकको रुपमा कहिले वेटरको रुपमा त कहिले मेनेजरको रुपमा काम गर्दै दिनहरु बिताउँदै थिएँ म अमेरिकामा ।
धेरैजसो नेपाली भाईबहिनीहरु अमेरिकामा यस्तै यस्तै शारीरिक काम गरेर बसेको देख्दा मलाई धेरै चित्त दुःख्थ्यो र मन मेरो रुन्थ्यो । मन मनै सोच्थेँ किन यस्ता युवक युवतीहरु साराका सारा अर्काको देशमा आएर यसरी विदेशीको नोकरजस्तो भएर, दोस्रो दर्जाको मान्छे भएर बाँच्न आएका होलान् भनेर । आफ्नो बारेमा भन्दा नि म अरुको बारेमा सोच्न थालेँ । आफु त ५० वर्ष नाघिसेको ६० वर्ष पुग्न लागेको डुब्न लागेको घामजस्तो मान्छे, जसो तसो जिउँला चलाउँला भन्ने सोच्थेँ, तर लाखौँ लाख जवान युवक युवतीहरुको दुर्दशा, देख्दा सुन्दा म धेरै भावुक हुन्थेँ र मन मनै प्रार्थना गर्थेँ, “हे भगवान् छिट्टै हाम्रो देश नेपालले विकास र प्रगतिको बाटो समातोस् र हाम्रा देशका नागरिकले आफ्नै देशमा आफ्नो मिहिनेतले पसिना बगाएर कमाई खान पाओस् ।”
त्यस बेला नेपालमा माओवादी जन आन्दोलनले उग्र रुप लिई रहेको थियो र जनयुद्ध बिसर्जन हुँदै पहिलो संविधानसभाको निर्वाचन भैराखेको थियो ।
म स्वयम् एक कम्युनिष्ट विचारधाराबाट प्रभावित मान्छे, त्यसकारण मैले भित्री हृदयदेखि माओवादी आन्दोलनलाई समर्थन गर्दै आईरहेको थिएँ । र संविधान सभामा माओवादीहरुको विजयको खबर टिभीमा देख्दै गर्दा म धेरै खुशी भएको थिएँ । त्यही विजयको हर्षोल्लासमा मैले दशौँ हजार डलर खर्च गरेर नेपाली साथिभाई बहिनीहरुलाई हप्तै पिच्छे पार्टी भोज ख्वाउँथेँ र माओवादको बखान गर्थेँ । धेरै साथीहरुले मेरो कुरामा समर्थन जनाउँथे भने कसै कसैले भन्थे, “दाई बन्दूकको भरमा जितेको हो माओवादीले चुनाव, यदी स्वच्छ र स्वतन्त्र निर्वाचन गरे माओवादीले एउटा पनि भोट ल्याउँदैन ।”
अर्को साथी जो नेपालमा चुनाव हुँदै गर्दा अमेरिका आएका थिए उहाँले मलाई सोधे, “दाई तपाइँलाई कस्तो लाग्छ, काँगे्रस आउँछ कि माओवादी आउँछ पहिलो स्थानमा ?” उहाँ काँगे्रसका नेता गिरिजाप्रसादका समर्थन थिए र गिरिजाप्रसाद देशको प्रथम राष्ट्रपति हुनुपर्छ र हुन्छ भन्ने गर्नुहुन्थ्यो । मैले उहाँको चित्त बुझाउनको लागि भनेँ, “पहिलो स्थान नेपाली काँगे्रसले नै ल्याउँछ होला र दोस्रो स्थानमा माओवादी आउँछ होला ।” मेरो भनाईमा उहाँ खुशी हुनु भो, तर चुनावको नतिजाले माओवादीलाई नै पहिलो स्थानमा राखिदियो । मलाई पनि धेरै खुशी लाग्यो र ५० सौँ वर्षदेखि समर्थन गर्दै आएको कम्युनिष्ट राजनीति देशमा हावी भएकोमा आत्म गौरवको अनुभूति भयो ।
यही सिलसिलामा मैले आफ्नो फेसबुक अकाउन्ट खोल्दा एउटा प्रश्नको जवाफमा म कम्युनिष्ट विचारधाराबाट प्रभावित भएको मान्छे हुँ र अहिले नेपालमा उदयमान भैरहेको माओवादी आन्दोलनलाई समर्थन गर्दछु । खुल्ला रुपमा आफ्नो फेसबुकमा यसरी लेखेको देख्दा मेरा केही शुभ चिन्तक साथिहरुले मलाई गाली पनि गरे ।
“अमेरिकामा बसेर पनि तिमीले यस्तो कुरा लेख्ने राजदास” भने । अब तिम्रो खोजीनिती हुन्छ र उनीहरुले तिमीलााई पक्रेर सोधपूछ (इन्टोरोगेट) गर्छ ।
मैले भने केही छैन म यहाँ अमेरिकामा आजीवन बस्ने हिसाबले आएको होईन र समातेर सोधपूछ गरे पनि केही आपत्ति हुने छैन । मैले उनीहरुकै एक सिधा प्रश्नको सिधा जवाफ दिएको थिएँ । फेसबुक अकाउन्ट खोल्दा थुपै्र प्रश्नहरुमध्ये एउटा प्रश्न थियो । “तिम्रो राजनीतिक अवधारणा के हो ?” मैले जवाफमा लेखेँ– “म वामपन्थी विचारधाराको मान्छे हुँ र अहिले नेपालमा चलिरहेको माओवादी आन्दोलनको समर्थक हुँ ।”
यो कुरा देखेर मेरा एकजना साथीले मलाई गाली गर्नुको साथै रुसमा बसिरहेका मेरो छोरा अलेक्जेण्डरलाई पनि खबर पठाएछ र नेपालमा मेरो श्रीमतीलाई पनि गुनासो गरेछ । र पछि मलाई रोचेस्टर सहरमा अध्यागमन विभागले समोतर डिेटेन्सन सेन्टरमा राख्दा सबैले यही कारणले समातेको भन्ने अनुमान लगाए । तर मलाई केही चिन्ता लागेन मैले लेखेको कुरामा र मलाई समातेर जेल हालेकोमा पनि केही दुःख लागेन ।
“जे होला राम्रै होला, जे हुनु छ भै हाल्छ” भन्ने सोचको मान्छे म । दुई महिनाको अमेरिकाको जेल जीवन बरु मलाई रमाईलो लाग्यो, ५ वर्ष अमेरिकामा बसेको भन्दा । यो कुरा मैले पहिले नै भनिसकेको छु ।
यही माओवादप्रतिको आफ्नो झुकावले गर्दा अमेरिकाको ग्रीनकार्ड लिन कुनै चासो देखाईन । धेरै साथीले मलाई माओवादी पीडित भनेर शरणार्थीको स्टाटस लिन सल्लाह दिए । सबभन्दा बढी जोड दिनेमो उही मेरो साँखुको भाई दिनेश श्रेष्ठ थिए । उहाँकोमा म ३–४ महिना पेइँग गेष्ट भएर बसेको थिएँ । प्रत्येक साmँभ दुई चार ग्लास रेड वाईन पिईसकेपछि उहाँ कुरा उठाउनु हुन्थ्यो ।
“राजदाई यहाँ न्यूयोर्कमा मैले चिनेको केही इण्डियन वकीलहरु छन् । मेरो ग्रीन कार्ड पनि उहाँहरुमार्फत् नै मैले पाएको हुँ । जाऔँ हामीसँगै म लगिदिन्छु । तपाइँ निवेदन दिनस् शरणार्थी स्टाटसको लागि माओवादी पीडित भनेर ।”
म भन्थेँ, “दिनेश भाई, तिम्रो सद्भावना र सल्लाहको लागि म कृतज्ञ छु, तिमीले मलाई गाँस र बास दियौ, त्यसको लागि पनि धेरै धन्यवाद दिन्छु तिमीलाई । मलाई थाहा छ यहाँ धेरैजनाले “माओवादी पीडित” भनेर ग्रीनकार्ड लिएका छन् । हुनसक्छ कोही कोही साँच्चिकै माओवादी पीडित होला । तर म माओवादी पीडित होइन, र उल्टो म त माओवादी समर्थक हुँ ।
अर्को कुरा “मेरो नैतिकताले पनि दिँदैन यो काम गर्न” मेरो उमेर ५० नाघिसकेको छ । म लघुसिद्धान्त कौमुदी, हितोपदेश, अमरकोष, रघुवंश महाकाव्य जस्ता किताव पढेर हुर्केको मान्छे, सोभियत संघबाट इञ्जिनियरिङ्ग डिग्री हासिल गरेको र त्रिभुवन विश्वविद्यालयको प्रोफेसर त्यसमाथि संयुक्त राष्ट्रसंघको चीफ इञ्जिनियर भैसकेको मान्छे । एउटा ग्रीनकार्डको लागि झुठो विवरण दिएर आफ्नो आँखामा आफै गिर्न चाहन्न । त्यसैले माओवादी पीडित भनेर म दरखास्न दिन चाहन्न । बरु अमेरिकी सरकार आफैले म जस्ता आगन्तुकहरुको लागि कुनै नियम कानुन ल्याएर औपचारिकरुपमा बस्न दिन सक्छ, जसरी सन् १९८५ मा राष्ट्रपति बिल क्लिन्टले अमेरिकामा अवैधरुपमा बसिरहेका लाखौँ आप्रबासीहरुलाई आमनेष्टी दिएका थिए ।
न भन्दै सन् २००३–२००४ मा राष्ट्रपति जर्ज डब्लु बुसले दशौँ बीसौँ लाख अनधिकृत आप्रबासीहरुलाई केही दण्ड जरिवाना तिराएर “गेष्ट वर्कर”को स्टाटस दिने कुरा उठाउनु भएको थियो । तर उहाँको यो योजना पूरा हुनु पूर्व अमेरिकी राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो र उहाँ रष्ट्रपति ओबामा सामु हार्नु भो र नव निर्वाचित राष्ट्रपति ओबामाले यो योजना ल्याउनु भएन । नत्र यदि पे्रसिडेन्ट बुसको योजना लागू भएको भए म पनि अमेरिकामा वैधानिक रुपमा काम गर्न पाउँथेँ र आफ्नो दक्षता र योग्यताको आधारमा महिनाको ४–५ लाख रुपैयाँ सजिलै कमाउन सक्थेँ । तर मेरो लागि त्यो झीनो सपना पूरा हुनु अगावै अमेरिकी अध्यागमनको फण्डामा परेर दुई महिना अमेरिकी जेल जीवन विताएर स्वदेश फर्केँ सन् २००५ को अक्टोवर महिनामा ठीक हामीकहाँ दशैँ पर्व आउनु अगाडि ।
नेपाल फर्कँदा म सँग केबल रुक सय डलर थियो र सामानको रुपमा केवल एक आफ्नो पासपोर्ट । मेरो लुगाफाटो सहित अन्य नीजि सामानहरु जस्तै क्यामेरा, ल्यापटप कम्प्युटर, दुई तीन जोर सूट र जुत्ताहरुको साथै २–३ हजार डलर पैसा पनि सबै आफु बस्ने कोठामै अलपत्र परे सुटकेशभित्र । त्यो भन्दा पनि ठूलो कुरो मेरो एसएलसी देखि आई एसस्सी र इञ्जिनियरिङ्ग डिग्रीको सबै ओरिजिनल प्रमाणपत्रहरु पनि सबै त्यहीँ छुटे । धन्न मैले नागरिकताको प्रमाणपत्र अमेरिका जाँदा साथमा नलगिकन नेपालमै छोडेर गएको थिएँ र बच्यो । ....... क्रमशः
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments