न्हुद“या भिन्तुना !

नेपाल उत्पत्तिसँगै सरोकार राख्ने साँखुका देवी श्री बज्रयोगिनीको चर्चा जस्तै नेपाली जनता र नेपालकै नाममा स्थापित सम्वत् नेपाल सम्वत् आज चर्चाबाट बाहिरिँदै गएको अनुभव हुन थालेको छ । यो सम्वत् अहिले पूर्णरुपमा नेवार समुदायले मात्रै मान्दै आएको छ । अन्य समुदायले चन्द्रमानको तिथिमिति अनुसार विभिन्न शुभ कार्यहरु गर्दै आएतापनि यो सम्वतलाई नै भने मान्न छाडेका छन् । हुनतः कुनै पनि जाति वा समुदायले आ–आफ्नो सम्वत्, भाषा मान्नुलाई फरक अर्थमा लिनुपर्ने कारण पनि छैन । तर नेपालको नामसँग जोडिएको सम्वत् र कैयाँै सय वर्ष सम्म शासनसत्ताको मूलधारमा बस्न सफल नेपाल सम्वत् आज पात्रोमा सीमित हुन खोजेको देखिन्छ । यसैले यस विषयमा चर्चा परिचर्चा हुनु पर्दछ । नेपालीले आफ्नो पहिचान खोज्ने हो भने अहिले भारतीय अघोषित नाकावन्दीको मार खेपिरहेको बेला यस विषयमा बढी चर्चा हुनु आवश्यक देखिन्छ । नेपाल सम्वत् नेपालमै उत्पत्ति भएको मौलिक सम्वत हो भने अहिले मुलुकमा चलिरहेको विक्रम सम्वत् भारतको राजा विक्रमादित्यको नाममा स्थापित सम्वत् हो । यसकारण पनि भारतीय हस्तक्षेप भएको भन्ने खाँट्टी राष्ट्रवादीको लोगो भिरेका नेताहरुले यतातर्फ ध्यान दिनुपर्दछ । यदि यस विषयमा उनीहरुले ध्यान दिएनन् भने प्रष्ट छ उनीहरु पनि राष्ट्रवादीको खोल ओढेका भारतीय दलाल नै रहेछन् भन्न सकिने ठाउँ प्रशस्त भएको छ । अझैपनि नेवार समुदायले नेवार भाषासँगै नेपाल सम्वत्लाई आफ्नो समुदायको पहिचानको रुपमा स्थापित गराउन प्रयास गरेको देखिन्छ । विगत केही दशक अगाडि देखि यस सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता दिलाउन नेवार समुदायले समय समयमा आवाज बुलन्द बनाउँदै आएको हो । नेवार भाषा र नेपाल सम्वत एक अर्काको पर्यायवाची भएपनि नेपाल सम्वत् भने नेवारहरुको मात्रै सम्वत नभई यो आम नेपाली जनताहरुको सम्वत् हो । यो सम्वत कुनै राजा महाराजाहरुको नामबाट वा कुनै धर्म संस्कृतिको नामबाट नभई एकजना विशुद्ध साहुकार अथवा भनौँ एक जना सर्वसाधारण नागरिकको पहलबाट मुलुककै नाममा स्थापित सम्वत आज पात्रोमा सीमित हुन खोज्नु कुनै पनि अर्थमा जायज छैन । अझ नेपालको पहिचान बनाउनको लागि संयुक्त राष्ट्र संघमा समेत दर्ज भएको नेपाल सम्वत र नेवार भाषा, रञ्जना लिपीलाई आज सरकारी तवरबाट पूर्णरुपमा बेवास्ता गरिएको र अझ केही दशक अगाडिसम्म दमन गरेकै कारण आजको अवस्था आएको हो । दमन, उत्पीडनबाट मुक्त हुन नै नयाँ सम्वत् चलाउने गरेको प्रसंगमा पुनः दमन वा उत्पीडन सहन नपरोस् भन्ने कामनाका साथ सम्पूर्ण नेपालीहरुलाई नववर्ष एवं दिपावलीकासाथै छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! वर्तमान सरकारले मधेशको मागलाई तत्काल सम्बोधन गरेर नववर्ष, दिपावली र छठ पर्व सकिए लगत्तै आन्तरिक समस्या मिलाउन सकिएमा भारतसँग लड्न पनि बल पुग्ने बिश्वास गर्न सकिन्छ । दमन कहिल्यै पनि अजर अमर हुन सक्दैन तर प्रजातन्त्र वा जनताको लोकतन्त्र सदैव अजर अमर हुन्छन् भन्ने सन्देश यस अवसरमा सबै नेपालीहरुलाई दिदैँ पुनः एकपटक स्वन्ति नखः र नेपाल सम्वत् ११३६ न्हुदँया भिन्तुना ! भिन्तुना !! भिन्तुना !!!

Post a Comment

0 Comments