ई. राजदास श्रेष्ठ
एक हप्ताको रमाईलो भेटघाट कार्यक्रमहरु र एक भव्य साँस्कृतिक समारोह समापन गरेर सोभियत साँस्कृतिक टोली फर्किए आफ्नो देश, हामी नेपाली जनतासँग गहिरो मित्रताको छाप छोडेर, तर मेरो मनमा अहिलेसम्म् झ–झल्को आईरहन्छ ती बाक्यहरु जुन उत्तर ओसेसियाका महामहिम राष्ट्रपतिले भन्नुभएको थियो । हामी ढल्केवार–पथलैयाको बाटो हुँदै लाहानतिर जाँदै गर्दा । पूर्व–पश्चिम राजमार्गको ढल्केबार–पथलैया सडक खण्ड पनि सोभियत संघले नै बनाईदिएको थियो । हाम्रो लागि एक मित्रताको सौगात स्वरुप र पछि धनगढीमा रोजेन–टर्पेन्टाईनको एक राम्रो उद्योग सुदूर–पश्चिममा सोभियत संघकै सहयोग र सहायतामा ।
अन्य मित्रराष्ट्रहरुले झै सोभियत संघले धेरै विकासका आधारहरु खडा गरिदियो । हाम्रो देशमा तर एक ठूलो विडम्बना अहिलेसम्म पनि हामीले विकासको राम्रो गति लिन सकिरहेका छैनम् र राजनैतिक झै–झगडा र भागबण्डाको फोहरी खेलमै समय खेर फालिरहेका छौँ यत्तिका वर्ष, जब कि हाम्रा ठूल ठूला मित्र राष्ट्रहरुले जस्तो गणतन्त्र चीन र स्वयं त्यसबेलाका सोभियत संघले आ–आफ्नो राजनैतिक कोर्समा परिवर्तन र परिमार्जन ल्याउँदै दु्रत गतिमा आर्थिक उन्नति गर्दैछन् । हामी भने सुनको थाल हातमा बोकेर भीख माग्दै हिँडिराखेका छम्, अहिलेसम्म पनि ।
सोभियत संघ त्यसबेला थियो र अहिले छैन । व्यक्तिगतरुपमा मलाई एक किसिमको दुःख नै लाग्छ त्यत्रो ठूलो सोभियत संघको विघटन हुन पुग्दा । विश्वमा एक ठूलो शक्तिशाली राष्ट्र थियो त्यो सोभियत संघ जहाँ बसेर मैले उच्च शिक्षा हासिल गर्दै एक केमिकल इञ्जिनियरिङ्गको डिग्री हासिल गरेँ । यत्तिमात्र न भै मैले सोभियत संघमा बसेर पढेर दुई छोरा र एक श्रीमतीका साथ एउटा सानो परिवार पनि पाएँ । ती दुवै छोराहरु मेरा अहिले पनि त्यसबेलाको सोभियत राजधानी मास्कोमै बसेर आ–आफ्ना जीवनयापन गर्दैछन् । र नेपालप्रति उनीहरुको ठूलो माया र श्रद्धा पनि छ किनकी केही वर्ष उनीहरु नेपाल मै आई बसी हुर्केर पढेर गएका हुन् र बरोबर नेपाल आईरहन्छन् अहिले पनि ।
यसरी मेरो व्यक्तिगत नाता जोडिएको छ विगतका सोभियत संघ र अहिलेको गणतन्त्र रुससँग ।
मेरा पहिलो श्रीमती सोभियत नागरिक भालेन्टिना पनि एक केमिकल इञ्जिनियर हुनुहुन्थ्यो र दुर्भाग्यवस हामी संयुक्त राष्ट्र संघ अन्तरगत दक्षिणी अफ्रिकाको मुलुक बोत्स्वानामा काम गर्दै गर्दा एक सडक दुर्घटनामा परी उहाँको निधन भयो । उक्त दुर्घटनामा म पनि सख्त घाईते भएँ र ३–४ महिना दक्षिण अफ्रिकाको पे्रटोरिया सहरमा एउटा क्रिश्चियन चर्च अन्तरगतको प्राईभेट हस्पिटलमा उपचार गरी बसेँ । अस्पतालको नाम थियो “लिटिल प्रिन्सेर मारीया हस्पिटल” ।
त्यसबेला दक्षिण अफ्रिकामा अझै रंगभेद सरकार थियो र नेपालको कुनै दौत्य सम्बन्ध थिएन उक्त राष्ट्र सँग । मलाई लाग्छ इजरायल एउटा देश बाहेक विश्वमा कुनै राष्ट्रको दौत्य सम्बन्ध थिएन दक्षिण अफ्रिकासँग । एक नेपाली नागरिकको हिसाबले मलाई दक्षिण अफ्रिका जान सम्भव थिएन, तर संयुक्त राष्ट्र संघको कर्मचारी भएको नाताले मैले उक्त देशमा जाने अनुमति पाएँ र एउटा सानो हवाइजहाज नै रिजर्व गरेर लगियो मलाई प्रोटोरिया ।
हस्पिटल धेरै राम्रो थियो र हस्पिटलमा काम गर्ने नर्स र डाक्टरहरु पनि धेरै राम्रो र गुणी थिए । म प्रति धेरै सहानुभूति देखाउँथे र नेपालको बारेमा धेरै कुरा उत्सुकताका साथ सोध्ने गर्थे र मलाई “ए म्यान फ्रम द माउन्टेन” भनेर सम्बोधन गर्थे । हस्पिटलका बिलहरु धेरै महँगा थिए । प्रत्येक बिलमा मैले दस्तखत गर्नु पथ्र्यो तर राष्ट्रसंघ अन्तरगत अटोमेटिक स्वास्थ्य बिमा भएको हुनाले मैले आफ्नो एक पैसा पनि तिर्नु परेन । दशौँ लाखको बिल सबै राष्ट्र संघले नै भरिदियो । हस्पिटलमा मेरो धेरैराम्ररी हेरचाह गरियो सायद चाहिने भन्दा अलि बढी नै मेरो हेरचाह गरेको महसुस गरेँ मैले । र तीन चार महिनाको बसाईमा मलाई केही शारीरिक पिडा बोध भएन र मेरो मन राख्न हस्पिटलले यतिसम्म गरिदियो कि त्यसबेला बोत्सवानामा एक नजिकका साथिको संरक्षणमा बसिरहेका मेरा दुई साना छोराहरु अलेक्जेन्डर साशा र डेनिसलाई केही दिनको लागि हस्पिटलले आफ्नै खर्चमा प्रिटोरिया ल्याएर मसँग बस्न दियो । प्रिटोरियामा रहँदा साशा र डेनिसलाई दक्षिण अफ्रिकाको राजधानी जोहानेसवर्ग र अन्य गाउँ सहरहरु पनि घुमाईदिईन् हस्पिटलकै एक प्रशासक सिस्टर आद्रियानले ।
सिस्टर आद्रियान एक अविवाहित नर्स थिईन् आयरल्याण्डबाट आएकी । अति भलादमी र मिलनसार सिस्टरले मलाई पनि हस्पिटलबाट निस्केपछि सहरका विभिन्न भागहरुमा घुमाउन लग्नुभो र आफ्ना चिनेका साथिहरुकहाँ डिनर खान लानु भो । पछि म उपचार सकिएपछि बोत्स्वाना फर्केँ र राष्ट्रसंघ सँगको दुई वर्षको सम्झौता टुंग्याएर नेपाल फर्केँ आफ्ना दुई छोराहरुका साथ । नेपाल फर्किनु अघि हामी तिनै जना पहिले रुस गयौँ जहाँ मेरी श्रीमती भालेन्टिनालाई लगिएको थियो मृत्यु पश्चात् । सडक दुर्घटना (सवारी दुर्घटना) भएको दिनमै साँझ १० बजेतिर उहाँको निधन भएको थियो । दुःखद घटना घटेको थियो दिनको १ बजेतिर बोत्स्वानाको राजधानी गाबारोव सहरको हाई–वेमा । हामी दुईजना गाबारोन सहरमा आफ्नो प्रोजेक्ट सम्बन्धी काम सकाएर हामी बस्ने गाउँ (सहर) कानिया तिर फर्कँदै गर्दा एउटा गाडी अगाडिबाट आएर हामी चढेर गईरहेको मोटर साईकललाई ठक्कर दिएको थियो । गाडी हाँक्ने ड्राइभर एक भारतीय महिला थिईन् । दुर्घटना स्थलबाट हामी दुवैलाई एक स्थानीय हस्पिटल “गाबारोन हस्पिटल” लगिएको थियो । भालेन्टिनालाई मलाई भन्दा धेरै चोट लागेको थियो होला, उनी अचेत अवस्थामा थिईन् र म अर्ध चेतनामा थिएँ । मेरो देबे्रतिरको हात खुट्टा भाँचिनुका साथै देबे्र साईडको पूरा शरीर पारालाईसीस भएको थियो र दायाँ हात खुट्टामात्र चल्थ्यो ।
र बोल्न सक्थेँ अर्धचेतनामा भएपनि अलि अलि। राति १० बजेतिर भालेन्टिनाको मृत्यु भएको खबर सुनाउन आए मलाई र दुई छोराहरु पनि थिए मेरो साथमा हस्पिटल बेड नजिक । स्टे«चरमा राखेर मलाई जहाँ जहाँ लगियो १०–१२ वर्षका निर्बोध छोराहरु मेरो पछि पछि दौडँदै गरेको मैले देखिरहेको थिएँ र हामी सबै निरिह थियौँ । केही भन्न र गर्न नसक्ने अवस्थामा । हस्पिटल पुगेपछि दुर्घटनाको बारेमा राष्ट्रसंघको प्रतिनिधिको अफिसमा खबर गरियो होला । र राष्ट्रसंघका केही प्रतिनिधिहरुका साथमा गाबारोभमा बस्ने ५–६ जना नेपाली साथिहरु हामीलाई हेर्न आए अस्पतालमा ।
मैले उहाँहरु सबैलाई चिन्न सकैँ र अलि अलि कुरा गर्न पनि । मेरो रेखदेख गर्ने मुख्य डाक्टर एक भारतीय मूलका डा. शर्मा भन्ने थिए र मेरा साथिहरुले र राष्ट्रसंघका प्रतिनिधिहरुले उनै (डा. शर्मा) मार्फत् मेरो र भालेन्टिनाको स्वास्थ्य अवस्थाबारे सबै कुरा बुझे र उहाँहरु सबैजना आएर मलाई श्रीमतीको मृत्यु भएको खबर सुनाउन आए ।
मृत शरीरलाई के गर्ने कहाँ लाने भन्ने प्रश्न गरेँ । प्रश्न थियो नेपाल लाने कि सोभियत रुस । मैले नेपाल हैन रुस नै लगिदिन अनुरोध गरेँ । रुसमा उनीहरुको धर्म संस्कृति अनुसार मृत शरीरलाई आफ्नो शहरको निर्दिष्ट ठाउँमा दफन गर्ने चलन छ । हामीकहाँ लगे अग्नि दाह सँस्कार गर्नुपर्ने हुन्छ ।
मैले सम्झेँ अग्नि दाहसँस्कार भालेन्टिनाको आत्मालाई र उहाँको परिवारजनलाई अमान्य हुनसक्छ त्यसकारण सोभियत रुसको पेन्जा भन्ने सहरमा लगिदिन अनुरोध गरेँ मैले । र भोलिपल्ट नै एक हवाई जहाज रिजर्भ गरेर श्रीमती भालेन्टिनाको मृत देहलाई एक काठको बाकस “कफीन” मा राखेर रुस उडाईयो । एयरपोर्टमा संयुक्त राष्ट्र संघका स्थानीय प्रतिनिधिहरु, बोत्स्वानामा बस्ने नेपाली साथिहरुको साथै दुई मेरा छोराहरु साशा र डेनिस थिए । कलिला हातमा फूलका गुच्छाहरु बोकेर आफ्ना आमालाई श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम दर्शन गर्न गएका ........... क्रमशः
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns