धुँला टोलको “न्हूफल्चा”को विषयमा सम्बन्धित निकायको ध्यान जाओस्



साँखु शंखरापुर नगरपालिका वडानं ७ धुँलाटोल स्थित कलात्मक सत्तल उत्तर, पूर्व मोहडाको झिंगटी छानो मुनि पूर्वी मोहडामा दुई वटा झ्यालहरुको बीचमा कलात्मक तीनमुखे सँझ्याल र उत्तर मोहडामा दायाँबायाँ दुईवटा झ्यालको बिचमा पाँच मुखे सँझ्याल थियो ।

पहिलो तल्लाको पाटीमा कलात्मक खम्बासहितको कवलको अग्राख काठबाट करीब ने. सं. ८१९ साल पछि साँखुका भुजिंपता (भुजिंपुतः) साहु जयशंकर भारोले निर्माण गरिंएको कुरा स्थानिय बुंढापाकाहरुको भनाई रहेको छ । जयशंकर भारो एकजना ठुलो ब्यापारी थिए भने वहाँको दाजुभाई हरुले आफ्नो बूबार मुमाको नाममा बिश्वेश्वर महादेवको मन्दिर निर्माण क्रममा राखिएको ने. सं. ८१९ को शिलापत्र र साँखु ईन्लाटोलको सदावर्त सत्तल निर्माणको क्रममा राखिएको शिलापत्र ने. सं. ८३६ को शिलापत्रमा क्रमशः हरिकृष्ण भारो, कृष्ण शंकर भारो, जयशंकर भारो, बिष्णु शंकर भारो, रत्नसिंह भारो र जयरत्न भारोको नाम अद्यापी कुँडिएको देख्न पाईन्छ । त्यस्तै साँखु ईन्लाटोलको सदावर्त सत्तलमा कृष्ण शंकर भारो र जय शंकर भारो ले बिष्णु शंकर भारोले आफ्ना नातेदारहरुको मृत्यु पश्चात सतीगएकाहरुको नाममा पाटीमा बास बसेका सन्त, महन्त, जोगी, फकीरलाई खाना खुवाउने बन्दोबस्त सहितको गुठी र गठीयारहरुको समेत नामाबलीमा जयशंकर साहुको नाम रहेको बाट धुँलाटोलको “न्हूफल्चा सत्तल” को ईतिहास प्रमाणित हुन्छ ।

त्यस्तो मल्लकाल भुपालेन्द्र मल्लको पालाको आसपासमै निर्माण गरिएको सत्तल पाटीपौवाको सम्रक्षण,पुनर्निर्माण,सम्बद्र्धन गर्नु राज्य, समाज र टोलको पनि दायित्व हो ।

धुँलाटोलको उक्त न्हूफल्चामा गर्मी मौसममा टोलको भजन गर्ने परम्परा पनि थियो भने दिउँसो बुढापाकाहरुको आराम गर्ने, टोलको सामुहिक कार्यको लागि छलफल गर्ने, जात्राको मेलाको बेलामा जमघट हुने र ल्हासा ब्यापारीहरु साँखु भएर जाँदा ऊ बेलामा ब्यापारी र भरीयाहरु बास बस्ने तथा पाटीको खम्बामुनि ढुंगाको प्वाल भएको कील्लाहरुमा तिब्बतको ब्यापारीक मार्ग को समयमा झण्डै २०१७÷२०१९ सम्मपनि सार्थवाहु साहुहरुको घोडा बाध्ने तबेलाको रुपमा समेत सो धुँलाटोलको “न्हूफल्चा” प्रख्यात थियो ।

त्यसकारण “न्हूफल्चा”को मर्मत, संभार, पुनर्निर्माणकोलागि जागरुक हुनु नितान्त आवश्यक भएको छ ।

२०७२ सालको भूकम्पले ध्वस्त प्रायः भएको उक्त “न्हूफल्चा”को पुनर्निर्माण ले झण्डै ३०० वर्ष भन्दा अगाडीको ईतिहासको पुनर्जागरण हुने बिश्वास लिन सकिन्छ ।

– प्रकाशमान सक्व

Post a Comment

0 Comments