ईतिहासकारहरुको आँखाका ताराको रुपमा रहेको साँखु


– प्रकाशमान श्रेष्ठ “सक्व”
साँखु नगरी प्राचिन नेपालमण्डलको एक राजनैतिक केन्द्रको रुपमा रहेको थियो । प्राचिन नगर राज्यको रुपमा ईतिहासमा प्रख्यात भएको साँखुको ऐतिहासिक नाम शंखरापुर हो । शंखको आकारमा निर्माण गरिएको यस नगरको स्थापनाकाल विभिन्न पुस्तकहरुले फरक फरक वर्षमा भएको कुराहरु उल्लेख गरिएका छन् । भाषा वंशावली भाग २ मा र देवमाला वंशावलीमा उल्लेख भएका साँखु स्थापनाकाल झण्डै १५०० वर्ष फरक पर्दछन् भने शंखरदेव राजाको पालामा स्थापना गरेको नाम दुवैमा यौटै छन् । तर मणिशैल महावदानमा उल्लेख गरिएको साँखुको स्थापना कलीगत सम्वत १८०१ थियो । जुन प्रमाणित रुपमा श्लोक तिथिमिति समेत लेखिएको पाईन्छ ।
यसरी साँखुको स्थापनाकालको गणना फरक परक भएतापनि बज्रयोगिनी क्षेत्रको ढुंगेगुफाहरु मन्दिर तथा बज्रयोगिनी देवीको ईतिहास, स्थापना एवम् पौराणिक आख्यानबाट यस क्षेत्र र साँखु स्थापनाकाल आजभन्दा ३३०० वर्ष अगाडि नै भैसकेको पुष्टि हुन आउँदछन् । साँखु एवम् बज्रयोगिनी तथा बज्राचार्यहरुको वंशावलीको रुपमा लेखिराखेको मणिशैल महावदान यसको प्रत्यक्ष प्रमाणको रुपमा स्थापित भैसकेको छ । जसमा श्लोक सहितको तिथिमिति समेत उल्लेख गरिएको साँखुको स्थापनाको व्याख्यान अकाट्य प्रमाणको रुपमा सबैको सामू खडा छ । जबकी देव माला वंशावली, भाषा वंशावलीहरुले फरक फरक कलीगत सम्वत्हरु उल्लेख गरिएका छन् । नेपालको ईतिहासमा कतै उल्लेख नभएका दुईजना राजाले राज्य गरेको वामनदेव र अमृतमल्लका कालजयी शिलापत्र दुईवटा साँखुमा पाईएका छन् ।
प्राचिन नगर साँखुलाई व्यवस्थित एवं उन्नत बनाउन यहाँका प्राकृतिक सन्तुलनले सघाएको छ । चारैतिर हरियाली वनजंगल, जंगल परिसर मुनि नदिनाला तथा उच्च भूमीमा भएको उब्जाउ अनाजको भण्डार तथा तिब्बतसँगको नाफामूलक व्यापारले पनि सघाएको पाईन्छ । साँखुलाई विभिन्न विदेशी ईतिहासकारहरुले टे«ड वे टु तिब्बत तथा गेट वे टु तिब्बत भनि उल्लेख गरिएको पाईन्छ । नेपालको विषयमा लेखिएका अधिकांश ईतिहासमा साँखुको नामलाई कुनै न कुनै रुपमा उजागर गरेको पाईन्छ ।
अंशुवर्माकी छोरी तिब्बतका राजा स्त्रोङ चङ गम्पोसँग वैबाहिक सम्बन्ध गाँसेदेखि नेपाल तिब्बत व्यापारमा साँखु क्षेत्रलाई व्यापारिक मार्गको रुपमा विकास गरेको पाईन्छ । स्वयम् स्त्रोङ चङ गम्पो समेत बज्रयोगिनी क्षेत्रमा बसेर नेपाल तिब्बतको सम्बन्ध गाँसेको तथा नेपालबाट तिब्बतमा बुद्ध धर्मको प्रचार प्रसार सामग्री साँखु र बज्रयोगिनी क्षेत्रबाट दिपङ्कर बुद्ध प्रतिमा तथा भिक्षुहरुसमेत तिब्बत पठाएको थियो । साथै बज्रयोगिनीमा राजकीय स्वयम्बरस्थल समेत निर्माण गरिएको चिन्ह हालसम्म देख्न पाईन्छ । तिब्बतबाट नेपाल सरकारलाई प्राप्त हुने कर रकम भारी तोडाकु समेत २०१३ साल सम्म साँखुको बाटो भई काठमाडौँ पु¥याउँदथ्यो । प्रशिद्ध बौद्धनाथ मन्दिर जिर्णोद्धार गर्दा चीन सरकारबाट उपहारस्वरुप प्राप्त भएको सुनको गजूर र तोरण साथै धर्मचक्र मण्डलको झल्लर समेत साँखुको बाटो भई बौद्ध पु¥याईएको थियो । त्यस्तै भारत, तिब्बत, चीन आउजाउको राजनैतिक मार्ग, धार्मिक मार्ग तथा व्यापारिक मार्गका साथै पश्चिमी पादरीहरु समेत चीन तिब्बत भई नेपाल पस्दा साँखु भएर आएको ईतिहास युरोपीय पुस्तकहरुमा समेत उल्लेख भएको पाईन्छ । फ्रान्सेलीहरुको आँखामा रोम शहरजस्तो देखिएको साँखुको समृद्धिको कुरा गर्दा यस नगरमा कला, सँस्कृतिको हिसाबले धनी भएको अन्दाज गर्न सकिन्छ । तसर्थ कान्तिपुर र भक्तपुरका तत्कालीन मल्ल राजाहरुले साँखुलाई आफ्नो अधिनमा पार्न पटक पटक आक्रमण गरि कब्जा गरेको उदाहरण पाईन्छ । भूपतीन्द्र मल्लले समेत केही समय राज्य गरिसकेको साँखुको उन्नती र व्यापारिक प्रयोग गरेको तथा बज्रयोगिनी क्षेत्रमा विभिन्न निर्माण कार्य गरेको शिलापत्र हालसम्म देख्न पढ्न पाईन्छ ।
बज्रयोगिनीको ईतिहास तथा धार्मिक प्रचार भारत र चीन, तिब्बत, श्रीलंका, म्यान्मारका बौद्ध सम्प्रदायहरुको पुस्तक व्यापकरुपमा भएको पाउँछौँ । चक्रसम्बरको आराध्यदेवी नै बज्रदेवी हो भनी बौद्ध ग्रन्थहरुमा प्रष्ट उल्लेख गरिएका छन् ने बज्रयान तन्त्रको उद्गमस्थल साँखु बज्रयोगिनी क्षेत्रलाई तोकिएको पाईन्छ । नेपालमण्डल पानीको तालको रुपमा रहेको समयमा समेत बज्रयोगिनीको आज्ञाबाट मञ्जुश्रीले कटुवालहरुको साँध काधेर पानी निकाशा गरेर महाचीन फर्कने क्रममा बज्रयोगिनी क्षेत्रमै सिद्धयोगी भएको जसलाई नेमुनी भनि सम्बोधन गरिएको पाईन्छ । हाल उक्त मूर्ति हराएको स्थानमा सानो कदको मूर्ति स्थापना गरी ईतिहासलाई जीवन्त राखिएको पाईन्छ । उक्त नेमुनिको मूर्ति सँगै वन क्षेत्रमा नौ वटा ढुङ्गेगुफाहरु हालसम्म सुरक्षित रहेका छन् । जुन परापूर्वकालको बौद्ध महाविहारहरुको रुपमा प्रख्यात बौद्ध चैत्य तथा विहारहरु थिए । जुन शंकराचार्यको धार्मिक छलकपटको प्रपञ्चमा परि ध्वस्त भएका थिए । हालसम्म भग्नावशेषको रुपमा साँखु बज्रयोगिनीमा यौटा घोप्ट्याईएको चैत्य देख्न पाईन्छ ।
बज्रयोगिनी नेपालको एकमात्र त्यस्तो धार्मिक स्थल हो जहाँ प्रत्येक हप्ताको पूजारी फेर्ने नियमको लिखित लगत राख्दै आएको पाईन्छ । गुठी संस्थानमा समेत हप्ताहप्ताको घटनाक्रम, गहनाको लगत, पूजा होम तथा महत्वपूर्ण घटनाक्रम एवम् गुठी, बाजा, संरक्षक, जग्गा एवं आयस्ताका प्रत्येक अभिलेख प्रष्टरुपमा राखिएको पाईन्छ ।
प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमा देखि आठ दिनसम्म साँखु नगरमा बज्रयोगिनी, चैत्य भगवान तथा सिंघिनी र व्याघ्रिणी देवीको प्रतिमा खटमा राखी जात्रा गर्नुपर्ने परम्परा चल्दै आईरहेको पाईन्छ । करिब ३३०० वर्ष अगाडि निर्माण गरिएको साँखु नगरमा सत्र वर्ष पछि राजा शंखदेवको पालामा जात्रा परम्परा सुरु गरिएको थियो ।
जात्रा परम्परा चलाउन व्यवस्थितरुपमा सातगाउँहरु क्रमशः नागाचां, गुलिमा, शाहाँ, गागल, पावना, च्वबही, नागाचांलाई समुच्चय गरिएको भनी वंशावलीमा उल्लेख गरिएको पाईन्छ । यी पुराना गाउँको नामहरुको लिखित हालसम्म पनि साँखु बासिहरुको घर जग्गा बाँडफाँड गरिएको लगतपत्रहरुमा फेला परेका छन् । साथै बज्रयोगिनी मन्दिर परिसरका शिलापत्रहरुमा खेत र ठाउँको नाम कुँडिएका समेत भेटिन्छन् । करिब ५५÷५६ वटा शिलापत्रहरु साँखु र बज्रयोगिनी क्षेत्रमा पाईएका छन् । त्यस्तै बुद्ध चैत्यहरु झण्डै ४०÷४१ वटा, गोरखनाथको मन्दिर तथा जात्रा पर्व समेत साँखुमा प्रचलित छन् । जबकी गोरखनाथको जात्रा परम्परा नेपालको अन्य कुनै शहरमा पाइँदैन । यो विषय रहस्यमय रहेको छ ।
प्रत्येक वर्षको माघ मेला स्वस्थानी व्रत उपासना गर्ने शालिनदी क्षेत्र साँखुमै छन् । उक्त पवित्र नदीको बारेमा तथा स्वस्थानी व्रत उपासना गर्ने बारे पौराणिक ग्रन्थ तथा पुराणहरुमा लिंग पुराण, पद्म पुराण तथा स्कन्द पुराणमा वर्णन गरिएका छन् । हालसम्म पनि पवित्र पानी बगेको शालिनदीलाई संरक्षण गर्न अत्यावश्यक भैसकेको छ । किनभने प्रत्येक वर्ष दशौँ लाख आन्तरिक पर्यटकहरुको भ्रमण हुने शालिनदी मेला भारतको कुम्भ मेला जत्तिकै महत्वपूर्ण मेला हो । हिन्दू तथा बौद्ध सम्प्रदायहरुको सामुहिक पवित्र धार्मिक स्थल बज्रयोगिनी र शालिनदीको बेजोड धार्मिक आस्थामा हालसम्म कुनै आँच आएको छैन । साँखु क्षेत्रका यी दुवै धार्मिक धरोहर सबै सम्प्रदायका मानिसहरुको आस्थाको केन्द्रको रुपमा रही आएको छ । दुवै धार्मिक सम्प्रदायहरुको सामुहिक क्रियाकलाप जात्रा पर्व साँखु नगरभित्र बाहिरका अष्टमातृका पीठहरुसँग समन्वय गरी पूजा आजा गर्नुपर्ने महत्वपूर्ण कार्यसँग सम्बन्धित छन् । साँखुमा स्थापनाकालदेखि नगरभित्र आठवटा मातृकादेवी भनि अष्टमातृका पीठ स्थापना गरिएका थिए भने नगर बाहिर पनि अष्टमातृका पीठ स्थापना गरिएका थिए ।
आठवटा टोलमा आठवटा अष्टविनायक गणेशस्थापना गरिएका छन् । अष्टमंगल चिन्हका प्रतिक अष्टविनायकहरु तथा अष्टमातृका पीठहरुको पूजा अर्चना एवम् दर्शन एवं पूजा कार्य गर्न भक्तपुरदेखि नवदुर्गा नृत्य वर्षैपिच्छे माघ महिनामा साँखु ल्याउनुपर्ने परम्परा रही आएको छ । भक्तपुरको नवदुर्गा नृत्यलाई साँखुका बासिन्दाहरुले ठूलो आस्था र विश्वासले अष्टमातृका देवी गणको रुपमा पूजा अर्चना गर्दछन् । साथै नवदुर्गाको लागि जग्गा गुठी आयस्ता समेतको व्यवस्था गरिएको पाईन्छ । ती अष्टमातृका पीठको पूजा अर्चनासँग सम्बन्धित जिवीत देवी कुमारी पूजा, साँखु तलेजु भवानीको पूजा आदि राजदरवार (लायकू) पूजा सँग सम्बन्धित रही आएको पाईन्छ । त्यस्ता पूजाआजा कार्यलाई धार्मिक एवं पुरातात्विक महत्वका रुपमा ईतिहासकारहरुले लिने गरेका छन् ।
ईतिहासमा मानवताको सभ्यताको रुपमा, राज्य विस्तारको रुपमा, राज्य विकासक्रम तथा वंशावली समेत भएको प्रमाणिक दस्तावेजका रुपमा यस्ता घटनाहरुलाई लिने गरिन्छ । साँखुको दुगाहिटी टोलमा शाक्य सम्वत् ४६० (५३८ ईश्वी) सम्वत्को शिलापत्रमा साँखुमा वामनदेव राजाको राज्य भनि उल्लेख गरिएबाट नेपालको ईतिहास र ईतिहासकारहरु समेत द्विविधामा परेका छन् । उनीहरुले अन्य कतै पनि वामनदेवले राज्य गरेको प्रमाण भेट्टाउन सकेका छैनन् ।
साँखुमा भक्तपुरमा जस्तै विस्केट जात्रा मनाउने तथा लिंगो ठड्याउने र ढाल्ने परम्परा पनि हालसम्म चैत्र मसान्त र बैशाख २ गते गरिँदै आएको छ । स्थानीय चलाखु टोलको महालक्ष्मी अष्टमातृका पीठ मनिदरमा विधीपूर्वक पूजाआजा गरी उक्त जात्रा गर्नुपर्ने बेलामा तत्कालीन राजा तथा राजप्रतिनिधीहरु उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो । उक्त कुराको लिखित दस्तावेजका रुपमा शान्तिस्वस्ती घटनावली, वंशावली हस्तलिखित बज्रयोगिनीको परम्परागत पुस्तक हाल रोयल लाईबे्ररी अफ डेनमार्कमा रहेको पुस्तकमा वर्णन गरिएको पाईन्छ । उक्त बेलामा ३२ हाते लिंगो ठड्याउँदा र ढाल्दा टुक्रा भई भाँचिएको, मानिस किचिएको घटनाहरु वर्णन गरिएका छन् । यसकारण साँखु त्यस बेला नै महत्वपूर्ण धार्मिक, आर्थिक र राजनैतिक केन्द्रको रुपमा परिचित भैसकेको प्रमाणित हुन्छ ।
हाल विश्वसम्पदा सूचीमा सूचिकृत गर्न नेपाल सरकारले साँखु र बज्रयोगिनी क्षेत्रलाई युनेस्कोमा सिफारिश गरिएका छन् भने विश्वसम्पदा सूचीमा साँखु र बज्रयोगिनी क्षेत्र परेको खण्डमा साँखुको पौराणिक अस्तित्व जोगाउन तदारुकताका साथ साँखुबासीसमेत लाग्नुपर्नेछ । उपत्यकामा मात्रै हैन विश्वमै लामो खुल्ला राजकूलोहरुको तथ्यांक हेर्ने हो भने साँखुको राजकूलो दोस्रो या तेस्रो नम्बरमा पर्दछ । यस राजकूलोमा हालसम्म रामै्रसँग पानी बगेको पाईन्छ । कहिँ कतै राजकूलो बिग्रिएको भएतापनि खासै ठूलो क्षति भएको छैन । साँखु बजारमा रहेको योमरी झ्याल, तीन झ्याले कलात्मक बुट्टेघरहरु तथा ५ झ्याले, ७ झ्याले, ९ झ्याले तथा ११ झ्याले घरहरुको अस्तित्व जोगाईराख्नुपर्ने हुन्छ । त्यस्तै जात्रा परम्परा, लिंगो  ठड्याउने बिस्केट जात्रामा प्रयोग गर्ने नागपत्ता जोगाउनु पर्ने, बज्रयोगिनी जात्रा, गुठी आदि संरक्षण गर्नुपर्ने देखिन्छ । मन्दिरहरुको अस्तित्व, शिलापत्र, वंशावली आदि प्रमाणकै लागि भएपनि संरक्षण गर्नुको विकल्प छैन ।
जे होस् करिब ३३०० वर्ष पुरानो साँखु शंखको आकारमा हालसम्म रहेको नगरलाई यथास्थितीमा राखि ऐतिहासिक साक्षीको रुपमा राख्न सबैको सहयोग अत्यावश्यक रहीआएको छ ।
अन्तमा साँखु स्थापना सम्बन्धी यौटा श्लोक यहाँ उल्लेख गरेको छु ।
।।याते कलीयुगे वर्षे शश्यकरीमही।।
।।मासेच फाल्गुणेचैव तिथौ गौरी शिते शूभे।।
।।सप्तग्राम समूहित्वा शंखपूरो भविष्यति।।
– मणिशैल महावदान
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments