मेयर नापितको नेतृत्वमा शालिनदी मेलामा बजार अनुगमन



६ माघ शुक्रवार

लावण्य/साँखु । काठमाडौंको शंखरापुर नगरपालिकामा गत पुस २२ गतेदेखि जारी साँखु–शालीनदी मेला अन्तर्गत सञ्चालनमा रहेको बजारहरुको अनुगमन गरिएको छ ।

शालीनदी मेलामा व्यापारीहरुले दर्शनार्थीसँग बढि मुल्य लिएको गुनासो बढेपछि शंखरापुर नगरपालिकाले अनुगमन थालेको छ ।

शुक्रबार नगरप्रमुख रमेश नापितको नेतृत्वमा उपप्रमुख समिता श्रेष्ठ, नगरपालिकाका कर्मचारीहरु, इलाका प्रशासन कार्यालय साँखुका प्रतिनिधिहरु, विभिन्न वडाका अध्यक्षहरु, शंखरापुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका प्रतिनिधीहरु, प्रहरी प्रभाग साँखु, नगरप्रहरी, सरोकारवालाहरु सहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा मुल्यसुचिमा नराख्ने पसललाई तत्काल मुल्यसुची राख्न, मुल्यसुची अनुरुप मात्रै सामान बेच्न तथा अस्वाभाविक रुपमा बढाएर राखिएका मुल्यसूचीलाई हटाउन मेयर नापितले निर्देशन दिनुभयो । साथै पुन यस्ता क्रियाकलाप दोहोर्याउनेलाई कडा कारबाही गर्न समेत निर्देशन दिनुभयो । बजार अनुगमनका क्रममा भेटिएका ग्राहक तथा उपभोक्ताहरुलाई पनि उहाँले सचेत बन्न आग्रह गर्नुभयो ।

मूल्यसूची भएका पसल तथा स्टलहरुमा मात्रै जान र कुनै प्रकारका कमजोरी वा गुणस्तरविहीन खाद्यपदार्थको विक्री वितरण भएको भए सो जानकारी नगरपलिकामा दिन पनि पनि मेयर नापितले आग्रह गर्नुभयो ।

उहाँले बाहिर हल्ला चलेजस्तो धेरै मूल्य लिने अवस्था भने नरहेको बताउँनुभयो । मेयर नापितले भन्नुभयो–‘कतै–कतै बढी मूल्य सुचि बनाएर लिएको देखिएतापनि सबैले यस्तो गरेको छैनन् । तिनीहरुलाई मुल्यसुची परिवर्तन गर्न लगाई पहिलेकै दरमा बिक्री गर्न निर्देशन दिएका छौँ । अटेर गरेको पाईएमा नगरपालिकाले कडा कारवाही गर्छ ।’

मेयर नापितले नगरप्रहरीले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको पनि जानकारी दिनुभयो । कसैले बढि मुल्य लिए तत्काल नगरपालिकमा जानकारी दिन पनि उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै मेलामा राखिएका होटल तथा भोजनालयहरुले बढि मूल्य लिएको भन्दै दर्शनार्थीले गुनासो गरेकोले बजार अनुगमन गरिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मेलामा अन्य दिनपनि अनौपचारिक रुपमा अनुगमन गर्ने गरेपनि शुक्रबार सबैको उपस्थितीमा औपचारिक रुपमा अनुगमन गरिएको पनि उल्लेख गर्नुभयो ।





उहाँले भन्नुभयो–‘बर्षैपिच्छे हामीले मेला चल्ने बेलामा अनुगमन गर्दै आएका छौ । मेलामा रहेका भोजनालय तथा होटलमा बाहिर हल्ला चलेको जस्तो महङ्गो छैन्, एउटा दुइटा पसलमा स्वाभाविक भन्दा बढि लिएको पाईयो, उनिहरुलाई हामीले सचेत गराईसकेको छौ । पुनः ती पसलहरुले अस्वाभाविक रुपमा मूल्य बढि लिएको पाइयो भने हामी कारवाही गर्छौ ।’

प्रवक्ता श्रेष्ठले यातायात, बजार वा मेलाका बजारमा कतै ठगिए सिधै मेला व्यवस्थापन समितीमा वा नगरपालिकामा गुनासो गर्न पनि तिर्थालुलाई आग्रह गर्नुभएको छ । मूल्यसूची बढी राखेका केही होटल सञ्चालकलाई सचेत गराइएको र आगामी दिनमा त्यसलाई उल्लंघन गरेको पाइए कारवाही गर्नेपनि उहाँले प्रष्ट पार्नुभयो ।

नगरपालिकाले शालीनदी मेला सञ्चालन भएका सडकका दायाँ बाँया रहेका बजारमा मूल्यसूची जाँच गर्नुका साथै व्यापारी र उपभोक्तासँग कुराकानी गर्दै बजार अनुगमन गरेको हो ।

उपभोक्ताहरुमा आग्रह

साथै नगरपालिकाले उपभोक्ताहरुलाई समेत मेलामा ठगिन सक्ने विषयलाई ध्यानमा राखेर मेला परीसरमा केही सञ्चार माध्यममा आएजस्तै गरी अस्वाभाविक मूल्य वृद्धि नभएतापनि आफुले उपभोग गर्ने वस्तु वा खाजा खानाको विषयमा सोधी खोजी गरी सचेत भएर मोलतोल गरी खाना खाजा खान र सामग्रीहरु खरीद गर्न अपिल गरेको छ ।

Post a Comment

0 Comments