समानुपातिक निर्वाचन ः किन चुनिन्छन् धेरै महिला ?
२०७९ असोज ३ गते सोमबार
२०७४ को निर्वाचनमा ११० समानुपातिक सांसद मध्ये चुनिएका थिए ८४ महिला
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (सोमबार) दलहरूले समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन् । २७५ सदस्य हुने प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन् ।
तर राजनीतिक दलहरूले बुझाउने यस्तो बन्दसूचीबाट अधिकांश महिला छानिने गरेका छन् । प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने गरेका छन् ।
प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले जित्ने महिलाको संख्या समेत कम हुने गरेको छ । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न समानुपातिक तर्फबाट धेरै महिला चुनिने गरेका छन् ।
उदाहरणका लागि २०७४ सालको निर्वाचनमा प्रत्यक्ष तर्फबाट जम्मा ६ जना महिला मात्र विजयी भएका थिए । जबकि १५९ जना पुरूषले निर्वाचन जितेका थिए ।
कांग्रेसको समानुपातिकमा आरजु देउवा पनि
नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणालाई समानुपातिकबाट उम्मेदवार बनाउने भएको छ ।
समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ ।
२०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
यस्तै पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।
समानुपातिकको बन्दसूची बुझाउन एकीकृत समाजवादी आयोगमा, सूचीको एक नम्बरमा तुलाधरको नाम
नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन् ।
बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो । आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे । उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।
राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिक उम्मेदवारको सूची, पहिलो नम्बरमा रश्मिराज
राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूची बुझाएको छ ।
नेता हिमलाल पुरीका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ११० जनाकै सूची बुझाइएको छ ।
पहिलो नम्बरमा उपाध्यक्ष रश्मिराज नेपालीको नाम छ भने दोस्रो नम्बरमा अर्का उपाध्यक्ष जनकराज शर्मा छन् ।
प्रदेशतर्फ बाग्मतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको छ ।
0 Comments
Thanks for your concerns