बालबालिकाहरुको लागि फाईजर खोप नेपालमा पनि लगाईयो



किशोर–किशोरीलाई फाइजर कति प्रभावकारी ?

लावण्य/साँखु । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप दिन लागिएको छ । पहिलो चरणमा कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई सो खोप दिन लागिएको हो । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिन लागेको सरकारले दोस्रो चरणमा ५० लाख बालबालिकालाई सोही खोप दिने जनाएको छ ।

कस्तो हो फाइजर खोप ?

अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २०२१ को २३ अगस्टमा यूएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउन अनुमति दिएको थियो । अक्टोबरको अन्तिमबाट भने अमेरिकामा यो खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि दिइँदै आएको छ ।

उत्पादक कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दोस्रो डोज लगाएपछि कम्तीमा चार सातापछि बुस्टरका रुपमा तेस्रो डोज लगाउन सकिन्छ । कतिपय विज्ञहरुले फाइजरको दोस्रो डोज लगाएको ६ महिनाभित्रमा तेस्रो बुस्टर डोज लगाउन मिल्ने बताउँदै आएका छन् ।

किशोर–किशोरीलाई फाइजर कति प्रभावकारी ?

फाइजर खोप अन्य उमेर समूहजस्तै किशोर–किशोरीका लागि प्रभावकारी रहेको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका किशोर–किशोरीको समूहमा प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ को संक्रमणविरुद्ध  प्रभावकारी सावित भएको छ । यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ । १२ देखि १५ वर्ष उमेर समूहमा पनि यसको प्रभावकारिता उस्तै देखिएको छ ।

“तीन चरणको क्लिनिकल ट्रायलको नतिजा अनुसार पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ । १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,” सीडीसीले आफ्नो अध्ययन् रिपोर्टमा भनेको छ, “बुस्टर (तेस्रो) डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ ।”

यी हुनसक्छन् साइड इफेक्ट ?

फाइजर खोप लगाइसकेपछि अन्य खोपजस्तै पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउनसक्ने उत्पादक कम्पनीले जनाएको छ । यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्छ । शरीरमा थकान हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने आदि समस्या देखिन सक्ने पनि कम्पनीले जनाएको छ । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले फाइजर खोप लगाउँदा जटिलता आउनसक्ने भएकाले त्यस्तो अवस्था खोप नलगाउन सीडीसीले आग्रह गरेको छ ।

पहिलो डोज खोप लगाए जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज लगाउनु हुँदैन । एलर्जीको समस्या बढ्दै गएमा बिरामीलाई उचित मेडिकल केयर उपलब्ध गराउनुपर्ने कम्पनीले सिफारिस गरेको छ । नेपालमा यही २८ गतेदेखि दिन लागिएको फाइजर खोपका लागि काठमाडौं उपत्यकाभित्र ९ वटा र उपत्यका बहिर १५ वटा विशेषज्ञ सेवासहितका अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

उक्त खोप लगाउन थालेको १५ दिनभित्रै थप १ करोड डोज फाइजर र मोर्डनाको खोप ल्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले बताएका छन् ।  

Post a Comment

0 Comments