शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा लगाईएको ताला खुल्यो ! शहरी विकास आयोजनाबारे पुनः छलफल चलाईने !






२०७८ असोज १९ गते

लावण्य/साँखु । शंखरापुर ९ सरोकार समितिले यही असोज १५ गते शुक्रवारदेखि शंखरापुर नगरपालिका वडा नं. ९ को कार्यालयमा लगाएको तालाबन्दी खोलेको छ ।

सरोकार समितिका संयोजक धर्मराज कार्कीले यस अघि भएको सहमति अनुसार नगरपालिकाले मालपोत कार्यालय साँखुका नाममा पत्र पठाएपछि वडा नं. ९ को कार्यालयमा लगाईएको ताला खोलिदिएको हो ।

नगरपालिकाले मालपोत कार्यालय साँखुको नाममा लेखेको पत्र यसप्रकार रहेको छ–

श्री मालपोत कार्यालय,

साँखु, काठमाडौँ ।

विषय ः जग्गा रोक्का फकुवा गर्ने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा पूर्वी काठमाडौँ शहरी विकास आयोजनाले गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिकाको वडा नं. ९ को शहरी विकास गर्ने भनी शंखरापुर नगरपालिका वडा नं. ९ मा उल्लेखित भएका कित्ता जग्गाहरु पूर्वी काठमाडौँ शहरी विकास आयोजनाले रोक्का गरिएको जग्गाहरु हाललाई पूर्वी काठमाडौँ शहरी विकासको सहमति भएकोले उक्त वडा नं. ९ का रोक्का गरिएका कित्ता जग्गाहरु फुकुवा गरी दिनुहुन अनुरोध गरिन्छ ।

सुवर्ण श्रेष्ठ

नगर प्रमुख

बोधार्थ ः

शंखरापुर न.पा. वडा नं. ९ को कार्यालय

सरोकार समिति इन्द्रायणी

यस अघि हिजै शंखरापूर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका तथा गोकर्णेस्वर नगरपालिकाका तीनै जना मेयरहरुसँगको छलफलमा तत्काल शंखरापुर ९ को जग्गा रोक्का फुकुवाको सहमति भएको थियो ।

सहमति अनुसार शंखरापुर नगरपालिकाले हिजै मालपोत कार्यालयमा पत्राचार गरेको हो । त्यस लगत्तै सरोकार समितिले लगाएको ताला खोलेको थियो ।

पूर्वी शहरी विकास परियोजनाको विषयमा उपभोक्ता र जनतामा व्यापक छलफल चलाउने र जन चाहनाको सम्बोधन गर्दै अघि बढ्न सकिने छलफलको निस्कर्ष थियो ।

सरोकार समितिको तर्फबाट रवी सिलवालले सामाजिक सञ्जाल फेसबुक मार्फत “सबै पदाधिकारीहरुलाइ हार्दिक बधाइ तथा शुभकामना । आजै वडा कार्याकयमा लगाइएको ताला खुलेको छ  भनी पोष्ट गर्नुभएको छ ।

सरोकार समितिका सल्लाहकार एवं अधिवक्ता सिलवालका अनुसार जग्गा फुकुवा भए लगत्तै पुनः आम जनता, उपभोक्ता र सरोकारवालाहरुसँग आयोजनाको विषयमा व्यापक छलफल गरी न्यूनतम क्षतिमा अधिकतम सदुपयोग गर्न सकिने गरी आयोजना कार्यान्वयन गराउनको लागि मिलेर पहल गर्ने समेत छलफल भएको छ ।

सोही छलफलमा अभियन्ता बालचन्द्र श्रेष्ठले समेत स्मार्ट सिटी र ऐतिहासिक सानागाउँको विषयमा बोल्नु भएको थियो ।

Post a Comment

0 Comments