आम जनताले गुनासो गर्नु त स्वाभाविकै हो । उनीहरुले मत दिएर सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि चुनेर पठाएका छन् । काम गर्छु भन्ने खालका प्रतिनिधिलाई चुनेर पठाएका छन् । उनीहरुले आफूले मन खाएका प्रतिनिधिलाई चुनेर पठाएका छन् ।
त्यसैले आफुले चुनेका प्रतिनिधिले काम गर्न नसक्दा वा नगर्दा गुनासो गर्नु स्वाभाविकै हो । आम मानिसले राजनीति गर्ने नेताहरुले काम गरेनन्, कर्मचारीले काम गरेनन्, जनप्रतिनिधिले काम गरेनन् भनेर भन्नु स्वाभाविकै भएपनि सरकारमा सामेल मन्त्रीहरुले नै गुनासो गर्न थालेपछि भने अचम्मै हुने नै भयो ।
अहिले मुलुकमा यस्तै भईरहेको छ । मन्त्रीहरु नै अहिले अदालतले काम गर्न नदिएको, अग्रजहरुले काम गर्न नदिएको, कर्मचारी तन्त्रले काम गर्न नदिएको, प्रधानमन्त्रीले आफ्नो गुनासो नसुनेको जस्ता आफ्ना वैयक्तिक वा मन्त्रालय स्तरका गुनासाहरु आम सर्वसाधारणले सुन्ने गरी सार्वजनिक कार्यक्रमहरुमा बोल्न थालेका छन् ।
अझ उनीहरुमध्ये स्थानीय तहकाले प्रदेशले काम गर्न नदिएको, प्रदेशले संघीय सरकारले काम गर्न नदिएको र संघीय सरकारले प्रदेश र स्थानीय तहले काम गर्न नसकेको आरोप समेत लगाउन थालेका छन् ।
यी र यस्ता गुनासा एवं आरोप प्रत्यारोप गरेर आफ्नो दायित्व र कर्तव्यबाट विमुख हुने छूट कुनै पनि जनप्रतिनिधिलाई छैन । उनीहरुले आम जनतालाई काम गर्छु भनेर वचनवद्धता प्रकट गरेर आएका छन् । त्यसैले जे जसरी भएपनि काम गर्नुपर्ने बाध्यता उनीहरुमा छ । जसले काम गर्न सक्दैन उसले आफ्नो पद छाड्दा हुन्छ । हैन भने अर्को चुनावमा जनताले आफ्नो मतबाटै सो कुराको संकेत गरिदिन्छन् ।
गुनासो गर्ने, आरोप प्रत्यारोप गर्ने राजनीतिमा यस्तो कार्यलाई सही ठह¥याउने प्रचलन छ । अझ सरकारले विपक्षीले काम गर्न नदिएको आरोप समेत बेलावखत लगाउने गर्दछन् । विपक्षीको धर्म के हो ? सरकारले नबुझेको हो वा बुझ पचाएको हो । विपक्षीको धर्म नै सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्नु र गलत कामहरुको खवरदारी गर्नु हो । साथै राजनीति गर्ने प्राणी भएकाले विपक्षीले सदैव सत्तापक्षको खोईरो खन्नुलाई स्वाभाविकै मान्न सकिन्छ । तर सरकारमा बसेर यो भएन । त्यो भएन । यो गर्न सकिएन । उन गर्न सकिएन भन्ने छूट भने कुनै पनि सरकारलाई छैन । चाहे त्यो संघीय सरकार होस्, स्थानीय सरकार होस् वा प्रदेश सरकार नै किन नहोस् । यतातर्फ सबै तहका सरकार प्रमुखहरुको ध्यान जानु जरुरी रहेको छ ।
लावण्य सन्देश वर्ष ८ अंक ४ को सम्पादकीयबाट

0 Comments
Thanks for your concerns