सत्तामा बस्नेको घमण्ड


संसारमा लोकतान्त्रिक मुलुकहरुमा सत्तामा बस्नेहरुले घमण्ड गर्न सक्दैनन् । किनकी त्यहाँको नीति नियमले उनको घमण्ड टिक्न दिँदैन । केही गरि टिके पनि अर्को चुनावमा आफू मात्रै हैन आफ्नो पार्टी समेत फालिन्छ भन्ने डर हुन्छ र उनको पार्टीले समेत उनलाई जनताको समस्या समाधानमा उदासीन हुन दिँदैन ।

विपक्षीसँग सँधै मिलेर जानुपर्छ भन्ने पार्टीले निर्देशन दिईरहन्छ । तर विकासोन्मुख देशको रुपमा रहेको नेपाल, भारत, पाकिस्तान, बंगलदेशमा भने त्यसको ठीक उल्टो भईरहेकोछ । सत्तामा बस्नेको घमण्डकै कारण पार्टी पद्दती नै भड्खालोमा जान्छ । उनको घमण्ड कै कारण पार्टीले चुनाव हार्छ । तर पनि उनी चेत्दैनन् ।

यस्तै भईरहेको छ नेपालको परिपे्रक्ष्यमा पनि । हुनतः यो आरोप २०४८ सालमै चुनाव जितेर आई सरकारमा पुगेपछि गिरिजाप्रसाद कोईरालालाई लागेको थियो । तर त्यत्तिखेर विपक्षीले पनि धृष्टता गरेकै थिए । सरकारलाई १ सय दिन पनि काम गर्न दिएन । तत्कालै कर्मचारी आन्दोलन गरेर सरकार असफल पार्ने काम तत्कालीन प्रमुख विपक्षी एमालेबाट भएको थियो ।

यो आन्दोलन दबाएकै कारण गिरिजाप्रसादलाई पनि तानाशाही भनिन्थ्यो त्यत्तिबेला । अझ कतिपय एमालेका नेता कार्यकर्ताहरु यत्ति त्रसित थिए कोईरालासँग कि २०५२ को आम निर्वाचनमा नेपाली काँगे्रस दोस्रो पोजिसनमा हुँदा पनि एमालेले सत्तामा जान नपाउने अड्कल गर्दथे । तर कोईरालाले तत्कालै सत्ता छाडिदिए । मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठन भयो तर त्यो सरकार ९ महिना भन्दा बढी टिक्न सकेन । त्यसपछि सुरु भयो शेरबहादुरको शासनकाल । उनको शासनकालमा पजेरो काण्ड देखि लिएर विभिन्न काण्ड भए । हुँदा हुँदा उनको सरकार ढलेर राप्रपाको थापा र चण्दका नेतृत्वमा सरकार गठन भए र यो मिलिजुली सरकारकै कारण नेपाली जनताले धेरै दुःख पाए ।

माओवादी जनयुद्धले मलजल पाए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला पछि पुनः शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन भएपछि राजा ज्ञानेन्द्रले कु गरे र सत्ताबाट हटाए ।

यी माथिका सबै घटनाहरुमा अधिकांशमा कुनै न कुनै राजनैतिक नेताको घमण्डले काम गरेको छ भन्दा अत्युक्ति नहोला । यसैले अहिले सत्तामा आसिन खड्गप्रसाद ओली र सत्तामा जान खुट्टा उचालेर बस्नुभएका नेता पुष्पकमल दाहाल प्रचण्ड दुवैले आफ्नो घमण्ड त्यागेर शालिनताका साथ विपक्षीसँग प्रस्तुत भए मुलुकले काँचुली फेर्ने थिए कि ?!

लावण्य सन्देश वर्ष ८ अंक ५ को सम्पादकीयबाट

Post a Comment

0 Comments