हामी ११ वर्षमा पुग्यौँ

जनताको हक सुरक्षित होस्

हामीले सुरुदेखिनै भन्दै आएका थियौँ । हामी हाम्रो अधिकारका लागि हैन तपाइँहरुको अधिकारको लागि लड्छौँ । आम जनताको सू–सुचित हुने अधिकारका लागि लड्छौँ ।

तर एउटा कुरा पक्का हो यस अवधिमा हामीले हाम्रा पाठकहरुबाट अधिकतम माया पाएका छौँ । त्यसैले नै हामीले पत्रिकाको गुणस्तर परिवर्तन देखि लिएर पाठकको मायाकै कारण विज्ञापनहरु समेत पाएका छौँ ।

यसपटक पुनः जनताको हक हनन गर्न लागेकाहरु विरुद्ध सम्भवतः सञ्चारकर्मीहरुले पनि संघर्ष गर्नुपर्ने देखिन आएको छ । कुनै पनि तानाशाहले सबैभन्दा पहिले सञ्चार जगतलाई आक्रमण गर्दछ । त्यसपछि अन्य ठाउँहरुमा आक्रमण गर्दछ । अहिले पनि संघीय सरकार र प्रदेश सरकारहरु विभिन्न विधेयक र नियमको नाउँमा सञ्चार जगतलाई तर्साउने र नियमनका नाउँमा निषेध गर्ने काम तिर अग्रसर भएको अनुमान सहजै लगाउन सकिन्छ ।

यस्तो अवस्था किमार्थ स्विकार्य छैन । हुनतः एउटा कथा छ । गाउँमा भिल्लहरु आए गाउँका जमिन्दारलाई लिएर गए । त्यत्तिबेला गाउँलेहरुले भने उनी त शोषक हो त्यसैले लिएर गए । त्यसपछि केही व्यावसायिक घरानाका मान्छेहरुलाई लिएर गए त्यत्तिबेला पनि गाउँलेहरुले भने यिनीहरु गलत काम गरेर हामीलाई ठगेर कमाउनेहरु हुन् त्यही भएर लगे ।

त्यसपछि समाजमा केही अगुवा भन्नेहरु र परिवर्तनको पक्षमा काम गर्ने अभियन्तहरुलाई लिएर गए । त्यत्तिबेला पनि गाउँलेहरुले भने उनीहरु आफूलाई आफैले ठूला र जान्ने सुन्ने भनि टोपल्नेहरु हुन् त्यही भएर उनीहरुलाई लगे । त्यसपछि भिल्लहरुले जस जसलाई चाहे त्यस त्यसलाई लिएर गए । बोल्ने कोही भएनन् । गाउँ उजाड भए । सबै गाउँलेहरु भागाभाग भए ।

यदि सञ्चार जगतलाई आक्रमण गर्दा अरु समुदाय चुप लाएर बस्ने हो भने यस्तै नै नियति हुनसक्छ । त्यसैले समयमै सचेत होऔँ । तानाशाही जस्केलाबाट आउँछ । भनेजस्तै अहिलेको सरकार र अहिले सत्तामा बसेकाहरु अधिकांशको मत सञ्चार जगतलाई तहसनहस पार्ने र आफ्नो पक्षमा भजन गाउन लगाउने नियत प्रष्ट देखिन्छ । त्यसैले सजग होआँै । सचेत होऔँ ।

हो निश्चितै रुपमा निरंकुशता आफै जन्मिदैन । यस्तै अनुकूल परिस्थितिमा जन्मिन्छ । उनीहरु अहिले आफूले गरेका कामहरुको सकारात्मक प्रचार गर्ने सञ्चार माध्यम बाहेक अरुलाई पाखा लाउन उद्यत छन् । तर जनताको समस्या यिनीहरुले एकरत्ति सम्बोधन गरेका छैनन् ।

अहिले मुलुक कोरोना महामारी र बाढी पहिरोको चपेटामा परेको छ । तर प्रदेश सरकार होस् वा संघीय सरकार यस विषयमा गम्भीर देखिएका छैनन् । अहिलेको संघीय र प्रदेश सरकारहरुको स्थिति – “हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात” भने जस्तो देखिन्छ ।

अहिले तत्कालै कोरोना महामारी केही मत्थर भएको बेलामा सरकारले तत्कालै बाढी पहिरो पीडितहरुको लागि राहत र पुनस्र्थापनाका प्याकेज ल्याउनुका साथै तत्कालै प्राकृतिक दोहोन रोक्नु जरुरी छ । त्यसको लागि ठोस र कडा कदम चाल्नु जरुरी देखिन्छ ।

यहाँनिर एकजना बुढा बाले भनेको कुरा सम्झना गर्न सकिन्छ– “तिमीहरु सम्पदा बस्ती भन्छौँ, घर यस्तो बनाउ, उस्तो बनाउ भन्छौँ । यस्तो डिजाईन भएन उस्तो डिजाईन भएन भन्छौ । घर त पैसा भयो भने जत्ति पटक पनि बनाउन सकिन्छ तर यो प्राकृतिक डाँडा काँडाहरुको दोहन भईसकेपछि समतलमा परिणत गरिसकेपछि पुनः डाँडाकाँडा बनाउन सकिन्छ र ?” उहाँको प्रश्न अनुत्तरित नै छ ।

यतातर्फ सरकार एवं सम्बन्धित सबैको ध्यान जानु जरुरी छ । अन्त्यमा अहिलेको संघीय र प्रदेश सरकारहरुलाई जनताको पक्षमा काम गर्ने सद्बुद्धि आओस्, हैन जनता जागे भने त फेरि केही बाँकी रहन्नन् विनाशकाले विपरित बुद्धि नै भए त कस्को के लाग्छ र ! चुनाव पनि त नजिकिँदैछ । आज नभए भोलि चुनावमा जानै पर्ने हुन्छ नै सबैलाई चेतना भया !

Post a Comment

0 Comments