श्री माधव नारायण ब्रतमा ब्रतालुहरुले अनिवार्यरूपमा पालन गर्नु पर्ने सनातन नियमहरू ः






– सुदन राज राजोपाध्याय मूल पूजारी


परापूर्व कालमा माता पार्वतीले भगवान शिव पति पाउन बसेको ब्रत जुन भगवान नारायणलाई गुरु मानी बसेको ब्रत हो यो । यहाँ भगवान माधव नारायण स्वयंमले ब्रत बसेको पनि भनिन्छ तर यो कुरा सत्य होइन । स्वयं विश्वरूपी सर्वज्ञ सम्पूर्ण देव देवताको मालिक यहाँ बिराज गराइ गुरुलाई हामीले उहाँको आराधना गरेका हौ । जस अनुरूप दैनिक नित्य पुजामा प्रार्थना गरिने श्लोक यस प्रकार छ ।


गुरु ब्रम्हा गुरु विष्णु गुरु देवो महेश्वर ।।

गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नमः

ओम श्री मधवाय केशवाया सिरसै नमामी ।।


हिन्दु धर्म एवं त्यसभित्र रहेका विभिन्न परम्परा धर्म संस्कृति को आफ्नो छुटै पहिचान एवं नियम रहि आफ्नो ब्रत, उपवास वा अन्य इत्यादि पूजा रही आएको अझ पनि छंदैछ । सोही धर्म, संस्कृतिमा नै यस देश नेपाल र नेपालीको पहिचान पनि गाँसेको छ ।

यसै अन्तर्गत यहाँहरु माझ हाम्रो छुटै नियम एवं पहिचान बोकेको श्री माधव नारायणको ब्रत बारे केही धार्मीक लेखहरू यस विशेषाङ्क मार्फत यहाँहरु माझ प्रस्तुत गर्न पाउँदा निकै हर्षित महसुस गरेको छु ।

पुरापुर्व कालदेखि निरन्तर रूपमा यस शालिनदी किनारमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म श्री ३ माधव नारायण भगवानको ब्रत चलिआएको यहाँहरु माझ विदितै छ । यो ब्रत अन्य ब्रत जस्तो नभइ निकै कठीन एवं कष्टकर छ । किनकि यो ब्रतमा छुट्टै नियमहरू पनि रहेको छ । जुन कुनै पनि ब्रत, उपवासहरुमा पाएको छैन । यसै नियमहरूलाई पनि यहाँहरु माझ प्रस्तुत गर्दैछु ।


१) सम्पूर्ण ब्रतालुको हकमा छुनु नहुने ः

क) सम्पूर्ण स्त्री ब्रतालुहरुले बिहान शंखध्वनिपछि शालिनदी जानु पर्नेछ, साथसाथै पुजाको सामान (धलंपिचा) सहित (धलंपता) रातो टिका लगाउने ओढ्ने एवं बस्त्र रातै हुनु पर्नेछ ।

ख) परसरेकी स्त्री ब्रतालुहरुले अरु ब्रतालु तथा पुजाको कुनै पनि सामान छुनु नहुने तर पनि छुट्टै ब्रत बस्ने र उनिहरुले पुजा गर्दा आफ्नै ओढेनेमा भगवानलाई सम्झेर पुजा गर्ने र सो अक्षतालाई शालिनदीमा बगाउनु पर्दछ र यो नियम तिन दिनसम्म निरन्तर गरी चारदिनमा शालिनदीमा नुहाई साँवागणबाट शंख जल लिई सकेपछि मात्र शुद्ध हुनेछ ।

ग) पर सरेकी स्त्री ब्रतालुको ४ दिनसम्म घरमा नुहाई चारौ दिनमा शालिनदी नुहाई सो दिन सावागणद्वारा शंख जल सेचनपछि मात्रै शुद्ध भई जक्ती (ब्रत बस्ने स्थान) भित्र छिर्न पाईनेछ ।

घ) कुनै पनि स्त्री ब्रतालु वा अन्य व्यक्ति (पुरुष ब्रतालु बाहेक) धलपुली (पुरुष ब्रतालुहरु मात्रै सुत्ने ठाँउ) भित्र पस्न नहुने ।

ङ) पर सरेकी स्त्री ब्रतालुहरुले अन्य ब्रतालुहरुलाई छोएमा सो ब्रतालु तत्काल अन्य ब्रतालुलाई नछोई नुहाउन जानु पर्नेछ र साँवागणसँग शंख जल लिई मात्र अन्य ब्रतालुलाई छुन पाईने छ ।

च) पर सरेकी स्त्री ब्रतालुले भोजन गरिसकेका अन्य ब्रतालुलाई छोएमा अरु ब्रतालुहरु पनि भोलि बिहान छुटै ननुहाएसम्म अन्य ब्रतालु लाई छुन नहुने र भोलि पल्ट साँवागणसंग शंख जल लिई मात्र अन्य ब्रतालुलाई छुन पाईनेछ ।


२) सम्पूर्ण पुरुष ब्रतालुले पालना गर्नुपर्ने नियमहरुः

क) सम्पूर्ण पुरुष ब्रतालुहरुले कुनै पनि किसिमको रातो टिका एवं रातो बस्त्र लगाउन नहुने 

ख) सम्पूर्ण पुरुष ब्रतालुहरुले नित्यः पुजा अगाडी माधव नारायणको गणेश पुजाको श्रीखण्ड चन्दंन टिका लगाएको हुनुपर्ने 

ग) यदी टिका श्रीखण्ड लगाई सकेपछि यदी सो टिका मेटेमा वा पुछेमा दण्ड स्वरूप शालिनदीमा चुईके (फाल्ने) गरिनेछ र सो दण्डपछि मात्रै शुद्ध हुनेछ 

घ) ब्रत अवधिभर कुनै पुरुष ब्रतालुहरुले अपशब्द (बोल्न नहुने शब्द) बोलेमा सोहि दण्ड स्वरूप शालिनदीमा चुईके (फाल्ने) गरिनेछ र सो दण्डपछि मात्र शुद्ध हुनेछ्र


३) सम्पूर्ण ब्रतालुको हकमा छुन नभई बार्नु पर्ने ः

क) नुन, माछा, मासु, मर मसला (नाम पनि लिन नहुने) 

ख) सम्पूर्ण पशु पंक्षी तथा जनावहरु (नाम पनि लिन नहुने) 

ग) जुत्ता, मोजा, मगन्ते, पर सरेकी स्त्री तथा अछुतहरु 

घ) अपशब्द (बोल्न नहुने शब्द) नाम पनि लिन नहुने 

ङ) जुत्ता चप्पल लागएका मान्छेलाई छुन नहुने 


४) सम्पूर्ण ब्रतालुको हकमा भोजन गर्न हुने बस्तुहरु ः

क) दुध, चामलको भात, चिउरा, ध्यू, चाकु, चिनी, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो मात्र भोजन गर्न हुने ्र

ख) भिमा एकादशीको दिनमा दुई पटक ब्रत गर्नुपर्ने र सो दिन फलफुल कन्दमूल मात्र भोजन गर्ने जसमा सुन्तला, उखु, तरुल, पिडालु र दुध मात्र ्र

ग) तरुल र पिडालु अन्य दिनहरुमा भोजन गर्न नहुने 


५) सम्पूर्ण ब्रतालुहरुले भोजन छोड्नु पर्ने अवस्था ः

क) भोजनमा कपाल, जौ, तिल, कोदो, भतमास, गहुँ तथा अन्य बर्जितगरिएका बस्तुहरु आएमा भोजन छोड्नु पर्नेछ ्र

ख) भोजन गर्दागर्दै बिचमा उठ्नु हुदैन यदी उठेमा सँगै बस्ने ब्रतालुहरुले पनि भोजन छोड्नु पर्ने हुन्छ ्र

ग) भोजन गर्दागर्दै बिचमा उठेसकेपछि फेरी भोजन गर्न नहुने ्र

घ) फाटेको दुध सेवन गर्न नहुने ्र

ङ) दुध र पनि बाहेक अन्य पेय पदार्थ सेवन गर्न नहुने 

च) दैनिक ब्रत बसिसकेपछि शंखरापुर नगर परिक्रमा गर्नु क्रममा सहश्र धारामा जल सेचन गरिसकेपछि मात्र फेरी चोखो पानि ल्याएर भोजन तयार पारि भोजन गर्ने र भोजन पश्चात सोहि दिनको जुठो भाँडा माझ्नु पर्नेछ


६) सम्पूर्ण ब्रतालुहरुले बार्नु पर्ने ः

क) गाडी चढ्न नहुने, बिरामी भएमा औषधी सेवन गर्न नहुने र जुठो सुतक बार्न नहुने 

ख) साबुन तथा अन्य बस्तुहरु छुन तथा प्रयोग गरी नुहाई धुवाई गर्न नहुने 

ग) गोल तथा अन्य दन्त मञ्जनहरुप्रयोग गर्न नहुने 

घ) सम्पूर्ण ब्रतालुहरु उपर खुट्टी लगाएर बस्न नहुने 

ङ) मेच र खातमा बस्न नहुने 

च) खिर (तस्मी) खुवाउने दिनमा सम्पूर्ण ब्रतालुहरुले घरमा भोजन गर्न नहुने र सो दिन आफ्नो घरमा चुलो बाल्न नहुने र सो दिन सम्पूर्ण ब्रतालुहरुलाई तस्मी खान साँवगणबाट शंख बजाई निमन्त्रणा आएपछि मात्र शालिनदी जाने र भोजन खुवाईनेछ 


७) परदेश यात्रा ः

क) परदेश यात्रामा सबै ब्रतालुहरु जम्मा भईसकेपछि साँवागणबाट श्री माधव नारायणको जल सेचनपछि मात्र परदेश यात्रामा निस्कनेछ्र 

ख) परदेश यात्रामा सबै ब्रतालुहरु जम्मा भईसकेपछि साँवागणबाट श्री माधव नारायणको जल सेचनपछि मात्र भोजन गर्नुपर्ने 

ग) परदेश यात्राबाट फकर्दा निश्चित स्थानमा सबै ब्रतालुहरु जम्मा भईसकेपछि साँवागणबाट श्री माधव नारायणको जल सेचनपछि मात्र घर फर्किन पाउनेछ 


८) परदेश यात्रा गर्ने दिनहरु ः

क) बज्रयोगिनीबाट फर्कि पशुपति बासः माघ कृष्ण चतुर्दशी ।

ख) पशुपतिबाट फर्पिङ बासः माघ कृष्ण औशी ।

ग) पनौती बासः माघ शुक्ल तृतीया ।

घ) चाँगुनारायण बासः माघ शुक्ल एकादशी ।


९) परदेश यात्रामा भोजन गर्ने स्थानहरु ः

क) पशुपतिमा ब्रत समाप्त पारी सानो गौचरणमा (चलंपा) भोजन गर्ने ्र

ख) फर्पिङ्गमा ब्रत समाप्त पारी शंखमुलमा भोजन गर्ने 

ग) पनौतीमा ब्रत समाप्त पारी भो खुसीमा भोजन गर्ने

घ) चाँगुनारायणमा ब्रत समाप्त पारी साँखुमै भोजन गर्ने 

ङ) पुनश्च ः माथि उल्लेखित सनातनिक नियमहरु बाहेक अरु ।

नियमहरु पनि आफुलाई शंका लागेका कुराहरु माधव नारायण मूल पुजारी, साँवा नायो, सावाँगण, कजी (ब्रत नाईके) वा समिति संग सोधपुछ गर्ने सक्नु हुनेछ 


यी त भए नियमका कुराहरु हामी सोच्छौ कि पौष शुक्ल पुर्णिमाबाट माघ शुक्ल पुर्णिमापछि ब्रत समाप्त हुन्छ तर यहाँ कुरा यतिमा समाप्त भएको मानिन्दैन, माघ शुक्ल पुर्णिमाको भोलिपल्ट (साँगेको भोलिपल्ट) सम्पूर्ण ब्रतालुहरुले गणेश पूजा र आफु बसेको अग्नी कुण्ड पुजा गरी नुन फुकाउनु पर्छ ्र त्यसको करिब १४ ओँ दिनमा ब्रतालु, साँवागण, कजी एवं सहयोगिहरु सामेल भई शंखरापुरबासीको पुरानो मसानमा रहेको भैरवनाथ को सामुन्ने सर्पाहुति यज्ञ गरिन्छ ्र जसमा सर्प जोर १, भंगेरा जोर १, परेवा जोर १, बोका १, माछा जोर १ समेत राखी जोर मध्ये १ लाई होम गरि एकलाई छोडने परम्परा रहि आएको छ ्र यसै होममा दक्ष प्रजापतिको शिर मानी बोकाको टाउको होममा पुरै भस्म गर्ने चलन रहि आएको छ । त्यस पछि मात्र ब्रत समापन गर्न शंखरापुर नगरको भित्र रहेको ज्योतिर्लिङ्गेश्वर महादेव को स्थानमा रात्री जागाम बसी भजन किर्तन र सावा गणले पुरा एक महिना ब्रत अवधिमा गाउने भजन गाइ सकेपछि सम्पूर्ण ब्रत सकिने हुन्छ 

यस ब्रत संग सम्वन्धित परापुर्व कालको सत्य किम्बदन्ती हरु पनि रहिआएको छ, जो यस नगरका पुर्वज अग्रजहरुले भोगेका सत्य कुराहरु हुन् । यस्तै विभिन्न किम्बदन्ती हरु पनि रहेको छ जुन यस पुस्तक मार्फत लेखी रहन सकिन्न तसार्थ भगवानको ब्रत (उपवास) एकदम स्वचित्त एकाग्रचित्त मनले गनेको अवश्यपनि आफ्नो फल प्राप्त हुन्छ, यसमा कसैको दुईमत छैन ।

यस लेखको अन्त्यमा म माधव नारायण मूल पुजारी भएको नाताले सम्पूर्ण भक्तजन हरुमा बिनम्र अनुरोध यो छ की यहाँ हरु यस्तो कठिन ब्रत बस्न यस शंखरापुर माधव नारायण ब्रतको लागि आउनु भएको हुदाँ पुर्ण नियम पालनागरी पुण्य आर्जन गरी मनोवाञ्चित फल प्राप्त होस् भनि भगवान श्री ३ माधव नारायण संग प्रार्थना गर्दछु 

भुलचुक क्षमा 

जय जय जय श्री श्री श्री माधव नारायण । ।

Post a Comment

0 Comments