हामी कर्तव्य निर्वाह गर्न तयार छौँ



हामीले लावण्य सन्देश साप्ताहिक सुरु गरेको पनि आज छैठौँ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा  हाम्रा समस्त पाठकवृन्द, शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
यो पत्रिका सुरु गर्दा देखि नै हामीले भनेका थियौँ हामी आफ्नो हैन अरुको अधिकारको लागि लड्छौँ । हामीले निरन्तर अरुको अधिकारको लागि लड्दै आएका छौँ । हामीलाई लाग्छ आफूले अरुको अधिकारको रक्षा गरिदिए आफ्नो अधिकारको रक्षा पनि यत्तिकै हुन्छ ।
हामीले २०६९ साल जेष्ठ ३१ गतेदेखि लावण्य सन्देश साप्ताहिक सुरु गरेका हौँ । कुनै पनि पत्रिका होस् वा सञ्चार माध्यम पाठक एवं श्रोताको माया र विज्ञापन दाताको बिश्वासका कारण टिकेको हुन्छ । यदि पाठक र विज्ञापन दाताको माया र बिश्वास भएन भने कुनै पनि सञ्चार संस्था ध्वस्त हुन्छ । हुनतः मुलुकमा घोषित अघोषितरुपमा विभिन्न पार्टीका मुखपत्रका रुपमा प्रकाशन हुने पत्रिका एवं सञ्चारमाध्यम नभएको होईन । तर पनि त्यस्ता प्रकाशन गृहहरुले समेत आम पाठक एवं विज्ञापन दातालाई निरुत्साहित गर्न सक्दैन । आजसम्मको पाठकवर्गको माया, व्यवसायीहरुको साथ सहयोग, शुभचिन्तकहरुको शुभकामनाका कारण हामी निरन्तर तपाइँहरुसमक्ष आईरहेका छौँ । भविष्यमा पनि पाठकवृन्दको माया, शुभचिन्तक एवं व्यवसायी साथिहरुको साथ सहयोग भईरहने बिश्वास हामीले लिएका छौँ ।
आम जनतामाझ हामीले आफ्नो कर्तव्य निर्वाह गर्न समर्थ भयौँ भने नै हामीले गरेका प्रतिवद्धता पूरा भएको हामी महसुस गर्न सक्छौँ । त्यसैले हामी पुनः भन्छाँै – हामी आर्थिक स्वतन्त्रता, वैयक्तिक स्वतन्त्रता, वाक स्वतन्त्रता, स्वस्थ रहन पाउने स्वतन्त्रता एवं मानवीयरुपमा जे–जति अति आवश्यकीय अधिकार हुन्छ त्यसको पक्षमा आवाज बुलन्द बनाउँछौँ ।
तर मुलुकले नयाँ सम्विधान पाएपछि त विकासको गति लिन्छ होला भन्ने आम मानिसको आशाको विपरीत दलहरुको आफ्नै स्वार्थका कारण पुनः मुलुक द्वन्द्वमा जाने आभास मिल्न थालेकोछ । मधेशको सबैभन्दा ठूलो दललाई भित्तामा ठेलेर गरिने चुनावले वैधता त पाउला तर के आम जनताको भावनाको प्रतिनिधित्व गर्छ ? यो प्रश्न टड्कारो रुपमा उठेको छ ।
यसले संक्रमणकाललाई अझै लम्ब्याउने निश्चित छ । संक्रमणकालमा जनताका अधिकारहरु हनन हुने गर्दछन् । किनकी राजनैतिक नेतृत्वले यत्तिबेला जनताको अधिकार हैन प्रजातन्त्रको रक्षा, मुलुकको रक्षामै ध्यान दिनुपर्ने अवस्था आउँछ । विकासले गति लिन सक्दैन । गत १० वर्षको अवधिमा आर्थिक वृद्धिदर नगण्यरुपमा बढ्नु वा बढ्दै नबढ्नुको कारण पनि राजनैतिक संक्रमणकाल नै हो ।
आज मधेश अशान्त छ । यही अशान्तिका बीचपनि चुनाव हुन गइरहेको छ । यसले मधेशको समस्या समाधान गर्छ कि गर्दैन भन्ने प्रश्न आम जनतामा उठेको छ । मधेश अशान्त हुँदाको पिडा केपी ओलीको शासनकालमा जनताले मज्जैले भोगेका छन् । एउटै ग्याँस सिलिण्डरको मूल्य १० हजार सम्म तिरेकै छन् । त्यसैले सत्तामा बस्नेहरुले जनताको समस्या समाधान हुने गरी के–कसरी मधेशको समस्या समाधान गर्ने हो त्यस विषयमा व्यापक सोचविचार गरी कदम चाल्नु अति आवश्यक छ । नत्र २०५२ सालमा माओवादीको मागलाई रद्दी टोकरीमा राख्दा मुलुकले जस्तो दूर्गती भएको छ । पुनः त्यस्तो स्थिति निम्तिदैन भन्न सकिन्न यतातर्फ प्रधानमन्त्री एवं सरकारमा सहभागी दलहरुले ध्यान दिनु जरुरी छ ।
अन्त्यमा पाठकहरु एवं विज्ञापनदाता तथा शुभेच्छुकहरुको मायालाई हामी आफ्नो बल ठान्छौँ त्यसैले आम शुभेच्छुकहरुमा हामी पुनः प्रतिबद्धता व्यक्त गर्दछौँ कि हामी तपाइँहरुको अधिकारको लागि लड्छौँ ।
लावण्य सन्देश वर्ष ७ अंक १ को समाचार

Post a Comment

0 Comments