लावण्य÷साँखु । कोभिड–१९ कोरोना भाईरसका कारण विश्वभर नै त्रसित भईरहेको बखत नेपालमा पनि लकडाउन (बन्दाबन्दी) गरिएको आज दुई महिना कटिसकेको छ ।
यस अवधिमा छिमेकी भारतले कालापानी लिम्पियाधुरा जाने बाटोको उद्घाटन गरेको प्रतिक्रियास्वरुप नेपालले पनि सो क्षेत्र समेटिने गरी नक्सा जारी गर्ने तयारी थालेको छ ।
यता आम जनता भने (राजनैतिक नेता कार्यकर्ता बाहेक) कोरोनाको कहरका कारण बेहाल अवस्थामा पुगेका छन् । उनीहरु रोगले हैन भोकले मर्ने स्थितिमा पुगेका छन् । तर सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड मात्रै हैनन् प्रमुख विपक्षी दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा समेत जनताको समस्याको समाधानको लागि हैन खाली राष्ट्रियताको भजन गाउँदै बसेका छन् । अझ अर्को विषय एमसीसी उठाउँदै बसेका छन् । आम जनता भने अहिले भोकमरीको सिकार हुने चिन्ताले ग्रसित छन् । आफुले तिर्नुपर्ने ऋण, पसल खोल्न नपाएको पिडा, घर भाडा लगायतले थलिएका छन् । एक जना व्यापारीले केही दिन अगाडि मात्रै भने मैले लकडाउनकै समयमा घरबेटीलाई २ लाख ८० हजार रुपैयाँ घरभाडा बुझाएँ । जबकी मैले यो अवधिमा १ लाख रुपैयाँको व्यापार गरेको छैन । २ लाख अस्सी हजार रुपैयाँ तिर्नको लागि आफुले सहकारीसित ऋण लिनुपरेको गुनासो उनको थियो ।
तर आम जनता यस्तो कहरमा गुज्रनु परेको अवस्थामा पनि सत्तारुढ दल, सरकार र प्रमुख प्रतिपक्षी दल भने भजन किर्तनमा व्यस्त भएको आभास मिल्न थालेको छ । उनीहरु अझै पनि कोरोनाको कहर कसरी शान्त गर्ने आम मानिसको भोक कसरी शान्त गर्ने, आर्थिक प्रणाली कसरी चलायमान बनाउने भन्ने चिन्तामा हैन अहिले पनि सत्ता लिप्सामै रमाइरहेका छन् । कोरोना भाईरसकै कारण लकडाउन गरिएको अवधिमै सरकारले दल बदल सम्बन्धी अध्यादेश ल्याए । जुन कानुनको नेकपाले नै विरोध ग¥यो भने नेपाली काँगे्रसले बेमौसमी बाजाको संज्ञा दिए । यही विधेयककै कारण राजपा र समाजवादी जोडेर जसपा भएको छ । यो पनि एउटा उपलब्धीका रुपमा लिने हो भने सरकारलाई धन्यवाद दिनुपर्दछ किनकी अब तराई मधेशमा एउटै मात्र ठूलो पार्टीको रुपमा जसपा रहने भएको छ ।
अहिले कोरोना भाईरसको कारण गरिएको लकडाउनका बाबजूद नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । किन यसरी संक्रमितको संख्या बढ्दै गएको भन्ने विषयतर्फ ध्यान दिने हो भने यस अघि नेपालमा पिसिआर जाँचको संख्या सयमा सीमित थियो अहिले पिसिआर परीक्षणको संख्या १ हजारभन्दा बढी माथि उक्लेको छ । सोही कारण संक्रमितको संख्या देखिन थालेको हो । यसको अर्थ हो आम जनतामा कोरोनाको संक्रमण केही हदमा फैलिईसकेको र केही स्व नियन्त्रणमा समेत आईसकेको रुपमा लिन सकिन्छ । किनकी रोग पत्ता नलाग्दै उपचार हुने कुरै भएन । रोग पत्ता लागेर उपचारमा जाँदा पनि संक्रमितहरु अहिले ४ दिन देखि हप्ता दस दिनमै निको भएर फर्कने गरेका समाचारहरु समेत आउन थालेका छन् । यसको प्रष्ट अर्थ हो कोरोनासँग सजग हुनु तर नडराउनु ।
कोरोना भाईरसको कहर पनि सर्वसाधारणमा मात्रै देखिने भएको छ । यसको कारण स्वास्थ्यकर्मीहरु समेत डराउनुको कारण हो । उनीहरु अहिले ज्वरो आएको विरामी देख्नासाथ टाढा हुन खोज्छन् । अहिले हेल्थपोष्ट देखि ठूलठूला अस्पतालहरुमा समेत ज्वरोका विरामीहरु जाँचिदैन । उनीहरुलाई सिधै सिटामोल खानुस्, प्यारासिटामोल खानुस् भन्दै औषधी लेख्न थालेका छन् । यस अघि यस्तो खाले औषधी किनेर खाने प्रवृत्ति दुई दशक अघिसम्म थियो । अहिले जनता पुनः सोही स्थितिमा पुगेका छन् । जसले गर्दा रोग पत्ता नै नलागिकनै एण्टिबायोटिक खाने प्रवृत्ति पनि बढेको छ ।
शासक वर्ग वा हुने खाने वर्ग भने आफ्नो पहुँचका कारण ठूल ठूला डाक्टर र अस्पतालको सेवा घरमै लिन पाउने भाग्यमानी ठहरिएका छन् । किनकी यत्तिखेर धेरै स्वास्थ्यकर्मी पनि फुर्सतमा छन् ।
0 Comments
Thanks for your concerns