शंखरापुर नगरपालिका अब साक्षर नगरपालिका


लावण्य÷साँखु । यही फाल्गुण ११ गते पूर्व प्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं. २ का सांसद माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा शंखरापुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।
यस अघि नगरपालिकाको प्रागणबाट बाजागाजा र झाँकी सहित प्रभातफेरी सुुरू गरि साँखु बजार परिक्रमा गरिएको थियो ।
शंखरापुर नगरपालिकाको आयोजनामा भएको साक्षर नगर घोषणा कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले साक्षर नगर घोषणा गर्ने क्रममा भन्नुभयो– “शंखरापुर नगरपालिका भित्र बसोबास गर्ने २७ हजार दुई सय जनसंख्या मध्ये ९६.५ प्रतिशत अर्थात २६ हजार २ सय ४८ जना साक्षर भएकोले शंखरापुर शंखरापुर नगरपालिकालाई साक्षर नगरपालिका भएको घोषणा गर्दछु ।”

सो अबसरमा नेता नेपालले साक्षर नगर घोषणा भएकोमा सबै नगरबासीलाई बधाई दिदै साक्षरसँगै शीक्षितको संख्यामा वृद्धि गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सिंगो समाजको विकासको लागि शिक्षा आवश्यक रहेको र जस्को सुरूवात साक्षरबाटै हुने भएकोले आम जनतासँग जोडिनु पर्ने उहाँले बताउनुभयो । 
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव वैद्यले काठमाडौंका सबै नगरपालिकाहरु साक्षर भए संगै काठमाडौं जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गर्ने तयारी भैरहेको बताउनु भयो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले निरक्षर नगरबासीलाई साक्षर बनाउन प्रौढ कक्षालाई अभियानको रुपमा अघि बढाउँदा आज सफलता मिलेको बताउनु भयो । उहाँले ९६.५ प्रतिशत जनता साक्षर भैसकेको बताउदै बाँकीलाई पनि साक्षर बनाउने प्रयास जारी रहने बताउनुभयो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बोधराज निरौलाका अनुसार शिक्षक र स्वास्थ्यका कर्र्मचारीहरुलाइ वडा वडामा खटाई निरक्षरको तथ्यांक संकलन गरि उनीहरुलाई साक्षर बनाउन २५ वटा साक्षरता कक्षा संचालन गरि ३५८ जनालाई साक्षर बनाउन सफल भएको बताउनुभएको थियो ।
उहाँका अनुसार अब शंखरापुर नगरपालिकामा ३.५ प्रतिशत अर्थात ९ सय ५१ जना निरक्षर रहेका छन् ।

Post a Comment

0 Comments