लावण्य÷साँखु । यही भाद्र ३० गते शंखरापुर नगरपालिकाको वडा नं. ६ र ७ मा क्रियाशील साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको केयूकेएलको तर्फबाट स्वामित्व हस्तान्तरण भएपछि पहिलो र संस्थाको तेस्रो साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।
सम्भवतः साँखु खानेपानी तथा सरसफाई उपभोक्ता काठमाडौँ उपत्यकामै पहिलो स्वामित्व हस्तान्तरण गरि लिने उपभोक्ता समिति भएको छ । यो समितिलाई १ वर्षको परीक्षणकालका रुपमा स्वामित्व हस्तान्तरण गरिएको हो ।
साधारणसभा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिब विक्रम राणाको प्रमुख आतिथ्यता एवं शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएकोहो ।
सो कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राणाले भन्नुभयो– साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिले साँच्चिकै उपभोक्ताहरुको हक हितको लागि काम गर्न सकिन्छ भनेर नै आफूहरुले नीतिगतरुपमा निर्णय गरेर स्वामित्व हस्तान्तरण गरेको बताउनुभएको थियो । साथै यस वर्ष पनि करिब डेढकरोड रुपैयाँ साँखु खानेपानीको लागि विनियोजन गरेको बताउनुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि मेयर श्रेष्ठले भन्नुभयो– कुनै पनि संघ संस्था अथवा व्यक्तिले आर्थिक पारदर्शिताको लागि संस्थाको हिसाबकिताब हेर्न सक्ने बताउँदै तर त्यसको समय हुने बताउनुभएको छ ।
उहाँले असारमा रोपेको धान कार्तिक या मंसिरमा मात्रै काटिन्छ । तर त्यही धानलाई ब्याड राखेको भोलिपल्टै देखि धानको बिरुवा स¥यो कि सरेन भन्दै खन्दै हेर्न थाल्यो भने त्यो धान कुनै पनि हालतमा फल्न नसक्ने बताउनुभएको थियो ।
कार्यक्रममा शंखरापुर जनचेतना तथा भ्रष्टाचार मुक्त समाजका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले आर्थिक पारदर्शिता हुनुपर्ने र आफूहरुले पटक पटक भन्दा पनि साँखु खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफूहरुलाई आर्थिक हिसाब किताब नदेखाएको बताउनुभएको थियो । सो विषयको उत्तर दिँदै मेयर श्रेष्ठले त्यसरी आफ्नो प्रतिक्रिया जनाउनुभएको हो ।
उहाँले ५४ करोडको लागतमा निर्माण हुने गरि ढल निकासको डिपिआर सकिईसकेको बताउँदै नगरपालिकाले यस वर्ष पनि ७५ लाख रुपैयाँ बिनियोजन गरेको बताउँदै खानेपानी नगरपालिकाको प्राथमिकताको विषय रहेको बताउनुभएको थियो ।
साँखु खानेपानीको मुहानलाई सिमसार क्षेत्र घोषणा गरि त्यहाँ ड्याम बनाउने योजना रहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले साँखु खानेपानीको विषयमा मुद्दा लड्न आफू धेरै वर्ष पछि जिल्ला अदालतमा गएर बहस गरेको प्रसंग कोट्याउँदै खानेपानीको वितरण आवश्यकताको आधारमा हुनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा डा. माधवनारायण श्रेष्ठ, केयुकेएल महाँकालचौर शाखा प्रमुख उमेश बाबु मरहठ्ठा, सहायक प्रबन्धक केयुकेएल योगेन्द्र बहादुर बम, सिडिई मोहनलाल जैसी, वडा अध्यक्षहरु राधाकृष्ण श्रेष्ठ र विष्णुप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा राप्रपाबाट रमेश नापित र नेपाली काँग्रेसबाट राजुभाई मानन्धरले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको सभापतित्व उपभोक्ता समिति अध्यक्ष दिनेशलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव रामकृष्ण मालीले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


0 Comments
Thanks for your concerns