लावण्य÷साँखु । शंखरापुर नगरपालिकाको चौथो नगर सभा यही असार ९ गते करीब ९२ करोडको बजेट पारित गर्दै सम्पन्न भएको छ ।नगर सभाको उद्घाटन पूर्व प्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माधबकुमार नेपालले गर्नु भएको थियो सो अवसरमा उहाँले शंखरापुरको आफ्नै विशिष्ट पहिचान रहेकोले यसको सम्रक्षण गर्न नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले बाटोघाटो बन्न अत्यावश्यक रहेको चर्चा गर्दै बाटो नै विकासको मूल द्वार भएको बताउनुभयो । शंखरापुरलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न हरियाली र कला संस्कृतिहरु बचाउनु पर्ने बताउदै अहिले भईरहेको वन जंगलको फँडानी र पहाडहरुमा बालुवा उत्खननका कार्यहरु भएकोमा नगरपालिकाले ध्यान दिनुपर्ने र अनुगमन गर्नुपर्ने बताउनुभएको थियो । समग्र शंखरापुरको विकास गर्न सबै एक जुट भएर लाग्नु पर्ने बताउनुहुँदै चावहिल साँखु सडकखण्डको चर्चा गर्दै उहाँले भन्नुभयो– २ वर्षमा सकिनुपर्ने सडक ४ वर्षमा पनि पूरा भएन । अनि ठेकेदार विभिन्न बहाना बनाउँछ । काम गर्न नसक्नेले ठेक्का लिन नहुने बताउँदै ठेक्काको रकम अन्यत्र लगानी गर्ने अनि समयमा नसक्ने प्रवृत्तिलाई निरुत्साहित बनाउनुपर्ने बताउनुभएको थियो ।

उहाँले कहिले घरधनीले सहयोग गरेन भन्ने कहिले पानी प¥यो भन्ने कहिले के, यस्ता कुराहरु गर्दै जनताको समस्या थाती राख्ने काम गर्न नहुने भन्दै तत्काल शंखरापुर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकाले संयुक्त रुपमा ठेकेदारहरुको बैठक बोलाउने र सो बैठकमा आफूले मन्त्री रघुवीर महासेठ, सडक विभागका डिजी लगायतलाई राखेर ठेकेदारहरुसँग छलफल गर्दै उनीहरुलाई तत्काल सडक बनाउन दबाव दिने बताउनुभएको थियो ।
माधव खिन्न हुँदै फर्किए
उहाँ सम्बोधन लगत्तै अन्य कामको व्यस्तताका कारण नगर सभाको उद्घाटन समारोहबाट निस्किन लाग्दा भने स्थानीयले हल बाहिर उहाँसँग ४÷४ वर्षसम्म बाटो बनेन भन्दै गुनासो गरेका थिए । सो अवसरमा केही स्थानीयले .... मुर्दावादको नारा समेत लगाएपछि नेता नेपाल केही खिन्न हुँदै निस्केका थिए ।
तर उहाँले सडकको विषय भने भुल्नुभएको रहेनछ । तत्कालै कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाका मेयरहरु, ठेकदारहरु, मन्त्री रघुवीर महासेठ, डिजी, प्रदेश सभा सांसद सरिता न्यौपाने लगायतको संयुक्त भेला नर्लिङ रिसोर्टमा यही असार ११ गते बोलाई सबै ठेकेदारहरुलाई १ हप्ताभित्र परिणाम देखिने गरी काम गर्न र अर्को हप्ता आफूहरु अनुगमनमा आउने भन्दै ठेकेदारहरुलाई चाँडो काम सक्न निर्देशन दिनुभएको थियो ।उक्त सभामा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गदै सिमित स्रोत साधनका बावजुद नगरको बिकाशका लागि धेरै काम गर्न बाँकी रहेको बताउनु भएको थियो ।
उहाले खानेपानि, स्वास्थ्य, शिक्षा, यातायात सडक पर्यटकिय क्षेत्रको पुवाधार बिकास सम्पदाको पुन निमार्ण लगायतका क्षेत्रहरुमा बृहत योजना निमार्ण गरि कार्यान्वयनमा लैजाने बताउनु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राई, शंखरापुर नगरपालिकाका उप प्रमुख प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडा, नेकपा एमालेका बुद्धभक्त चित्रकार, नेपाली काँगे्रसका राजुभाई मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द प्रसाद श्रेष्ठ, ईलाका प्रशासन कार्यालयका मोहनबहादुर जिसी, नापी, मालपोत शिक्षा कार्यालयका प्रमुखहरु नगरपालिकाका प्रवक्ता हितमान तामाङ, संखरापुर नगरपालिकाका १ देखि ९ वटा वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरु र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन नगरपालिकाका कर्मचारी सुवोध थापाले गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले चौथो नगर सभाको सफलताको कामना गर्नुका साथै दलहरुबीच सहकार्य भईरहेको, विकास निर्माणमा एकजूट हुनुपर्ने, आफ्नो पहिचान कायम रहनुपर्ने, स्थानीय पाठ्यक्रम तयार हुनुपर्ने, जनताले देख्ने गरी काम गरिनुपर्ने लगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रमम मेयर सुवर्ण श्रेष्ठले जानकारी गराए अनुसार ९२ करोडको बजेटमा लगभग ३५÷३६ प्रतिशत रकम चालु खर्चमा लगाउनुपर्ने र लगभग ६०÷६५ प्रतिशत मात्र पुजीगत खर्चमा जान सक्ने अवस्था रहेको जानकारी गराए ।
जनघनत्व बढी भएको स्थानमा महानगरिय प्रहरी प्रभाग साँखुसंग समन्वय गरेर सिसिटिभी जडानको योजना नगरपालिकाले अघि सारेको छ । नगरपालिकाको कला संस्कृतिको अध्ययन गर्न र कला सस्कृतिको रेकर्ड पनि राख्ने तयारी नगरपालिकाले गर्ने भएको छ । अर्को वर्ष देखि प्रत्येक घरको घर नम्बर राखिने र प्राकृतिक दोहन धेरै भएकोले त्यसलाई ब्यवस्थित गर्दै जाने लगायतका कार्यक्रमहरु पनि रहेका छन् । शंखरापुर नगरपालिकाको साँखु बजारभित्र नै नगरपालिकाको भवन निर्माणको गरिने भएको छ । वडा नं ८, ५ र ३ को आफ्नै वडा भवन नभएको हुँदा ती वडाहरुको लागि भवन निर्माणको लागि नगरपालिकाले सोच बनाएको छ ।

0 Comments
Thanks for your concerns