साँखुको श्मशानका केही किम्बदन्तीका कुरा - प्रकाशमान श्रेष्ठ

श्मशान, मसान,दीप, मुर्दा पोल्ने ठाउँ आदि उपनामबाट चिनिने ठाउँ एउटा अखण्ड यज्ञमण्डप भनि शास्त्रमा वर्णन गरिएको पाईन्छ । नेपालमा विभिन्न ठाउँमा विभिन्न नामले श्मशानको नामाकरण गरिएको पाईन्छ । जस्तै नैकापतिर भाजंगाल, शोभाभगवतीनिर करवीर मसान, पशुपतीको आर्यघाट निर भस्मेश्वर, पचलीघाट, दोलालघाट, नारायणघाट, शालिनदीघाट, बागमतीको सुन्दरीघाट आदि पन िश्मशाननै हुन् । जहाँ स्थानीय बासिन्दाको मृत्युपछि दाह संस्कार कार्य गर्दछन् । महाभारत पुराणमा अर्जुनले कर्णलाई मृत्युपछि कसैले दाहसंस्कार नगरेको स्थानमा दाह कार्य गर्दछु भनी वचन दिए अनुरुप कर्णको मृत्युपछि उसको लाश बोकेर अर्जुनले ब्रम्हाण्ड भ्रमण गरेको तर कतै पनि त्यस्तो ठाउँ पाउन सकेन । जहाँ लास गाडेको वा पोलेको नहोस् । अन्तमा कृष्णको सहायताबाट कृष्णको देबे्र हत्केलामा कर्णको लाश जलाउन सूर्य भगवानलाई आव्हान गरी जलाएको प्रशंग लेखेको पढ्न पाइन्छ । त्यसकारण कृष्णको देब्रे हत्केला सरह पवित्र स्थान भएको श्मशानको प्रसंग पनि हुन् भनि बुझ्न सकिन्छ । कृष्णलाई पूर्ण ब्रम्हस्वरुपको रुपमा नारायण र अर्जुनलाई नरको रुपमा ब्याख्या गरेका छन् । त्यस्तै श्मशानमा श्मशान भैरवको बासस्थान मानिएको छ । जहाँ मसान भैरवको स्थान रहन्छन् । त्यहाँ सिद्धिलक्ष्मीको पनि बासस्थान हुन्छन् भनि शास्त्रमा वर्णन गरिएको पाईन्छ । त्यस्तै सिद्धिलक्ष्मीको दायाँ आकाशभैरव हुन्छन् । भैरवको बाहन कुकुर हो भने सिद्धिलक्ष्मीको बाहन उल्लु हो । त्यसकारण मसानघाटमा कुकुर र उल्लु कराएको स्वर सुन्नमा आउँदछन् । वास्तुकला चित्रमा मसान भैरवको मूर्तिलाई जलिरहेको लाशमाथि आशन जमाएर बसेको भैरवको मूर्ति नै मसान भैरव मानिएको छ । त्यस्तै कलशमाथि बेताल सुतेको र यसको माथि रुद्रभैरव बसेको हुन्छ । रुद्र भैरवको दायाँ र बायाँ हत्केलामा दुईखुट्टाहरु टेकिएर उभिएको रुपमा नाना अलंकारले युक्त तीन तीनवटा आँखाहरु भएका पाँच टाउकाहरु माथि तीन टाउकाहरु र त्यसमाथि एकटाउको युक्त नवदुर्गा भवानीको रुपमा अठार हाते सिद्धिलक्ष्मीको आसनयुक्त हुन्छन् भनि तन्त्रावलीमा वर्णन गरिएको पाईन्छ । त्यसकारण मसानघाट भनेको त्यस्तो पवित्र ठाउँ हो जहाँ जीवन बिसर्जन पछि को संस्कार कार्य सम्पन्न गरिन्छन् । प्रकृतिले आमाको गर्भबाट बास गराउँदै जन्म पछिका अनन्त कार्य भोगपछि मोक्ष दिने हेतुले पञ्चतत्व विलिन गराएर पुनः प्रकृतिमै समाहित गराउने चक्रावलीको रुपमा मसानघाटलाई पवित्र प्रकृतिको गर्भको रुपमा प्रतिपादन गरि यज्ञ स्थलको रुप्मा आध्यात्मिक कार्यसँग मिलन गराईदिएको बुझ्न सकिन्छ । मृतक लासलाई स–सम्मनपूर्वक बिदाई गर्न आ–आफ्नो परम्परा अनुसार मसानघाटतिर लैजान्छन् । कसैको शंख फुकेर वा कसैको रामनाम गाएर श्मशानघाट लैजान्छन् । साँखुको सन्दर्भमा आजभन्दा करिब तीस वर्ष अगाडिसम्म साँखु बासिन्दाको मृत्युभएमा ब्रतबन्ध सकेका पुरुष र बेलविवाह सकेका महिलाको हकमा नायखिं बाजा, छुस्याबाजा र काहाँ बाजा बजाई कुटांगार बनाई अगाडि खुट्टा पारेर चारजना गुठीयार सहितको बाँसको खटमा राखेर गुठीको पवित्र कात्रो ओढाएर फूलमाला, लावा, अवीर सहित सैयौँ छिमेकी आफन्त हितैषीहरुको लाम लगाएर गुठीको लगत राख्ने भैरव आकृतियुक्त तामाको भाँडो समेत लिएर श्मशान पु¥याइन्छन् । हाल परम्परा लोप गराएर बाजा बजाउनेहरु आफ्नो कार्य नगरी खेत गुठी रैतानी गरी काम नगरी माम खाएर बसेका छन् । साँखुमा मुर्दा लैजाने सी ढोकाको परम्परागत व्यवस्था गरेकोले आजसम्मन उक्त ढोकैबाट मात्र मृतक लास बाहिर लैजाने परम्परा चलिरहेको पाईन्छ । त्यसबखत नायखिं बाजालाई मुर्दाघरबाट बाहिर निकालेदेखिन् टोलको दोबाटो, गणेशस्थान, भैरव स्थान, सी ढोका, मसानघाट परिसर आदि ठाउँ ठाउँमा पुगेको संकेत स्वरुप बारह तालमा बाजा बजाउँदै परिवर्तन गर्दै काहाँ बाजाको आवाज पनि परिवर्तन गरी ताल सुर मिलाई बजाउने र फुक्ने चलन थियो । लासलाई दागवत्ती नगरुञ्जेलसम्म नायखिंबाजा रोक्न नहुने परम्परा छन् भने दागवत्ती दिने बेलामा अन्तमा काहाँ बजाएपछि बाजावालहरुलाई लाग्दो दस्तुर दिएर फर्काउँछन् । सी बाजाको नामले चिनिने उक्त बाजा घर फर्काउँदा पुनः सी ढोका भएर फर्काउन नहुने परम्पराले उनीहरु फर्कने अलग बाटो र सहायक ढोकाहरु समेतको व्यवस्था गरेको पाईन्छ । साँखु मसानघाटमा वर्षको दुईपटक कात्यगुठी पूजा र सिकाको गुठी पूजा भोज गर्नुपर्ने परम्परा रही आएको पाईन्छ । मुर्दा लैजान्दा त्यहाँ अवस्थित अदृश्य प्राणीहरु भूत, पे्रत, पिशाच, निशाचर, जालन्धर, वीर, मसान भैरव गणका परिवार सहितलाई सम्पूर्ण कुराहरु ठीक पार्नुस् तपाइँहरुको भोग भाग ल्याईदिएको छु । सबैको सुख शान्तिको लागि भोग गर । जीवित मानव प्राणी र उनीहरुका वस्तुभाउलाई दुःख नदेऊ भन्न आशयले नायखिं बाजा र काहाँ बाजा बजाउँदछन् भन्ने जनश्रुती पाईन्छ । नेवारी भाषामा काहाँ बाजाको स्वरलाई नायखिं बाजासँग यसरी गीत गाउने प्रचलन आजसम्म पनि चलन रहेको छ । तू उउउ भाएँ, पातुँ छ्याँय् ! तू उउउ भाएँ, पातुँ छ्याँय् ! तू उउउ भाएँ, पातुँ छ्याँय् ! कुइँ त्वाकः ज्वरेयाः सीम्ह हल भाजंगा ...... आदि । सर्वप्रथम साँखुको मसानमा कुटीलमती नामकी महिलाको लाशलाई उसकै छोरीले दागबत्ती दिएर दाहसँस्कार सुरुवात गरिएको थियो । आजसम्म त्यस स्थानमा आदिवासी साँखुका बासिन्दाहरुको मृतकको लास दाहसँस्कार गर्दै आईरहेको छ । त्यस मसानको नाम पापमुक्ति श्मशान भनि मणिशैल महावदानमा प्रष्टसँग उल्लेख गरिएको छ । श्रीश्रीश्री उग्रतारा बज्रयोगिनी देवीको न्यास पूजाको कुनै एक दिन वा चार दिन बाहेक अन्य जुनसुकै समयमा पनि आदिवासी साँखुका बासिन्दाहरुको मृतक शरीर दाहसँस्कार गर्नको लागि तान्त्रिक विधीपूर्वक अनुष्ठानगरि उक्त स्थानमा कहिल्यै बिसर्जन गर्न नहुने यज्ञारम्भ गरिएको यज्ञशाला बनाईएको हो । पञ्चतत्वबाट बनेको भौीतक शरीरबाट आत्मा परमात्मामा मिलन भएपछि बाँकी रहेको निर्जीव लाशलाई पञ्चतत्वमै मिलाउने आध्यात्मिक क्रिया गर्नु नै दाहसँस्कार गर्नु हो । त्यस कार्यलाई अन्त्यष्टी कार्य गर्ने भनि सम्बोधन गर्दै आएको छ । बज्रयोगिनी गाविसमा अवस्थित यस मसानमा मसान भैरवसहित रुद्रायणी अष्टमातृका पीठ स्थापना गरिएको छ । यस स्थानमा परापूर्वकालमा योगनदी, बन्दमती नदी र मनमती नदीहरुको संगम रहेको थियो । यो स्थान तारातीर्थ नजिक पर्दछ । लफ्सेफेदी जाने मूलबाटोको पूर्वपट्टी करिब बीस पच्चीस रोपनी जग्गामा रहेको श्मशानको बीचमा रहेको छ । चारैतिर अरु आठ वटा मसान सहित नौ वटा मसान रहेको स्थान हो । त्यस स्थानमा यौटा पाटी छ भने उक्त पाटी पहिले पौवाको रुपमा थियो भन्ने जनश्रुती पाईन्छ । यस मसानमा रहेको चारैतिर भाजंगाल, चुपींगाल, ट्वाकगाल चुलेसीगाल आदि नामको स्थान रहेका छन् । कुनै पनि आदिवासी साँखुबासीको मृत्यु भएपछि त्यस क्षेत्रमा रहेका अज्ञात, अदृश्य प्राणीहरुले त्यस मृतक लासको दाहसंस्कार पछि पञ्चतत्वमा मिलाउने कार्य गर्दछन् भन्ने जनविश्वास रही आएको पाइन्छ । कहिलेकाहीँ मसान क्षेत्रमा स्वस्फूर्तरुपले आगो बलेको देख्न पनि सकिन्छ । त्यसको कारण हजारौँ लाखौँ लास भष्म भएको ठाउँमा विभिन्न अवयवहरुको विकिरण उत्पन्न भई स्मशान क्षेत्र आफसेआफ आगो बलेझैँ देखिन्छन् भनि वैज्ञानिकहरु व्याख्या पनि गर्दछन् । तर आदिवासी साँखुका मानिसहरुको जनजिब्रोमा मरेको लाशको पञ्चतत्वमा लीन गराउने कार्य पुनर्वर्गीकरण गर्ने काम स्मशानबासी अदृश्य प्राणीहरुबाट गरिएकोले आगो बलेको हो भनि बिश्वास गर्दछन् । त्यस्तै पञ्चक दिनमा मृत्यु हुनेहरुको लास पोलेपनि भष्म नहुने क्रियालाई पुनर्भष्म गर्ने गरेको हो भन्ने जनश्रुती पन सुन्नमा आउँदछन् । लास पोलिसकेको खरानी भष्मलाई पवित्र त्रिवेणीको जलले मुछेर मानवाकृति बनाई जलअञ्जली दिलाएर उक्त खरानीलाई नदीमा सेलाउने कार्य नगरेमा पनि मसान बलेको देखिन्छन् भन्ने सुन्नमा आउँछ । यस विषयमा साँखुको मसान भैरवको कृपा भन्ने लोककथा यहाँ प्रस्तुत गरिन्छ । परापूर्वकालमा कुनै व्यक्तिको रातमा मृत्यु भएपछि गुठीयारहरुले पापमुक्ती मसान साँखुमा दाहसंस्कारको लागि लगेछ । राती दाह गर्दा गुठीयारहरु पनि कुरुवा बस्नुपर्ने भएकाले पाटीको तल्लो तल्लामा बस्दै सबजना मृतकको जीवनकालका असल खराब कुराहरुको गन्थन गर्दै बसेका रहेछन् । त्यसमध्ये एकजना गुठीयारलाई असाध्यै निन्द्रा लागेकोले पाटीको माथिल्लो तल्लामा सुटुक्क गई सुतेछन् । दाहसँस्कार कार्य सकेपछि अँध्यारोमा गुठीयारहरु सबैजना छन् भनि बिश्वास गर्दै घरतिर फर्केछन् । पार्टीको माथिल्लो तल्लामा सुतेका गुठीयार एकजना छुटेछन् । केही समयपछि स्मशानबासी अदृश्य प्राणीहरु सदृश्यरुपमा प्रकट भएर अघि जलाएको लासलाई जस्ताको तस्तै हाडमासुको लासमै परिणत गरि सबैजना मिलेर काटकूट पारी आ–आफ्नो भागवण्डा गर्दै रहेको बेलामा सबैले आ–आफ्नो हाडमासुको भाग लिईसकेपछि एक भाग बढी देखिएपछि मसान भैरवले आफ्ना गणहरुलाई कसैको भाग छुटेछकी राम्ररी हेर्नु भनि हेर्न लगाउँदा पाटीमाथि सुतेको गुठीयार एकजनालाई भेट्टाएर बिउँझन लगाई लौ लैजा तेरो भाग भनि पटुकोमा पोको पारी हाडमासु एक भाग दिएर मसान भैरबले आशिर्वाद दिएर पठाएछन् । अद्र्धनिद्रामा रहेको गुठीयारलाई कुनै डरभरको ख्याल नगरी घर फर्केछन् । घरमा श्रीमती ढिलो गरी आएको श्रीमान्को बाटो कुरी रहेका रहेछन् । आफ्नो श्रीमान् आएको चाल पाएापछि ढोका खोली घर भित्र्याए । पटुकोमा पोको देखेपछि केहो भनि सोध्दा मसानमा भएको देखेको बेलिबिस्तार लगाएर पटुको फुकालेर देखाउँदा सबै सुनको डल्लो भएको देखेर खुसी भई मसानतिर फर्केर एकजोडी बातेको बत्ती चढाएर “धन्य परमेश्वर मसान भैरवकी जय” भनि दुबै दम्पत्ती सुखी भई बसे । उनीहरुको वैभब र भाग्य देखेर छिमेकीले कुराकानीको सिलसिलामा मसान भैरवको कृपाले धनी भएको थाहापाई आफ्नो श्रीमानलाई पनि सबै कुरा भनेछन् । एकदिन आफ्नो गुठीयार सदस्य मृत्यु भएको राति त्यो लोभी गुठीयार जानाजानी अरुले थाहा नपाउने गरी पाटीको माथिल्लो तलामा लुकेर बसेछन् । सदाजस्तै दाहसँस्कार कार्य सकेर सबै गुठीयारहरु फर्केपछि मसान भैरवका गणहरुले हाडमासु काटेर भाग लगाई सकेर आ–आफ्नो भाग लिएपछि मसान भैरवलाई भाग पुगेनछ । के कसरी यस्तो भयो भनि खोजतलास गर्न लगाउँदा माथिल्लो तलामा बसेको त्यो लोभी मानिसलाई भेट्टाएर एकछिनमै सबै मिलेर काटकुट पारी भागवण्डा गरी खुसियाली मनाएछन् । उक्त अवसरमा उनीहरुले विभिन्न बाजागाजा बजाई आगो सल्काई हर्ष बढाई गरेका थिए । बिहान सबेरै उठेर स्नान गर्न गएका साँखुबासीले त्यसबेलामा स्मशान जलेर ठूलो महोत्सवको आवाज पनि सुनेका थिए भन्ने भनाई पाइन्छ । शूभमंगल भूयात् सर्वदा ।। (प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments